‘माथिबाट पारी रोक्नु भन्छन्, पारीबाट नेपाल लैजाउ भन्छन्’ : दशगजामा नेपालीको विचल्ली
भारतीय पक्षले सीमा क्षेत्रमा आएका नेपालीको लागि क्वारेन्टाइन व्यवस्थापन गर्न नसक्ने भन्दै नेपाल लैजान भनेपछि नेपालीहरूको विचल्ली भएको छ ।
रोजगारीका लागि भारत गएका नेपालीहरू महामारीका कारण अप्ठेरो परेर लामो दूरी तय गरेर फर्किन थालेपछि सीमानामा विचल्ली भएको छ । भारतीय पक्षले सीमा क्षेत्रमा आएका नेपालीको लागि क्वारेन्टाइन व्यवस्थापन गर्न नसक्ने भन्दै नेपाल लैजान भनेपछि उनीहरूको विचल्ली भएको हो ।
भारतीय सुरक्षाकर्मीको सहयोगमा नेपालीहरू नेपाल भारत सीमा क्षेत्र दशगजामा आएका छन् । तर नेपाली पक्षलाई उनीहरुको व्यवस्थापनमा समस्या भएको छ ।
रुपन्देही र कपिलवस्तुको दशगजा क्षेत्रमा करिब दुई हजार नेपाली आएर रोकिएका छन् । उनीहरू पछिल्लो ४ दिनमा उक्त क्षेत्रमा आइ पुगेका हुन् । भारतले रेल सञ्चालन गरेपछि उनीहरू सीमासम्म आइपुगेको र त्यसका लागि भारतीय सुरक्षाकर्मीले सहयोग गरेको मधेश मानव अधिकार गृहका अध्यक्ष रवि ठाकुरले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार ८५० जना नेपाली सीमानामा आएर बसेका छन् ।
त्यसैगरी रुपन्देही तर्फको सीमा नाका सुनौलीमा पछिल्लो ४ दिनमा करिब १ हजार मानिस आएका छन् । उनीहरुलाई अहिलेसम्म सुनौली र नौतनवाका विद्यालय तथा सामुदायिक भवनमा राखिएको छ । मानिसको संख्या बढ्दै गएपछि भारतीय पक्षले थप मानिसहरुलाई राख्न नसक्ने जानकारी गराएका छन् ।
कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले उनीहरूलाई भारतका क्वारेन्टाइनमा राख्नका लागि प्रयास भइरहेको बताए ।
“उनीहरूलाई भारतमा नै क्वारेन्टाइनमा राख्ने प्रयास भइरहेको छ,” प्रजिअ पौडेलले भने ।
“अब हामीले राख्न सक्दैनौं, तिमिहरुका मान्छेलाई स्वास्थ्य जाँच गरेर लैजाउ भनेर पारीबाट थ्रेट गरिसक्यो,” आफ्नो नाम उल्लेख गर्न नचाहने एक सुरक्षा अधिकारीले भने “लामो समयसम्म खान बसाल्न सक्ने स्थिती छैन भनेका छन्, व्यवस्थापनको समस्या थपिएको छ ।”
नेपालका अधिकारीहरूले भारतका क्वारेन्टाइनमा राख्न चाहेर पनि नसक्ने स्थिती बन्दै गएको छ ।
२३ वैशाखमा भारतका विभिन्न ठाउँबाट ५५ जना नेपाली कपिलवस्तुको खुनुवा सीमामा आएका थिए । सीमानामा आएर अलपत्र परेका उनीहरूलाई यशोदा गाउँपालिकाले दशगजा क्षेत्रमा पाल टाँगेर एक दिन राख्यो । तर, जिल्ला प्रशासन कार्यालयले दशगजामा पाल टाँगेर राख्न नदिएपछि भारतको सिद्धार्थनगर जिल्लाको डीएमसंगको समन्वयमा उनीहरूलाई सीमा क्षेत्रदेखि पाँच किमि भारततर्फको रमुवामा क्वारेन्टाइनमा पठाइएकोमा स्थानीहरुले विरोध गरेपछि पुनः दशगजा नै फर्काइए ।
“माथिको आदेश पारी रोक्नु भन्ने छ, पारीबाट राख्न सकिंदैन भन्छन्, कसरी व्यवस्थापन गर्ने समस्या भयो,” एक अर्का सुरक्षा अधिकारी भन्छन् ।
दिनहुँ भारतबाट नेपालतर्फ आउने नागरिकको संख्या थपिएपछि स्थानीयमा अहिले संक्रमणको त्रास बढिरहेको छ ।
कपिलवस्तुको मायाँदेवी गाउँपालिकामा भेटिएका दुई जना संक्रमित ६ दिनअघि भारतको मुम्वईबाट नेपाल आएका थिए । सीमाबाट लुकेर नेपाल आएका उनीहरूलाई गाउँलेले क्वारेन्टाइनमा राखेका थिए ।
अहिलेपनि रातको समयमा लुकिछिपि नेपाल प्रवेश गर्नेको संख्या उल्लेख्य रहेको मधेश मानव अधिकार गृहका अध्यक्ष रवि ठाकुरले जानकारी दिए ।
उनका भनाईमा पहिला नेपालबाट भारततर्फ मानिसहरूको प्रवेशलाई रोक्नका लागि भारतीय सीमा सुरक्षाबलले गस्ती गरेको भएपनि अहिले त्यो क्रम रोकिएको छ । उनीहरू आफ्नो सम्बन्धित पोष्टमा बसेका छन् भने नेपाल आउन चाहनेलाई पठाइदिएका छन् ।
ठाकुरका भनाईमा केही मानिसहरू लुकिछिपि नेपाल आएकाले उनीहरूबाट संक्रमण हुने त्रास स्थानीयमा छ ।