सीसीएमसी भाँडभैलो, एक महीना नपुग्दै फेरिए तीन संयोजक
सरकारले १६ चैतमा गठन गरेर १९ चैतबाट काम थालेकाे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा महीना दिन नपुग्दै तीन संयोजक फेरिएका छन् ।
सरकारले कोभिड–१९ महामारीको संक्रमण रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि गठन गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) स्थापना गरेको आज १९ वैशाखमा एक महीना पुग्दैछ । तर, महामारीको संकट व्यवस्थापनमा गठित यो केन्द्रमा स्वयं नेतृत्वको संकट देखिएको छ।
आश्चर्य र रोचक त के छ भने यो एक महीनामा सीसीएमसीको नेतृत्वमा तेस्रो व्यक्ति आइपुगेका छन् । सरकारले हालैमात्र सीसीएमसी संयोजकका लागि तेस्रोपटक सरकारका सचिव महेन्द्रप्रसाद गुरागाईंलाई पठाएको छ ।
सरकारले १६ चैतमा गठन गरेको सीसीएमसीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव संयोजक र रक्षा, गृह, आपूर्ति र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्य रहने व्यवस्था छ। यसले १९ चैतबाट नियमित कामकारबाही गरिरहेकाे छ ।
सरकारकै व्यवस्था अनुसार नै, सीसीएमसी स्थापनाकालको संयोजकमा सचिव लक्ष्मण अर्याल तोकिएका थिए । तर, नियुक्तिको ११ दिनमै २७ चैतमा सरकारले अर्याललाई फिर्ता बोलाई उनको स्थानमा सचिव नारायणप्रसाद बिडारीलाई जिम्मेवारी सुम्पेको थियो ।
आखिर किन महामारीजस्तो अति नै संवेदनशील विषयमा युद्धस्तरमा खटिनुपर्ने सरकारी संयन्त्र सीसीएमसी नेतृत्व परिवर्तनमै अल्झिरहेको छ ? यस्तो संकटमा समेत सरकार किन संयोजक नियुक्तिको हेराफेरीमा लागिरहेको छ ?
यसबारे स्पष्ट जवाफ भने पाइँदैन । तर, यसखाले सरकारी गतिविधिले महामारीविरुद्धको लडाइँमा सरकार गम्भीर लापरवाही गरिरहेको भने पुष्टि हुन्छ ।
स्रोतका अनुसार, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति मातहतको सीसीएमसीको नेतृत्व फेरिरहनुमा रक्षामन्त्रीसँगै स्वास्थ्य मन्त्री भानुभक्त ढकालको दबाब नै मुख्य हो ।
“स्वास्थ्य मन्त्रालयका तर्फबाट हुने दबाब खप्न नसकेर संयोजकहरु बस्न नचाहेको जस्तो देखिन्छ”, एक पूर्व सचिव भन्छन्, “नभए विषम परिस्थितिमा आफूले पाएको महत्वपूर्ण जिम्मेवारीबाट पछि हट्ने भन्ने कुरै हुँदैन ।”
स्थापनाकालका सचिव अर्याललाई मन्त्रिपरिषद् कार्यालय फिर्ता बोलाइनुमा विवादास्पद ओम्नी समूहले चीनबाट खरीद गरेका स्वास्थ्य सामग्री नै प्रयोग गर्न रक्षा मन्त्रालयले दबाब दिएको स्रोतले बताएको थियो । पछिल्ला सचिव हटाइनुमा भने स्वास्थ्य मन्त्रालयको सामान आपूर्तिलाई जिम्मेवारी ठानिएको छ ।
“स्वास्थ्य मन्त्रालय आवश्यकता भन्दा बढी नै हावी हुन खोजेको देखिन्छ”, स्रोतको भनाइ छ ।
‘हतियार’विहीन कोरोना कारवाही
सीसीएमसी गठन लगत्तै सेनाले १२–१४ वैशाखसम्म कोरोनाभाइरस परीक्षणका लागि आरडीटी र पीसीआरलाई तीव्रता दियो ।
