सेना दिवसः राष्ट्रपतिद्धारा सैन्य प्रदर्शन अवलोकन, प्रदर्शनका क्रममा एक पाराजम्पर घाइते
राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएकी छन् ।
उक्त अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन् । राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन् ।
नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिकाको लोकार्पणकासाथै ‘फ्री फल जम्प’मा प्रथम हुने सेनानी प्रकाश खड्का र दोस्रो हुने सेनानी धीरन अधिकारीलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिन् ।
फ्री फल जम्पमा सहभागी हवल्दार पूर्णबहादुर भण्डारी भने पारासुट नखुलेका कारण सीधै भुइँमा झरेर घाइते भएका थिए । दायाँ खुट्टामा गम्भीर चोट लागेका उनको वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ । समारोहमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७५’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो ।
समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँसमेत गरेको थियो । बढाइँ कवाजअन्तर्गत लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस–२०७५ आकृति प्रस्तुत गरिएको थियो । त्यस्तै सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो।
सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरिएको थियो । त्यसअन्तर्गत पिटी, तेक्वान्दो, सुट टू किल, मुकदल, रौद्र ताण्डव, खुकुरी ड्रिल प्रस्तुत भयो । नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत गरिएको थियो ।
यस अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरिएको थियो । सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको कार्यक्रममा सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।
विशेष फौज वाहिनीबाट आतङ्ककारी आक्रमण गर्नेलाई नियन्त्रण गरिएको सैन्य कौशलको नमूना प्रस्तुत गरियो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत उपस्थित थिए ।
शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो ।
यसअघि समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना र समाजका विभिन्न क्षेत्रबाट योगदान पुर्याएका व्यक्तित्वलाई पुरस्कार र प्रशंसा पदक प्रदान गरेका थिए । विभिन्न गण र निशान प्राप्त गर्ने गणका अधिकृत तथा अन्य सकल दर्जालाई दज्र्यानी चिह्न प्रदान गरिएको थियो ।