कोरानाभाइरसले विश्वभर बदलिदियो मृत्युपछिको संस्कार
युरोपीयन देश बेल्जियममा अहिलेसम्म कोरोनाभाइरस संक्रमणबाट आठ हजारभन्दा बढीको मृत्यु भएको छ। त्यहाँ अधिकांश क्रिश्चियन समुदायको बसोबास छ। यसअघि कहिल्यै शव जलाउने गरिएको थिएन। विश्वभर फैलिएको कोरोनाभाइरसकै कारण त्यहाँको मृत्युसंस्कार बदलिएको छ।
बेल्जियममा कोरोनाभाइरस संक्रमितको शव आफन्तले देख्न त पाउँछन्, तर अन्तिम संस्कारमा सहभागी हुन सक्दैनन्। ती शव सरकारले तुरुन्तै जलाउँछ।
श्रीलंकामा मार्च २६ देखि अप्रिल ११ बीचमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुने ७ जनामा तीन जना मुस्लिम समुदायका थिए। श्रीलंका सरकारले सातै जनाको शव जलाउन आदेश दिएपछि त्यहाँ अल्पसंख्यकको अधिकार खोसिएको भन्दै विरोध भयो। तर, सरकार आफ्नो आदेशबाट पछि हटेन।
कोरोनाभाइरस संक्रमण बढेसँगै मृत्यु पनि बढ्न थालेपछि शव जलाउन आदेश दिने बेल्जियम र श्रीलंका पहिलो देश थिएनन्। यसअघि चीनको नेशनल हेल्थ कमिसनले २ फेब्रुअरीमा एक निर्देशन जारी गर्दै कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको व्यक्ति जुनसुकै धर्मको भए पनि शव जलाउन आदेश दियो। यो निर्देशनमा शवलाई जलाउन के के गर्नुपर्छ भन्ने निर्देशन थियो। त्यहाँ शव परिवारका सदस्यलाई नदिन पनि आदेश दिइएको थियो।
यो आदेशको चीनमा विरोध भयो। संक्रमित भएर मृत्यु भएका परिवार असन्तुष्ट भए। तर, विरोधका बावजुद सरकार निर्णयमा अडिग भयो। संक्रमण फैलिँदै जाँदा चीन सरकारको निर्णय उचित भएको पुष्टि भयो।
वुहानमा तीव्र गतिमा संक्रमण फैलन थालेपछि त्यहाँ संक्रमणबाट मृत्यु भएकाको शव तुरुन्त जलाउन थालिएको थियो। यहाँसम्मकि आफन्तबिना नै शवको अन्तिमसंस्कार गरिन्थ्यो। परिवारका सदस्य आफन्तको अस्थि लिन अस्पताल वा अन्तिमसंस्कार स्थल जानसमेत डराएका थिए।
खासगरी अब्राहमिक धर्म यहूदी, क्रिश्चियन र इस्लाममा शव गाड्ने चलन छ। हिन्दू, बौद्ध र सिख धर्ममा भने शव जलाउने चलन छ। तर, अब विश्वभर कोरोनाभाइरसबाट संक्रमण भएर मृत्यु भएका सबै धर्मावलम्बीको अन्तिम संस्कारमा शव जलाउने गरिएको छ।
कतिपय धर्मसंस्कारमा शवलाई नुहाइदिने, नयाँ कपडा लगाइदिने, शवलाई समातेर रुने जस्ता चलन छन्। अब यी सबै संस्कार पनि परिवर्तन भएका छन्। चीन लगायत केही देशमा त परिवारले शव दैख्नै पाउँदैनन्।
अहिले विश्वका २१० भन्दा बढी देश तथा स्वायत्त क्षेत्रमा कोरोनाभाइरसका संक्रमित छन्। सबै देशले संक्रमित व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिएर उपचार गरिरहेका छन्। त्यति मात्र नभइ मृत्यु भए शव पनि आफ्नै नियन्त्रणमा लिएर जलाइरहेका छन्। संक्रमित व्यक्तिमाथि स्वयम्को र परिवारको अधिकार समाप्त भएको छ।
भारतमा भने कोरोना संक्रमितको शव जलाउने र गाड्ने दुवै विकल्प दिइएको छ। तर, अन्तिम संस्कारका लागि कडा निर्देशनहरु जारी गरिएको छ। त्यहाँ संक्रमितको शवलाई प्रशिक्षित स्वास्थ्यकर्मीले नै सम्बन्धित ठाउँमा लैजानुपर्छ। ती व्यक्तिले अनिवार्य व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पहिरिएको हुनुपर्छ।
शवलाई प्लास्टिक झोलामा राख्नुपर्छ। उक्त शव परिवारका सदस्यलाई हेर्न पाउने छुट छ। तर, छुन पाइँदैन। अन्तिम संस्कारमा शवलाई नछोइ गर्न सकिन संस्कार गर्ने छुट छ। तर, ती आफन्तले पनि पीपीई लगाएको हुनुपर्छ।
केही दिनअघि मुम्बई नगर निगमले कोरोना संक्रमितको शव जलाउन आदेश दिएको थियो। तर, मुस्लिम र इसाई समुदायले विरोध गरेपछि आदेश फिर्ता भएको थियो। भारतमा महाराष्ट्र कोरोनाभाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित राज्य हो।
-दैनिक भाष्कर तथा अन्य एजेन्सीहरुको सहयोगमा