फ्रान्सले बन्दाबन्दी खुकुलो बनाउने, विद्यालयसमेत खुलाउने निर्णय
अझै ९४ हजार उपचाररत् कोरोनाभाइरस संक्रमित रहेको फ्रान्सले आगामी सोमबारबाट बन्दाबन्दी खुकुलो बनाउने भएको छ। राजधानी पेरिस र उत्तर पूर्वी भागबाहेक अन्य भाग खुलाउँदै जाने भएको हो।
प्रधानमन्त्री एडुआर्ड फिलिपेले बन्दाबन्दी खुकुलो बनाइएने केही भागमा पसलका साथै विद्यालय पनि खुल्न अनुमति दिने घोषणा गरेका छन्। फ्रान्स युरोपमा कोरोनाभाइरस संक्रमितको सबैभन्दा उच्च मृत्युदर भएको देशमा पर्छ।
फ्रान्समा अहिलेसम्म झन्डै २६ हजारको मृत्यु भइसकेको छ। कूल संक्रमित एक लाख ७५ हजारमध्ये झन्डै ५६ हजार निको भएका छन्।
कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि फ्रान्सले १७ मार्चदेखि बन्दाबन्दी घोषणा गरेको थियो। देशव्यापी बन्दाबन्दीलाई सिमित ठाउँमा मात्र कायम गर्न फ्रान्सले रातो र हरियो रङको नक्सा सार्वजनिक गरेको छ।
प्रधानमन्त्री फिलिपेले देशलाई ‘देशलाई दुई भागमा काटिएको’ बताएका छन्। अब हरियो रङ भएको भाग खुलाइने जानकारी दिँदै प्रधामन्त्री फिलिपेले यो देशबासीका लागि शुभसमाचार भएको बताए।