रुसी प्रधानमन्त्रीलाई कोरोनाभाइरस संक्रमण, अस्पताल भर्ना
रुसका प्रधानमन्त्री मिखाइल मिसुस्तिनलाई कोरोनाभाइरस संक्रमण भएको छ। उनलाई गत बिहिबार नै संक्रमण भएको थियो।
उनले भिडियो कन्फरेन्समार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफू संक्रमित भएको जानकारी दिँदए गरेको भिडियो रुसी संचारमाध्यमहरुले देखाएका छन्। भिडियोमा उनले राष्ट्रपतिलाई भनेका छन्, “मलाई भर्खरै थाहा भयो कि मेरो कोरोनाभाइरस जाँच पोजेटिभ आएको छ, मैले आफूलाई आइसोलेसनमा राख्नुपर्छ र डाक्टरको निर्देशन पालना गर्नुपर्छ ।”
पुटिनले उनालाई स्वास्थ्यलाभको कामना गरेका छन् । उनले प्रधानमन्त्री मिसुस्तिनलाई भनेका छन्, “तपाईंलाई जे भएको त त्यो जो कसैलाई हुनसक्छ, मैले यही बताइरहेको छु । तपाईं एकदमै सक्रिय व्यक्ति हो । अहिलेसम्म गरेको कामका लागि धन्यवाद भन्न चाहन्छु ।”
मिसुस्तिन गत जनवरीमा मात्र रुसका प्रधानमन्त्री नियुक्त भएका थिए। कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि त्यसविरुद्धको अभियानको नेतृत्व रुसमा उनैले गरिरहेका थिए ।
प्रधानमन्त्री मिसुस्तिनलाई संक्रमण पुष्टि भएको दिन मात्र रुसमा सात हजार ९९ जना नयाँ संक्रमित भेटिएका थिए । यो एकै दिन रुसमा संक्रमित फेला परेको सबैभन्दा ठूलो संख्या हो ।
रुसमा संक्रमितको संख्या एक लाख नाघिसकेको छ । त्यहाँ कूल संक्रमितको संख्या एक लाख ६ हजार ५०० छ। एक लाखभन्दा बढी संक्रमित हुने रुस आठौँ देश हो।
अहिलेसम्म रुसमा एक हजार ७३ जनाको मृत्यु भएको छ। ११ हजार ६१९ जना निको भएका छन्।