अराजक प्रधानमन्त्री, उत्ताउलो सचिवालय
बालुवाटार, खुमलटार र कोटेश्वरतिर हुने कोठे बैठकमा यति बेला देश कान थापिरहेको छ । सिंहदरबार सुनसान छ । बालुवाटार तातेको छ । देशका लागि नभई हल्लिएको कुर्सीको पीरले बालुवाटार तातेको हो । आफैंले बेस्सरी खोतलेको जगमा प्रधानमन्त्री अलिकति सिमेन्ट खन्याउन खोजिरहनु भएको छ।
कोरोनाभाइरस संक्रमण रोक्न देश बन्दाबन्दीमा गएको हो वा राजनीतिक गर्मी बढेर नागरिकलाई नजरबन्दमा राखिएको हो, अलमल पर्न थालेको छु । दिनको एकपटक स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कोरोनाभाइरस सम्बन्धी सूचना सुनाउनेबाहेक सरकारले अन्य कुनै प्रभावकारी काम गरेको अनुभूति भएको छैन।
प्रधानमन्त्री यतिवेला जनताको सेवक हैन, मालिक देखिनुभएको छ । पदको गरिमा पटक्कै जोगाउन सक्नुभएको छैन । आलोचना सुन्नै नसक्ने हुनुभएको छ । विवादास्पद अध्यादेश, ओम्नीदेखि यतीसम्मका भ्रटाचारकाण्ड, ह्याकरदेखि सांसद अपहरणकारीलाई संरक्षण गरेको आरोपमा उहाँको असहिष्णु बोली प्रष्टै छ।
प्रधानमन्त्रीको स्वास्थ्य ठीक भइसकेको छैन । स्वास्थ्यमात्र हैन, उहाँको काम गर्ने शैली पनि ठीक छैन । उहाँ संस्थागत प्रणालीलाई जहिल्यै चुनौती दिनुहुन्छ । निजी सचिवालयका सदस्यको छुद्र वचन सामाजिक सञ्जालमा छरपस्ट छन्।
उहाँसँग बलियो इच्छाशक्ति छ । तर, इच्छाशक्ति नकारात्मक काममा खर्च भएको छ।
स्वास्थ्य कमजोर हुँदाहुँदै पनि सकिनसकी पदमा बस्ने चलन नेपालमा नयाँ होइन। देश अस्पतालको बेडमै सुतेर, अक्सिजनको सिलिन्डर झुन्ड्याएरै चलाइदिन्छु भन्ने भ्रम अझै हटेको छैन।
उहाँकै कारण प्रधानमन्त्री पदको मात्र हैन, राष्ट्रपति पदको गरिमा पनि धमिलो भएको छ। व्यक्ति आउँछ, जान्छ । तर, संस्था व्यक्तिका कारण सक्किनु, मक्किनु हुँदैन।
प्रधानमन्त्री अहिले आफ्नो कार्यकालको एकदमै अप्ठेरो मोडमा हुनुहुन्छ । आफ्ना सहयात्रीको स्वास्थ्यलाभको शुभकामना लिन पनि इन्कार गर्ने उहाँ यतिबेला तिनै सहयात्रीहरुसँग मिलौं, बाडौं, खाऔं भनिरहनुभएको छ।
सत्तालिप्सा भन्दा पर पुगेर सोचिदिने हो भने पदबाट कसैले निकाल्ने हैन, आफैंले छुट्टी लिने बेला हो यो । ‘मलाई त सन्चो पनि छैन, विवादै विवादमा मुछिएँ, अहिलेलाई बिदा लिन्छु’ भन्ने बेला हो।
हुन त ‘वेटिङ लिस्ट’ का उम्मेदवार पनि आशा र भरोसालाग्दा पटक्कै छैनन् । प्रधानमन्त्री भइसकेका र राम्रो काम गर्न नसकेका पात्र नै दोहोरिने संभावना धेरै छ । प्रमुख प्रतिपक्ष दल त ‘प्रतिपक्ष’ भन्न लायक नै छैन । आफ्नै पीरले थला परेर चाउरिएर बसेको छ ।
