आन्तरिक पर्यटक बढाउन 'विदा पर्यटन' लाई प्राथमिकता दिइने
सरकारले आन्तरिक पर्यटक बढाउन र कोरोना भाइरस (कोभिड—१९)को संकमणबाट थलिएको पर्यटन क्षेत्र बचाउँन विदा पर्यटनलाई प्राथमिकता दिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शुक्रबार पर्यटन मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना पछिको आन्तरिक पर्यटन जोगाउन र पर्यटकीय गतिविधि बढाउन सरकारले विदा पर्यटनको अवधारणालाई व्यापक बनाउने बताए ।
मन्त्री भट्टराईले भने ‘‘कोरोनाको महामारी कहिले अन्त्य हुन्छ र बाह्य पर्यटकको अवस्था के हुन्छ भनेर तत्काल केही भन्न नसकिने भएकोले आन्तरिक पर्यटनलाई प्राथमिकता दिन विदा पर्यटनलाई व्यापक बनाउन लागिएको हो ।’’
यस्तो विदा पर्यटन हाल पर्यटन मन्त्रालयमा मात्रै सिमित छ । मन्त्रालयका कर्मचारीले बर्षमा एक पटक प्रयोग गर्ने यो सुविधालाई अब सबै निकायसमम्म पुर्याइने छ । सरकारी, गैरसरकारी, शिक्षक तथा निजी क्षेत्रमा काम गर्ने सबै कर्मचारीलाई विदा पर्यटनमार्फत पर्यटन प्रवद्र्धनमा प्रोत्साहन गरिने जानकारी मन्त्री भट्टराइले दिए ।
मन्त्री भट्टराइका अनुसार यो विदा पर्यटनलाई व्यापक बनाउँदा यसबाट १५ देखि २० लाख आन्तरिक पर्यटक घुम्न निस्कन्छन । जसका कारण अहिलेको कोरोनाले शिथिल भएका होटल तथा पर्यटकीय गतव्यलाई सक्रिय बनाउन सहज हुने बुझाई उनको छ । सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत यो विदा पर्यटनलाई प्रभावकारी बनाउने गरी योजना अगाडि सारेको उल्लेख छ ।
यसका साथै सरकारले नेपाल फर अल सिजन फर टुरिष्टको अभियानलाई पनि अगाडि सार्ने भएको छ । यो अभियानबाट मौसम अनुसार फरक फरक गन्तव्यको प्रवद्र्धन गरिने र पर्यटकलाई सबै मौसममा नेपाल घुम्ने वातावरण सिर्जना गरिने पनि उल्लेख छ ।
पर्यटन मन्त्रालये ‘लगानीमा साझेदारी प्रतिफलमा हिस्सेदारी’को अवधारणा पनि अगाडि सारेको जानकारी मन्त्री भट्टराइले दिए । नेपालको पर्यटन पूर्वाधारमा लगानी गर्न बढाउन र निजी क्षेत्रको पनि साझेदारीका लागि सरकारले यस्तो अवधारणा अगाडि सारेको उल्लेख छ । पर्यटन मन्त्रालयले आगामी आवको बजेटमा सबै प्रदेशमा एकएक वटा प्रमुख पर्यटकीय गन्तव्य बनाउने, हिमाली र पहाडी क्षेत्रको पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउने तथा संस्कृति तथा पदामार्ग पर्यटनको लागि पनि नयाँ योजना अगाडि सार्ने भएको छ ।
कोरोनाका कारण नेपाल भ्रमण वर्ष २०२० स्थगित भएकोले अब नेपालको पर्यटनको रूप फेरिने छ । सरकारले यस अघि सन् २०१६ देखि २०२५ सम्मको लागि बनाएको पर्यटन गुरुयोजनाकै अवधारण अनुसार सन् २०२१ देखि २०३० सम्मको लागि पर्यटन दशक मनाउने भएको छ । पर्यटन दशकका हरेक वर्ष कुनै न कुनै कार्यक्रम तथा पर्यटकीय गतिविध गरेर नेपालको प्रवद्र्धन गर्ने जानकारी पनि मन्त्री भट्टराईले दिए । पर्यटनका लागि सन् २०२० सर्भाइबल, सन् २०२१ रिभाइबल र सन् २०२२ देखि नर्मल वर्षका रूपमा अगाडि बढ्ने पनि मन्त्री भट्टराईले बताए ।
लुम्बिनी विकास कोषलाई प्राधिकरण बनाइने
लुम्बिनी विकास कोषलाई प्राधिकरण बनाउने प्रस्ताव अगाडि सारिएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । बृहत्तर लुम्बिनीको अवधारणा अनुासार प्राधिकरण बनाएर बृहत्तर लुम्बिनीको विकास गर्न सार्वजनिक निजी साझेदारी (पीपीपी) को योजना अगाडि बढाउने योजना सरकारको छ । प्रभावकारी काम गर्न र संरचनालाई परिवर्तन गर्न आवश्यक भएकोले लुम्बिनी विकास प्राधिकरणको अवधारणा अगाडि बढेको मन्त्री भट्टराइको भनाइ छ ।
यस्तै नेपालका आन्तरिक वायुसेवालाई दुर्गम र पहाडी जिल्लामा अनिवार्य उडान गर्नैपर्ने नियम बनाउन लागिएको छ । हाल यो व्यवस्था बाध्यकारी नहुँदा दुर्गममा वायुसेवा जान नमान्ने र सुगम केन्द्रित वायुसेवा बढेको मन्त्री भट्टराईको भनाइ छ । उनले नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीको अवधारणामा लैजाने तयारी पनि पनि बताए । निगममा रणनीतिक साझेदार भित्र्याउने वा सार्वजनिक कम्पनीका रूपमा लैजाने विषयमा पनि आवश्यक तयारी भइरहेको बताए ।
श्रमिकलाई बेतलवी नराख्न आग्रह
मन्त्री भट्टराईले पर्यटन श्रमीकलाई कारोनाको बहानामा बेतलवी नराख्न र रोजगारीबाट मुक्त गराउने तथा पर्यटनका प्रतिष्ठान बन्द गर्ने कार्य नगर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । अहिले समग्र देशलाई नै अप्ठ्यारो परेको अवस्था भएकोले पर्यटन उद्योग जोगाउन पनि सबै निजी क्षेत्रले सहयोग गर्नुपर्ने उनको भनाइ छ । सरकाले निजी क्षेत्र जोगाउन आवश्यक सहयोग गर्ने र पर्यटकीय उद्योग बचाउन आवश्यक राहत दिने गरी तयारी गरिरहेको पनि मन्त्री भट्टराईको भनाइ छ ।