संघीय संसदको छैटौं बजेट अधिवेशनको सबै तयारी पूरा भएको छ । कोरोना भाइरस (कोभिड १९) कारण स्वास्थ्य सतर्कताका लागि विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गरेर बैठक सञ्चालन गर्ने गरि तयारी पूरा भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई सबै सदस्यहरूको बसाई व्यवस्थापन, सभाकक्ष, कुर्सी, टेबुल, माइक व्यवस्थापन, सरसफाई लगायतका सबै तयारी पूरा भएको जानकारी गराएको हो ।
बिहीबार दिउँसो सभामुख सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सभाहलको स्थलगत अवलोकन गरि तयारी बारे जानकारी लिएका थिए।
सभाहलमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार दुरी कायम गरी बस्ने व्यवस्था गरिएको छ । जसअनुसार हरेक दुई सीट खाली गरेर बस्ने गरि मिलाइएको छ ।
संयुक्त सदन बस्दा करिब १०० जना सदस्यहरु माथिल्लो हल (बाल्कोनी) मा बस्ने व्यबस्था मिलाईएको छ ।
प्रतिनिधिसभाको मात्रै बैठक हुँदा पनि ४० जना सांसद माथि बस्नुु पर्ने हुन्छ ।
यसअघि आज बिहान सिंहदरबारस्थित कार्यकक्षमा बसाई व्यवस्थापन लगाएतका विषयमा सभामुखले दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकहरूसंग छलफल गरेका थिए। छलफलमा सहभागीहरूले सबै सदस्यले कोरोनाको परिक्षण गराउनुपर्ने र परिक्षण रिपोर्टपछि मात्रै सभाहलमा प्रवेश दिनुपर्ने सुुझाव दिएका थिए ।
संसद बैठक अघि कोरोना भाइरस भए नभएको बारे पिसिआर विधिबाट आज संघीय संसद अन्तरगत ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । जसमा १७९ जना प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रिय सभाको सदस्य गरी २१२ जना सदस्य्हरुको स्वाब संकलन गरिएको छ ।
सबैको रिपोर्ट भोलि आईसक्ने संसद सचिवालय अन्तरगत स्वास्थ्य ईकाइका डा पुष्प रिजालले जानकारी दिए। आज विहान १० बजेदेखि दिउँसो २ बजेसम्म स्वाब संकलन गरिएको थियो ।
स्वाब संकलन गर्न बाँकी सांसदहरु संसद भवनमा भोलि बिहान अनिवार्य उपस्थित हुनुपर्नेछ भने बाँकी सुरक्षाकर्मी र कर्मचारीको परिक्षण पनि भोलि विहान ८ बजेदेखि १० बजेसम्म संसद भवनको ल्होत्से हलमा स्वाब संकलन गरिने संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
परीक्षण नगरे बैठक कक्षमा प्रवेश गर्न नपाइने भएको छ ।