कोरोनाको महामारी चलिरहेको बेला प्रधानमन्त्रीले कुशल नेतृत्व गर्न सक्नुभएको भए सरकार फेर्ने बहस चल्ने थिएन । उहाँको विगतको हिसाब कोरोनाको आँधी थामिएपछि हुन्थ्यो होला । तर, उहाँ आफैले सरकारलाई अस्थिरतातिर धकेल्नु भयो ।
बन्दाबन्दीलाई ‘कर्फ्यू’ सम्झेर उहाँले अक्षम्य कामहरु गर्नुभयो । नागरिकले शरणार्थीको नियति भोग्दै बालबच्चा र कुम्लोकुटुरो बोकेर ७००—८०० किलोमिटर पैदल यात्रा गरिरहँदा प्रधानमन्त्रीका विश्वासपात्रहरु सांसद ‘उठाएर’ शहर छिरे।
यतिवेला राजनीतिक अस्थिरता निम्त्याएको र सत्तालिप्सा देखाएको अरुले नभई प्रधानमन्त्रीले नै हो । यदि सत्ता परिवर्तन भइहाल्यो भने नयाँ प्रधानमन्त्रीले ओली कार्यकाललाई सम्झेर उहाँभन्दा धेरै सुध्रिनुपर्छ ।
राजसी ठाँट, नागरिक स्वतन्त्रतामाथि बन्देज प्रयास, असहिष्णु टीम बनाएर भजनमा रमाउने कामभन्दा माथि उठ्न सके भाइरस संक्रमणको वेला सत्तालिप्सा देखाएको आरोप सत्ता फेर्नेहरुमाथि लाग्ने छैन।
कोरोना विरुद्धको लडाइँमा समय छुट्याउने फुर्सद सरकारलाई छैन । ऊ आफैंले निम्त्याएको राजनीतिक संक्रमणसँग लडाइँ लडिरहेछ । तर, समयले बिदाइको हात हल्लाइसकेको हो कि जस्तो महसुस हुन्छ। सहज बहिर्गमन नै प्रधानमन्त्रीका लागि सुरक्षित अवतरणको उपाय हो।
प्रधानमन्त्री ओलीको यो कार्यकाल ‘जय होस्’ भन्न लायक रहेन । पानीजहाज, रेल, भ्यू टावर र एअरपोर्टका ‘बुटिक’ गफमै अल्झियो । यती र ओम्नी प्रकरणले प्रधानमन्त्री ओलीको साख नराम्ररी गिरायो।
कोरोनाभाइरससँग मात्र हैन, जनता सत्तासँग पनि डराउनुपर्ने भएको छ । डराइडराई लेख्नुपर्ने, बोल्नुपर्ने भएको छ। आलोचनात्मक चेतलाई भुत्ते बनाउन राज्य प्रयासरत छ । लेख्ने, बोल्ने, गाउने, कोर्नेहरुलाई निरंकुशतन्त्रमा जस्तै डर छ।
पहिलो कार्यकालमा उहाँले यस्ता विवादास्पद कामहरु गर्नुभएको थिएन । त्यतिबेला सत्ता समीकरणको अंकगणित कमजोर भएकाले पनि होला, प्रधानमन्त्री सन्तुलित र विनम्र देखिनुहुन्थ्यो ।
उहाँ डरको शक्ति हुनुहुन्नथ्यो, भरको शक्ति नै बन्नुभएको थियो । उहाँमा सत्ताको अहंकार हैन, जिम्मेवारीबोध देखिन्थ्यो । सहयोगी टीमको प्रस्तुति पनि यस्तो उत्ताउलो र अराजक थिएन । नाकाबन्दीमा देशवासीलाई आड र भरोसा पनि दिनुभएको हो । त्यसका लागि उहाँलाई धन्यवाद छ।