उपचाररत कोरोनाभाइरस संक्रमित एक लाखभन्दा बढी हुने देश चार वटा
पछिल्लोपटक रुस, टर्की र ब्राजिलसँगै कोरोनाभाइरसका कूल संक्रमित एक लाखभन्दा बढी हुने देश नौ वटा पुगेको छ। तर, उपचाररत संक्रमित एक लाख भन्दा बढी हुने देश भने अमेरिका, बेलायत, रुस र इटाली मात्र हुन्।
बाँकी पाँच देशमा निको हुनेको संख्या अधिक हुँदा उपचाररत् संक्रमित एक लाखभन्दा कम छन्। अमेरिकामा भने कूल संक्रमितको संख्या नै उच्च रहेकाले उपचाररत् संक्रमित पनि धेरै छन्।
त्यहाँ उपचाररत् संक्रमित नौ लाख ४१ हजारभन्दा धेरै छन्। कूल संक्रमित ११ लाख ८८ हजारमध्ये एक लाख ७८ हजार निको भएका छन् भने ६८ हजार ५९८ जना निको भएका छन्।
उपचाररत् दोस्रो ठूलो संख्या बेलायतमा छन्। त्यहाँ अहिले करीब एक लाख ५८ हजार आइसोलेसनमा छन्। कूल संक्रमित एक लाख ८६ हजार ६०० मध्ये करीब २८ हजार ५०० को मृत्यु भएको छ।
रुसमा कूल संक्रमित करीब एक लाख ३५ हजारमध्ये करीब एक लाख १७ हजार उपचाररत् छन्। त्यहाँ पछिल्ला दिनमा द्रुत गतिमा संक्रमण फैलिएका कारण संक्रमित धेरै भए पनि मृतकको संख्या कम छ। अहिलेसम्म १२ सय ८० जनाको मृत्यु भएको छ।
त्यस्तै इटालीमा एक लाख १७९ जना संक्रमित आइसोलेसनमा छन्। त्यहाँ कूल दुई लाख १० हजारभन्दा बढी संक्रमितमध्ये करीब ८२ हजार निको भएका छन्। मृतकको संख्या २८ हजार ८८४ पुगेको छ।
एक लाखभन्दा बढी संक्रमित भेटिएको देशमध्ये जर्मनीमा अहिले सबैभन्दा कम २८ हजार १९८ जना मात्र उपचाररत् छन्। त्यहाँ एक लाख ३० हजार ६०० निको हुँदा ६ हजार ८६६ जनाको मृत्यु भयो।
एक लाखभन्दा बढी संक्रमित भेटिएका अन्य देश स्पेन फ्रान्स टर्की र ब्राजिलमा सक्रिय संक्रमित भने एक लाखभन्दा कम छन्। उता इरानमा पनि कूल संक्रमितको संख्या ९७ हजार नाघिसकेको छ। इरान एक लाखभन्दा बढी संक्रमित भेटिने १०औँ देश बन्ने जोखिममा छ।