खाद्यान्न वितरण गर्दा विपन्नलाई चुल्हो बाल्नै मुश्किल, ललितपुर महानगरले पकाएर खुवाउन थाल्यो खाना
ललितपुर महानगरपालिकाले कोरोनाभाइरस महामारी र लकडाउन (बन्दाबन्दी) का कारण राहतको आवश्यकता भएका बिखर्ची र विपन्नहरूलाई खाना पकाएर खुवाउन थालेको छ।
खाद्यान्न वितरण गर्दा विपन्न तथा दैनिक ज्यालादारी मजदुरहरूले ग्यास, तरकारी र मरमसलाको अभावमा खाना पकाएर खान समस्या भएको गुनासो गरेपछि पकाएरै खुवाउने निर्णय गरिएको उप–मेयर गीता सत्यालले बताइन्।
उनका अनुसार, नगर कार्यपालिकाको बैठकले खाद्यान्न वितरण नगरी खाना पकाएर खुवाउने निर्णय गरे अनुसार सबै २९ वटै वडालाई निर्देशन दिइएको छ। जसमध्ये १३ वटा वडाले दैनिक बिहान–बेलुका खाना खुवाइरहेको र केही वडाले प्राविधिक कारणले शुरू गरिनसकेको उनले जानकारी दिइन्।
यसअघि महानगरले बन्दाबन्दीका कारण खाद्य संकटको चपेटामा रहेका अति विपन्न, असहाय, अपांगता भएका व्यक्ति, दैनिक ज्यालादारी गर्ने व्यक्ति तथा परिवारलाई चामल, दाल, नून, चिउरा, तेल वितरण गर्दै आएको थियो। उपमेयर सत्यालले भनिन्, “काँचो अन्न दिंदा समस्या भएपछि अभावकै कारण महानगरबासी कोही पनि भोको बस्न नपरोस् भनेर पकाएर खुवाउने अभियान शुरु गरेका हौं।’
महानगरले समस्यामा परेका नगरवासीलाई आफ्नो नजिकमा पर्ने वडामा खाना खान अनुरोध गरेको छ।
सामाजिक दूरी कायम गर्न सजिलो हुने गरी खुला स्थान वा चौर भएको ठाउँमा खाना खुवाउने गरिएको छ। कतिपय ठाउँमा भीड बढ्न सक्ने भन्दै खानाको प्याकेट दिने व्यवस्था गरिएको छ। अधिकांश वडाले खानाको प्याकेट दिने व्यवस्था गरेका छन्।
वडा नम्बर १० ले १६ वैशाखदेखि कुपण्डोलको हनुमानस्थान र ज्वागलको चिल्ड्रेन पार्क गरी दुई ठाउँमा मेस सञ्चालन गरिरहेको छ। हनुमानस्थानमा खुला ठाउँको अभावले प्याकिङ दिने व्यवस्था गरिएको छ भने चिल्ड्रेन पार्कमा भने बसाएरै खाना खुवाइने गरिएको सो वडाले जनाएको छ।
मेसमा दिनको दुई पटक बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खाना खुवाउने व्यवस्था रहेको वडा सदस्य तथा मेस व्यवस्थापक महेन्द्रप्रसाद जोशीले बताए। उनका अनुसार, एक पटकमा ६ सयभन्दा बढीले खाना खाइरहेका छन्। वडावासी मात्र नभएर जोकोहीले खाना खान पाउँछन्। महानगरपालिकाको निर्णय अनुसार २५ वैशाखसम्म मेस संचालन गरिनेछ।
व्यवस्थापक जोशीका अनुसार, मेस सञ्चालनको लागि महानगरपालिकाले ३० बोरा चामल, ४ बोरा दाल, २४ लिटर तेल, १५ पोका नून र तरकारीको लागि केही रकम दिएकोे छ। खाना खुवाउन थालेपछि दाताहरुबाट पनि सहयोग आइरहेको उनले बताए। उनले भने, “दाताहरुबाट सहयोग आउन थालेपछि अब महानगरपालिकासँग सहयोग माग्नुपर्छ जस्तो लागेको छैन। खाना खुवाउने अभियानबाट नागरिक पनि खुशी छन्।”
वडाले सञ्चालन गरेको दुई स्थानको मेसमा करीब ५० जना स्वयंसेवकले सहयोग गरिरहेको जोशीले बताए। दुःखमा परेका नागरिकको सहयोगमा खटिंदा पूरै दिन बिते पनि थकाइ नलागेको उनको भनाइ छ। जोशी भन्छन् “बिहान ५ बजे घरबाट निस्केपछि राति ८ बजे मात्रै घर पुगिन्छ। गाह्रो भए पनि जनताले उनीहरुको सेवाकै लागि चुनेकाले सेवा त गर्नैपर्यो।”
खाद्यान्न वितरणभन्दा खाना खुवाउने कार्यक्रम प्रभावकारी भएको उनको अनुभव छ। “खाद्यान्न मात्रै वितरण गरिंदा राहत लिनेले ग्यास, मरमसला, तरकारी जस्ता सामग्री आफैं जुटाउनुपर्ने समस्या हुन्थ्यो, अहिले त्यो टरेको छ”, उनी भन्छन्।