जसले नेपालीजनलाई गीत मार्फत क्रान्तिमा बोलाइन्
"आज देशको क्रान्ति युद्धमा हाम्रो एक पुकार होस्
लड्दा लड्दै मरे मरौंला, यो नै एउटा नारा होस्,
खडा भयो जनतन्त्र फौज लौ आऊ आऊ नेपाली
मातृभूमिले मुक्तकण्ठले डाक्छिन् आऊ गोर्खाली"
रेडियो नेपालको प्रारुप विराटनगर जुटमिलको 'प्रजातन्त्र रेडियो' मा पहिलो पटक रानुदेवी अधिकारीले गाएको गीतको केही शब्द हुन् यी। निरंकुश राणा शासनको विरोधमा प्रजातन्त्र प्राप्तिको आन्दोलन हुँदै गर्दा तारिणीप्रसाद कोइरालाका यी शब्द मार्फत क्रान्तिमा होमिन नेपालीजनलाई आह्वान गरिएको थियो।
प्रजातान्त्रिक आन्दोलनको कठिन समयमा क्रान्तिकारी गीत गाउने उनै ऐतिहासिक व्यक्ति रानुदेवीको ८६ वर्षको उमेरमा बिहीबार राति निधन भयो।
१९९० सालमा वीरगन्जमा जन्मिएकी रानुदेवीको बाल्यकाल भारतको बनारसमा बितेको थियो। २००६ सालमा विराटनगरका तीर्थप्रसादसँग बिहे गर्दा उनी १६ वर्षकी थिइन्। विराटनगर आएपछि उनको झुकाव क्रान्ति र परिवर्तनतर्फ गएको हो।
बिहे गरेकै वर्ष पहिलो पटक रेडियोबाट गीत गाएको रानुदेवी बताउँथिन्। प्रजातन्त्र प्राप्तिको आन्दोलनका लागि क्रान्तिकारी विचार तथा सूचना प्रसारण गर्ने गरी विराटनगर जुटमिलमा २००४ सालमै 'प्रजातन्त्र रेडियो' स्थापना गरिएको थियो। यो सञ्चालनको नेतृत्व बीपी कोइरालाका भाइ तारिणीप्रसाद कोइरालाले सम्हालेका थिए।
रानुदेवी नेपालको पहिलो रेडियोमा गीत गाउन कसरी पुगिन् त ? बीपीकी भाइबुहारी नोना रानुदेवीकी दिदी हुन्। यसै कारण कोइराला परिवारमा रानुले गीत गाउँछिन् भन्ने थाहा भएपछि उनले त्यसमा मौका पाइन्। रानुले २००७ सालअघि प्रजातन्त्र रेडियो मार्फत करीब आधा दर्जन गीत गाइन्। त्यसवेला नेपालमा गीत रेकर्ड गर्ने प्रविधि र स्टुडियो नभएकाले रेडियोमा प्रत्यक्ष गाउनुपर्थ्यो।
त्यसपछि उनी शिक्षण पेशातिर लागिन्। घरपरिवारको जिम्मेवारी र शिक्षण कर्मको व्यस्तताका कारण गीत-संगीतमा समय दिन नपाएकी उनले धेरै गीत रेकर्ड गराउन पनि सकिनन्। रेडियोकर्मी, साहित्यकार एवम् संगीतसम्बन्धी अध्येता प्रकाश सायमी रानुदेवीले विभिन्न समयमा गरी ६ वटा गीत कलकत्ताको हिन्दुस्तान रेकर्डिङ स्टुडियो पुगेर रेकर्ड गरेको बताउँछन्।
कलकत्तामा ‘चरी भुर्र उडी जा’, ‘गम्किलो साथ हजुर', जुनेली रात’ ‘यो क्रान्तिको मैदानमा एउटा प्रकाश बलोस्’, ‘मेरो मुटुको माझमा’, ‘एउटा तस्वीर झल्किरहेछ’ बोलका गीतहरु रेकर्ड भएका थिए। "यी गीतहरु रेडियोमा गाउँदा कलाकार शान्ति मास्के र उहाँ भएर गाइएको थियो, तर रेकर्ड गर्दा रानुदेवीले मात्रै गाउनुभयो", सायमी भन्छन्। उनका अनुसार, रानुदेवीले गाएका सबै गीत तारिणीप्रसादले लेखेको तथा हीरा मण्डल र कालु रामले संगीतबद्ध गरेका हुन्।
५६ वर्षपछि खुलेको आवाज
