गाउँ फर्कनेहरुबाट स्थानीय सशंकित, गाउँमा क्वारेन्टिनकाे अभाव
बन्दाबन्दीपछि काठमाडौं र अन्य ठाउँबाट धेरै मान्छे मुश्किलले आफ्नै गाउँ पुगे पनि क्वारेन्टिन अभाव र स्थानीयले गरेको संक्रमणको आशंकाका कारण तनावमा परेका छन् ।
ताप्लेजुङ सरोकार समाज र ताप्लेजुङ जिल्लाका स्थानीय तहले समस्यामा परेका आफ्ना नागरिक उद्धार गर्न थालेपछि विद्यार्थी राजीव माबोहाङ लिम्बू पनि ११ वैशाखमा गाउँ पुगे । तर, बाटोमा राम्रो व्यवहार नभएको उनी बताउँछन् । पसलमा खानेकुरा किन्न पनि नदिएको उनको भनाइ छ । उनी भन्छन्, “पसल खुलेका ठाउँमा गाडी रोके पनि सामान किन्न खोज्दा मान्छे मारेर भागेको अपराधी जस्तै व्यवहार भयो ।”
कतिपय स्थानमा भने नाम, थर, ठेगाना, उमेर र सम्पर्क नम्बर टिपेर छाडिएको थियो । चाउचाउ र पानी खाँदै गृहजिल्ला ताप्लेजुङ पुगेपछि उनीहरू थप पीडित भए ।
“संक्रमित भएर गाउँमा रोग फैलाउन आएको जसरी व्यवहार गरियो ।”
फक्ताङलुङ गाउँपालिकाले खाँबुस्थित फक्ताङलुङ प्राविमा बनाएको क्वारेन्टिनमा स्थानीयले राख्न दिएनन् । आफ्नै गाउँकाले समेत दुव्र्यवहार गरेको उनी बताउँछन् । उनी भन्छन्, “संक्रमित भएर गाउँमा रोग फैलाउन आएको जसरी व्यवहार गरियो ।”
उनीसहित चार पुरुष, दुई महिला र एक बालकलाई फक्ताङलुङ गाउँपालिकाले सुनदेवी माविमा राखेको थियो । सँगै गएका अरुहरूलाई सम्बन्धित वडाले राखेको थियो । केही भने पाटीमा बस्न बाध्य भए ।
तर, क्वारेन्टिनमा खाट र ओढ्ने ओछ्याउनेको समेत राम्रो प्रबन्ध थिएन । करीब एघार दिनपछि ¥यापिड डायोग्नोस्टिक टेस्ट (आरडीटी) जाँचमा नेगेटिभ देखिएपछि २१ गते उनीहरूलाई घर जान दिइएको बताए ।
फक्ताङलुङ गाउँपालिकाले समन्वय नगरी आफ्नो वडाका नागरिक ल्याउँदा समस्या भएको वडा नम्बर–४ का अध्यक्ष दत्तबहादुर माबोहाङ बताउँछन् । उनका अनुसार गाउँपालिकाले नागरिक ल्याउने निर्णय गरेको थिएन । छिटफुट हिंडेर आउनेका लागि गाउँपालिकाले नै फक्ताङलुङ प्राविमा क्वारेन्टिन बनाएको थियो । तर ताप्लेजुङ सेवा समाज र विभिन्न गाउँपालिकाले नागरिक उद्धार गरेपछि क्वारेन्टिन नबनाएका स्थानीय तह र वडालाई समस्या भएको उनी बताउँछन् ।
स्थानीयलाई पनि त्रास
ताप्लेजुङ सरोकार समाज र ताप्लेजुङ जिल्लाका स्थानीय तहले करीब ७०० जनालाई जिल्ला फर्काएको छ । तर, शहर र अन्य ठाउँबाट आएका कारण त्यहाँका स्थानीय पनि संक्रमणको त्रासमा छन्। यस्तै त्रासका कारण भोजपुरको टेम्के मैयूङ गाउँपालिकाका स्थानीयले बाहिरबाट आएकालाई सीमामा नै रोकिदिए ।
सांसद् जयकुमार राईका अनुसार सुनसरीका पनि करीब १२०० जना घर फर्केका छन् । तर, उनीहरूमध्ये कतिपय ‘होम क्वारेन्टिन’ मा नबसेको धरान उपमहानगरपालिकाले जनाएको छ । जसका कारण त्यहाँ त्रास फैलिएको छ ।
धनकुटा घर भएका पनि सांसद् र स्थानीय तहको समन्वयमा काठमाडौंबाट बाहिरिएका छन् । यीबाहेक पनि धेरै जिल्लाबाट गाडी नै पठाएर स्थानीय नागरिकलाई घर फर्र्काइएको छ । विभिन्न पहुँचको आधारमा सवारी साधन मार्फत, हिंडेर र सम्बन्धित प्रदेश तथा स्थानीय तहको समन्वयमा ठूलो संख्यामा नागरिक बाहिरिएका छन् । तर, बाहिरबाट ठूलो संख्यामा आएका नागरिक सबैलाई स्थानीय तह र वडाले क्वारेन्टिनमा राख्न सकेका छैनन् ।
क्वारेन्टिनमा नबसेपछि उद्धार स्थगित
क्वारेन्टिनमा बस्न तयार भएपछि सुनसरीको धरान उपमहानगरपालिकाले काठमाडौं लगायत ठाउँबाट केहीलाई उद्धार गरेर लग्यो । उनीहरूलाई घरैमा बस्न भनिएको थियो । तर, कतिपय व्यक्ति त्यसरी बसेको नपाइएपछि उद्धारको निर्णय स्थगित गरेको धरान उपमहानगरपालिकाले जनाएको छ ।
“केही समयअघि गाउँ आएकालाई होम क्वारेन्टिनमा बस्न भनिए पनि गाउँ घुम्न थालेपछि स्थानीयले विरोध गरे । नागरिकको अटेरीपनका कारण बाटैमा रोकेर क्वारेन्टिनमा राखी राहत पठाएका छौं ।”
नेपालका विभिन्न ठाउँ र भारतबाट आएका १३ जनालाई अहिले भोजपुरको रानीटारमा रोकेर राखिएको टेम्के मैयूङ गाउँपालिकाका अध्यक्ष धु्रव राई बताउँछन् । उनीहरूलाई विद्यालयमा क्वारेन्टिन बनाई राखिएको छ । उनी भन्छन्, “केही समयअघि गाउँ आएकालाई होम क्वारेन्टिनमा बस्न भनिए पनि गाउँ घुम्न थालेपछि स्थानीयले विरोध गरे । नागरिकको अटेरीपनका कारण बाटैमा रोकेर क्वारेन्टिनमा राखी राहत पठाएका छौं ।”
उनीहरू स्थानीय तहसँग समन्वय नगरी हिंडेर त्यहाँ पुगेका थिए । हूलमा हिंडेको देखेर त्यहाँका स्थानीयले रोकेर सोधखोज गर्दा टेम्के मैयूङ गाउँपालिकाका नागरिक पत्ता लागेपछि अध्यक्ष राईलाई खबर गरिएको थियो । गाउँपालिकाले २१ दिनपछि मात्र त्यहाँबाट लैजाने तयारी गरेको छ ।