कोरोना कहरमा संघीय संसदको वर्षे अधिवेशनको तयारी {तस्वीरहरू}
राष्टपति विद्यादेवी भण्डारीले संघीय संसदको वर्षे (बजेट) अधिवेशनको पहिलो बैठक २६ वैशाख अपरान्ह ४ बजेका लागि आह्वान गरेकी छिन् ।
११ चैतदेखि शुरु भएर पटकपटक थप भइरहेको बन्दाबन्दीको समयावधि २५ बैशाखमा सकिंदैछ । र, सोही दिन बस्ने अर्को मन्त्रिपरिषद वैठकले अवधि थप गर्नसक्ने छ ।
कोरोना संक्रमण जोखिम रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले बन्दाबन्दीलाई निरन्तरता दिनुपर्ने निष्कर्ष भएका कारण संभवत बन्दाबन्दीकै बीच संसद बैठक बस्नेछ ।
संघीय संसदमा प्रतिनिधि सभा र राष्ट्रियसभा गरी ३३४ जना सांसद छन् । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण रोकथामका लागि व्यक्तिगत दूरी कायम गर्न विश्वभर सबैलाई आग्रह गरेको छ । सोही मापदण्ड अनुसार उच्च सुरक्षा सतर्कताका साथ बैठक कक्षको तयारी भइरहेको संसद सचिवालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार विज्ञ चिकित्सकरूको टोलीले बैठक भवनको अवलोकन गरेर सुझाव दिइएकाले त्यसै आधारमा तयारी भइरहेको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
संघीय संसद भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै बैठक हल तयार पारिँदैछ । संयुक्त बैठक भने प्रतिनिधिसभाको बैठक कक्षमा बस्ने गरी तयारी भइरहेको छ ।सहायक प्रवक्ता धमलाका अनुसार एक र अर्को जना सांसदको बीचमा दुईवटा कुर्सी खाली रहनेछ, दुरीको हिसाबले एक मिटरभन्दा अलि बढी हुने गरी व्यवस्थान गरिने छ ।
यसअघि दुईजनाको बीचमा एउटा कुर्सी मात्रै खाली राखिने भनिए पनि विज्ञहरूले अवलोकन गरेर दुई वटा कुर्सी खाली राखेपछि मात्रै विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार हुने सुझाव दिएकाले फेरि थप कुर्सी राखेर बस्ने व्यवस्था मिलाइएको हो ।
संविधानसभा हुँदा सोही बैठक कक्षमा ६०१ जना बसे पनि अहिले दुरी कायम गर्नुपर्ने भएकाले 'फिक्स्ड' गरेर राखिएको कुर्सीका कारण धेरै ठाउँ लिने भएपछि कुर्सीहरू थप्ने काम भइरहेकाे छ ।
संसद सचिवालयका डा. पुष्पराज रिजालका अनुसार बैठकको तल्लो फ्लोरमा अट्ने सांसदको टुंगो लगाएर त्यसपछि माथिको (बाल्कोनी) सिट तयार गरिनेछ ।
विज्ञ टोलीका सदस्य समेत रहेका उनले भने, “सम्पूर्ण तयारी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै गरिएको छ, बैठक कक्ष जानु अघि नै सबै माननीयको स्वास्थ्य जाँच गरेर मात्रै भित्र पस्ने व्यवस्था गर्छौं ।”
२६ वैशाखमा बस्ने बैठकको तयारी, बिक्रम राईको तस्विरहरूमा :