रानुदेवीले उच्च शिक्षामा संगीत विषय पनि पढेकी थिइन्। तर, इतिहास विषयमा स्नातकोत्तर गरेकी उनले शिक्षण पेशा अँगालेर जीवनका तीन दशक त्यसमै बिताइन्। त्यसबीचमा विराटनगरमै रहेकी उनलाई संगीतसँग जोडिने बहाना पनि मिलेन। विराटनगरको प्रजातन्त्र रेडियोलाई २००७ सालमा प्रजातन्त्र आए लगत्तै तत्कालीन गृहमन्त्री बीपी कोइरालाले काठमाडौं ल्याएपछि रानुदेवीको गायकी फक्रने बाटो पनि रोकिइसकेको थियो।
रानुदेवीसँग चिनजान भएका गायक/संगीतकार सुमित खड्काले २०६३ सालतिर रानुको आवाज पुन: ब्यूँताउने प्रयास गरे। सुमितले रानुदेवीलाई काठमाडौं बोलाएर गीतहरु रेकर्ड गराए। उनले केही नयाँ गीत गाइन्, केही पुरानै रेकर्ड गराइन्। नयाँ गीतहरु गीतकार एवम् सुनसरीका पत्रकार शंकर खरेलले लेखेका थिए। गीति अल्बम निस्कियो, '२००७ सालपछि' । अल्बममा भएको 'उठे नेपाली जागे नेपाली' नै रानुदेवीको अन्तिम गीत भएको सुमित बताउँछन्।
अल्बममा भएका पाँचमध्ये तीन वटा गीतमा रानुदेवीसँगै सुमितको स्वर छ। सुमित सम्झन्छन्, “त्यो गीत रेकर्ड गर्दा रानु दिदी ७२ वर्षको हुनुहुन्थ्यो। उहाँले गीत गाउन छाडेको ५६ वर्षपछि रेकर्ड गर्दा पनि कति सजिलै गाउनुभयो।"
साढे ५ दशकको अन्तरालमा गीत रेकर्ड भएको सन्दर्भ पारेर गायक खड्का र पत्रकार खरेलले रानुदेवीको सांगीतिक जीवनमा आधारित वृत्तचित्र ‘५६ वर्षपछि’ निर्माण गरेका छन्।
रानुदेवीलाई 'रेडियो नेपालको पहिलो गायिका' भन्ने गरिन्छ। तर, संगीतका अध्येता सायमी यसलाई सच्याएर 'रेडियोको पहिलो गायिका' भन्नुपर्ने विचार राख्छन्। रानुदेवीले गीत गाउँदा रेडियो नेपाल भन्ने नामकरण नै नगरिएकाले रेडियो नेपालको पहिलो गायिका भन्न नमिल्ने उनी बताउँछन्। "रानुदेवीले विराटनगरको प्रजातन्त्र रेडियोमा गाउनुभएको कारण रेडियोको पहिलो गायिका भनौं। भलै, काठमाडौंमा रेडियो नेपालको विधिवत् स्थापना भएपछि पनि प्रजातन्त्र रेडियोको नेतृत्वकर्ता तारिणीप्रसाद कोइरालालाई नै डाइरेक्टर बनाइयो", सायमी भन्छन्।
सायमी रानुदेवी रेडियोको पहिलो गायिका भएको तथा रेडियो नेपालको पहिलो गायक हरिप्रसाद रिमाल र गायिका त कोइलीदेवी भएको बताउँछन्।
'क्रान्तिकारी व्यक्तित्व'
नेपाली कांग्रेसका पुराना नेता पुरुषोत्तम बस्नेत रानुदेवीलाई गायिका मात्रै भन्दा पनि क्रान्तिकारी व्यक्तिको रुपमा सम्झिन्छन्। उनले भने, “विराटनगरमा बिहे भएर आएपछि उहाँको कोइराला परिवारसँग नाता सम्बन्ध पनि भयो। उहाँको जेठाजु लगायत घरपरिवारका सदस्यहरु पनि राजनीतिमा सक्रिय थिए।"
प्रजातन्त्र प्राप्तिको आन्दोलनताका रानुदेवी रेडियोमा मात्र सीमित थिइनन्। विभिन्न ठाउँमा हुने कार्यक्रममा पनि समय मिलाएर उनी पुग्ने गरेको कांग्रेसका पुराना नेताहरु बताउँछन्।
रानुदेवीका एक छोरा र दुई छोरी छन्। एक छोरा र जेठी छोरी अमेरिकामा बस्छन्। रानुदेवी कहिले अमेरिका त कहिले नेपाल बस्थिन्। पछिल्लो समय काठमाडौंमा कान्छी छोरी अल्पना र ज्वाइँ विनयसँग बस्दै आएकी थिइन्।