सैनिक योजना अनुसार परीक्षणमा ‘रेड जोन’ मा रहेको प्रदेश २ पछि अर्को क्षेत्र बर्दिया तय गरिएको थियो । बर्दियाको राजापुर क्षेत्रमा काम गर्ने दुई भारतीयमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका नेपाली मार्फत त्यो क्षेत्रमा संक्रमण फैलिएको आशंका गर्दै सेनाले यस्तो योजना बनाएको थियो ।
तर, स्वास्थ्य मन्त्रालयले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध नगराएकै कारण योजना अघि बढ्न सकेन । १४ वैशाखदेखि यो सैन्य टोली ब्यारेकमै बस्न बाध्य छ ।
सीसीएमसी अन्तर्गत खटिएका एक वरिष्ठ सैन्य अधिकारी भन्छन्, “महामारीविरुद्ध सेनाले फौजी कारवाहीकै स्वरुपमा काम गर्न योजना बनाएको छ, “हामीलाई केही मिनेटको पनि ठूलो महत्व हुन्छ । तर, मन्त्रालयका अधिकारीहरु आज, भोलि भन्नुहुन्छ।”
यसअघि पनि स्वास्थ्य सामग्री भनिएको समयमा नपाएकै कारण सेनाले संक्रमणको अर्को ‘रेड जोन’मा सुदूरपश्चिम जान ढिलाइ भएको थियो ।
“महामारीविरुद्ध सेनाले फौजी कारवाहीकै स्वरुपमा काम गर्न योजना बनाएको छ”, सीसीएमसी अन्तर्गत खटिएका एक वरिष्ठ सैन्य अधिकारी भन्छन्, “हामीलाई केही मिनेटको पनि ठूलो महत्व हुन्छ । तर, मन्त्रालयका अधिकारीहरु आज, भोलि भन्नुहुन्छ।”
सेनाले हरेक पटकको बैठकमा सीसीएमसीलाई केन्द्रित गरेर स्वास्थ्य सामग्री भण्डारण गर्ने र त्यहीबाट योजना बनाई कारवाही अघि बढाउने प्रस्ताव गरे पनि त्यसो हुन नसकेको सेनाको गुनासो छ ।
स्वास्थ्य सामग्री तस्करीको आशंका
स्रोतका अनुसार प्रदेश २ का लागि सीसीएमसीले स्वास्थ्य मन्त्रालयबाट १८ सय थान स्वास्थ्य सामग्री सेट लिएर गएको थियो । जसमध्ये, जम्मा १३ सयको जाँच गरियो ।
तर, बाँकी ५ सय स्वास्थ्य सामग्री सेट कहाँ गयो ? यसको जवाफ स्वास्थ्य मन्त्रालयका अधिकारीसँग छैन ।
“जाँचका क्रममा आवश्यकता भन्दा बढी उपकरण र सामग्री स्वास्थ्य मन्त्रालयका कर्मचारीले लिएर जाने तर फर्कंदा बचेका सामग्री भण्डारमा जम्मा नहुने समस्या देखिएका छन्”, स्रोत भन्छ । चितवनस्थित कोरोनाभाइरस अस्थायी अस्पतालको भण्डारणबाट सामग्री चोरी हुनुमा पनि स्वास्थ्य मन्त्रालयकै अधिकारीको संलग्नताको आशंका गरिएको छ ।
सैनिक स्रोतका अनुसार, नेपाल भित्रिने स्वास्थ्य सामग्री र उपकरण सबै विमानस्थल भएरै आउने हुन्, जसको सम्पूर्ण लगत राख्न सेनाले प्रस्ताव गरेको छ । तर, यसमा स्वास्थ्य मन्त्रालयले कुनै चासो दिएको छैन ।
सेनाले नेपालबाट स्वास्थ्य सामग्री छिमेकी भारतमा तस्करी भइरहेको हुनसक्ने पनि आशंका गरेको छ । यसका लागि गोप्य संयन्त्रले काठमाडौंबाट बाहिरिने मालवाहक सवारीसाधनलाई निगरानी पनि गरिरहेको छ ।
सीसीएमसीले स्वास्थ्य सेवा तथा उपचार, औषधि उपकरण तथा स्वास्थ्य सामग्री आपूर्ति सेवा, शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रण कार्य र सूचना तथा प्रविधि कार्य जस्ता ४ वटा क्लस्टर बनाएर काम गरिरहेको छ ।