भारतमा दैनिक औसत ३०७७ जना कोरोनाबाट संक्रमित हुँदै, ५६ हजारलाई संक्रमण
भारतमा कोरोनाभाइरसका नयाँ संक्रमित भेटिने दर बढेको छ। त्यहाँ दैनिक औसत तीन हजारभन्दा माथि कोरोनाभाइरसका संक्रमित भेटिन थालेका छन्। पछिल्लो साता हरेक दिन औसतमा तीन हजार ७७ नयाँ संक्रमित फेला परेका छन्।
त्यहाँ बिहीबार ३३ सय ६४ नयाँ संक्रमित भेटिएका छन्। त्यस्तै बुधबार ३५ सय ८७ जनालाई संक्रमण भएको भेटिएको थियो। मंगलबार यो संख्या २९ सय ६३ थियो। तर, सोमबार भने अहिलेसम्मकै सबैभन्दा बढी ३९ सय ३२ संक्रमित फेला परेका थिए।
भारतमा अहिलेसम्म ५६ हजार ३५१ संक्रमित भेटिएका छन्। तीमध्ये १६ हजार ७७६ जना निको भएका छन्। एक हजार ८८९ जनाको मृत्यु भएको छ।
भारतमा सबैभन्दा बढी महाराष्ट्र कोरोनाभाइरस संक्रमणबाट प्रभावित छ। त्यस्तै गुजरात, राजस्थान, दिल्ली, तमिलनाडु, उत्तरप्रदेश लगायत राज्य पनि बढी प्रभावित छन्।