सबै तारे होटल ६ महीना बन्द हुने, साढे १२ प्रतिशत मात्र तलब दिने निर्णय नस्वीकार्ने मजदुरलाई कामबाटै निकाल्ने
देशका सबै तारे होटल ६ महीना बन्द गर्ने होटल संघ नेपाल (हान) ले निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमणका कारण पर्यटन उद्योग एक वर्ष चल्न नसक्ने निष्कर्ष निकालेर हानले होटल बन्द गर्ने निर्णय गरेको हो ।
हानको आइतबार बसेको बैठकले १ वैशाखदेखि असोज मससम्म होटल व्यवसाय बन्द गर्ने निर्णय गरेको प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए । हानको निर्णयले अब देशभरका तीन हजारभन्दा बढी होटल बन्द हुने भएका छन् ।
हानले बन्द अवधिमा मजदुरको जीविकोपार्जन गर्न वैशाखदेखि असोजसम्म प्रत्येक महीना आधारभूत तलबको १२.५ प्रतिशतको दरले मात्र उपलब्ध गराउने पनि निर्णय गरेको छ । यो अवधिसम्मको मौज्जाद सेवाशूल्क भने उपलब्ध गराउने भएको छ ।
प्रथम उपाध्यक्ष शाहका अनुसार ६ महीनाअगाडिको सेवा शुल्क मजदुरलाई दिने गरिएको छ । बन्दाबन्दी अगाडि होटल खुलेको बेलामा जम्मा भएको सेवाशूल्क मजदुरले पाउने छन् ।
साढे १२ प्रतिशत पारिश्रमिक लिन सहमतिको लागि मजदुरलाई एक साताको समय दिइने भएको छ । हानको यो निर्णणमा होटल र श्रमिक युनियन एक साताभित्र अनिवार्य सहमतिमा जानुपर्ने उल्लेख छ ।
तर, मजदुर सहमत नभए जागिरबाटै निकाल्ने हानले निर्णय गरेको छ । हानको निर्णयमा साढे १२ प्रतिशत तलब लिन मजदुर सहमति नभए सबै होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीको लागि आवश्यक प्रक्रिया पूरा गरेर आंशिक वा पूरा रूपमा कर्मचारी कटौती गर्ने उल्लेख छ ।
होटलले दिने साढे १२ प्रतिशत रकममा नेपाल सरकारले जीविकोपार्जन गर्न पुग्ने गरी थप गर्न रोजगार संरक्षण कोष खडा गर्न पनि हान र टे«ड युनियनले संयुक्त रुपमा सरकारसँग पहल गर्ने भएका छन् ।
हानमा आबद्ध काठमाडौँमा मात्र ३५० होटल छन् । त्यस्तै पोखरा, चिवतन र पूर्वाञ्चल च्याप्टरमा तीन हजारभन्दा बढी होटल आबद्ध छन् । बन्दाबन्दी सुरु हुनुअघिदेखि नै अन्तराष्ट्रिय उडानहरु रोकिएको थियो । त्यति वेलैदेखि होटलहरु लगभग बन्दै अवस्थामा छन् ।
नेपालमा हाल पर्यटन मन्त्रालयमा दर्ता भएका होटलको संख्या ६०० छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा भने १० हजार वटा होटल दर्ता छन् ।
होटल क्षेत्रका मजदुरलाई चैत्र महीनासम्मको पूरै तलब भुक्तानी गरिसकिएको छ । अब वैशाखको तलब दिनुपर्ने समय आएको छ । तर, समग्र पर्यटन क्षेत्र ठप्प भएका कारण मजदुरलाई तलब दिन नसकिने भएकोले होटल बन्द गर्ने निर्णय गर्नुपरेको हानले जनाएको छ ।