उपचारका लागि दिल्ली पुगेका क्यान्सर पीडित नेपाली अलपत्र
क्यान्सरको उपचारका लागि भारतको नयाँ दिल्ली गएका बाजुराका एक बिरामी अलपत्र परेका छन् । ढाडमा क्यान्सर भएर उपचार गराउन दिल्ली पुगेका बिरामी र उनका बुबालाई बन्दाबन्दीका कारण समस्या परेको हो ।
बाजुराको बडिमालिका नगरपालिका २ का ३६ वर्षीय चक्र केसीको ढाडमा क्यान्सर भएपछि उपचारका लागि गत ८ मंसिरमा भारत गएका थिए । भारतको राजिवगान्धी अस्पतालमा भर्ना भएर उपचार गराइ रहेका उनीहरूलाई ११ अप्रिलमा कोरोनाको संक्रमण देखिएको जानकारी गराएको थियो । त्यसपछि अस्पतालले उनको क्यान्सरको उपचार रोकेर कोरोना विशेष अस्पताल रिफर गरेको थियो ।
बिरामीका बाबु छोरालाई नै कोरोनाभाइरसको संक्रमण देखिएको भन्दै दिल्लीकै कोरोना विशेष अस्पतालमा रिफर गरेपछि उनीहरूले क्यान्सरको उपचारलाई रोकेर कोरोनाको उपचार गराएका थिए ।
कोरोना विशेष अस्पतालमा २२ दिनको उपचार सकाएर डिस्चार्ज भएका उनीहरू बन्दाबन्दीका कारण क्यान्सर अस्पतालसम्म पुग्न सकेका छैनन् ।
बिरामीका बुबा धनबहादुर केसीले आफू अहिले कोरोना विशेष अस्पताल बाहिरको सिमेन्टीको भुंइमा नै सुतिरहेको जानकारी गराए । धनबहादुर खत्री ले छोरालाई २२ दिनदेखि औषधि खान नपाएर र चिसोका कारण समस्या झननाजुक बन्दै गइरहेको जानकारी हिमाललाई गराए ।
"यो अस्पतालमा धेरै बस्न मिल्दैन भनेर डिस्चार्ज गरिदियो, बाहिर गाडी चलेका छैनन्। छोरो चिसोले सुन्निएको छ । क्यान्सरको औषधि नखाएको एक महिना हुन लागि सक्यो," बिरामीका बुबा धनबहादुरले भने ।
कोरोना अस्पतालमा नै राखिदेउ भन्दा पनि महामारीको वेलामा नमिलेको र आफू अर्को अस्पताल जाने विकल्प नहुँदा उपचार गर्न ल्याएको छोरो बाँच्दैन कि भन्ने चिन्ता धनबहादुरलाई लागेको छ ।
"उपचार गर्न भनेर आएको, झन ठूलो समस्यामा परे । परदेशको ठाउँमा के गर्ने हो, केही भेउ पाउन सकिन," उमेरले ६० कटेका धनबहादुरले गुनासो गरे।
प्रतिक्रियाविहिन दूतावास
यस विषयमा दिल्लीमा रहेको भारतका लागि नेपाली राजदूतावासलाई जानकारी गराउन खोज्दा सम्पर्क नै हुन सकेको छैन ।
दूतावासले कोरोनाका कारण भारतमा रहेका र समस्यामा परेका नेपालीले आपत परेको खण्डमा फोन गर्नु भनेर सार्वजनिक गरेको तीनवटा मध्ये एउटा नम्बर निरन्तर ब्यस्त मात्रै देखाउँछ भने बाँकी दुईवटा एउटामा सम्पर्क नै नहुने र अर्को नउठ्ने गुनासो धनबहादुरको छ ।
धनबहादुरले कोरोना विशेष अस्पतालबाट क्यान्सर अस्पतालसम्म पुग्ने र त्यहाँ पुन: भर्ना हुने व्यवस्था मात्रै गरिदिए पनि आफूलाई धेरै राहत हुने बताएका छन् ।
दूतावासमा केही गरि सम्पर्क नभएपछि सामाजिक सञ्जाल ट्विटरमार्फत राजदूत निलाम्बर आचार्यलाई जानकारी गराइएको थियो । बिरामीका आफन्त टंक जोशीले काठमाडौंबाट ट्विटरमा बिरामीको तस्वीर र सम्पर्क नम्बर राखेर सहयोग मागेका थिए ।
ट्विटरमा उनलाई मेन्सन गरेर सहयोग मागेको तीन दिनपछि राजदूत आचार्यले 'दूतावासको सम्पर्क भइसकेको' भनेर प्रतिक्रिया जनाएका थिए । तर शुक्रवार मध्ये रातीसम्म पनि बिरामीलाई कसैले सम्पर्क गरेको छैन ।
महामारीको संकटको वेलामा शुक्रबार मध्ये राती धनबहादुर सोध्दै थिए, "छोरो बाच्दैन जस्तो भइसक्यो, कहाँ के गरुं?"