किरात समुदायको उँभौली पर्व शुरू, बन्दाबन्दीका कारण सामूहिक कार्यक्रम नहुने
प्रकृति पूजक किरात जातिको विशेष पर्व उँभौली बिहीबारदेखि शुरू भएको छ। यो पर्व हरेक वर्ष वैशाख पूर्णिमाको दिनदेखि १५ दिनसम्म मनाइन्छ। यस्तै, उधौली भने मंसीर पूर्णिमामा मनाइन्छ।
उँभौलीमा ढोल र झ्याम्टाका साथ साकेला नाच्दै मनाउने चलन छ। किरात समुदायले एकै ठाउँमा भेला भएर सुख–दुःखका कुरा साटासाट गर्ने, आपसमा चिनजान गर्ने, आ–आफ्नो संस्कृति झल्काउने पोशाक लगाएर आ–आफ्नो जाति विशेषको नाच नाच्ने गर्छन्।
यो वर्ष भने कोरोनाभाइरस महामारीको जोखिम र बन्दाबन्दीका कारण माङखिम (पूजाघर) तथा आ–आफ्नो घरमा सामान्य पूजा मात्र गरेर मनाइने भएको छ।
खासगरी कृषि कर्मसँग सम्बन्धित रहेको उँभौलीमा अन्नबाली राम्रो होस्, विपत्ति नपरोस्, सबैमा सुख र सुस्वास्थ्य कायम होस् भन्ने कामना गरेर प्रकृतिलाई खुशी पारिन्छ। उधौली भने अन्नबाली राम्रो भएको खुशीमा आउँदो साल खाद्यान्न अभाव नहोस् भन्ने कामनासहित मनाइन्छ।
तराईतिर गर्मी बढेर पशुपंक्षी, चराचुरुङ्गी आदि माथि लेकतिर बसाइँ सर्छ भन्ने विश्वासका साथ वैशाख पूर्णिमामा मनाइने पर्वलाई उँभौली भन्ने गरिएको हो।
किरात राईले उँभौली साकेला (साकेन्वा), लिम्बू समुदायले यक्वा तङ्नाम, याख्खाले चासुवा, सुनुवारले स्याँदर पिदारको रुपमा मनाउने गर्छन्। राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली (सिरलिङ्गे) लिएर विभिन्न शैलीका साकेला, साकेन्वा नाच्ने गर्छन्। यस्तै, लिम्बूहरू च्याब्रुङ बजाउँदै केलाङ, माङलाङ, कुस्रोक्पा लगायतका नाच नाच्छन्।
सुनुवारहरू भने ढोल बजाएर स्यादर नाच्छन् भने याख्खाहरू हात समाएर चावाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्छन्।
काठमाडौं उपत्यकासहित किरात राईको बसोबास रहेको पूर्र्वी पहाडी जिल्लाहरु भोजपुर, धरान, इटहरी, गाईघाट, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुका साथै विभिन्न देशमा रहेका समुदायले उँभौली धुमधामका साथ मनाउने गरेका छन्।
मुख्यमन्त्री राईको शुभकामना
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किरात समुदायको उँभौली पर्वको अवसरमा शुभकामना सन्देश दिएका छन्।
शुभकामना सन्देशमा मुख्यमन्त्री राईले उँभौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन्।
“यी चाडपर्वले नेपालका सबै जातजाति, एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवम् कोभिड-१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ।