बन्दाबन्दीपछि निगममा कर्मचारीलाई तलब खुवाउन समस्या, चार्टर उडानले भरथेग
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानीको भरपर्दो स्रोत ग्राउण्ड ह्यान्डलिङ हो। तर, लकडाउन (बन्दाबन्दी) का कारण नियमित उडान र ग्राउण्ड ह्यान्डलिङको सेवा ठप्प भएपछि निगमलाई खर्च व्यवस्थापनमा कठिनाइ भएको छ।
जहाज उडानबाट नाफा वा घाटा जे भए पनि निगमका कर्मचारीलाई तलब–भत्ता खुवाउन र दैनिक कार्य सञ्चालन गर्न ग्राउन्ड ह्यान्डलिङको आम्दानी सबैभन्दा भरपर्दो स्रोत भइरहेको छ। तर, त्यो रोकिएपछि कर्मचारीलाई तलब खुवाउन समस्या भएको छ।
निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण गर्ने सबैजसो अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई जहाजसम्म ग्राउन्ड ह्याण्डलिङ अन्तर्गत यात्रु तथा कार्गो ओसारपसारको सेवा दिन्छ। यसबाट निगमले वार्षिक करीब रु.४ अर्ब आम्दानी गर्छ। यही आम्दानीबाट कर्मचारीलाई तलब खुवाउन सहज भएको निगमको तर्क छ। निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार, अहिले बन्दाबन्दीका कारण उडान तथा ग्राउण्ड ह्यान्डलिङको काम ठप्प भएको हो।
निगमको कुल आम्दानी करीब रु.१६ अर्ब पुग्छ। त्यसमा ग्राउन्ड ह्यान्डलिङको रु.४ अर्ब र जहाज उडान, भाडा एवम् शेयर लगानी तथा अन्य आम्दानीका स्रोतबाट करीब रु.१२ अर्ब निगमले आम्दानी गर्छ। निगमले सोल्टी होटल, सीआरएस प्रोजेक्ट, एरोनुटिकल रेडियो अफ थाइल्याण्ड लगायतमा गरी कुल रु.६१ लाख ६९ हजार लगानी भएको छ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गरेको ‘नेपाल वायुसेवा निगमको जहाज खरीद सम्बन्धी अध्ययन प्रतिवेदन, २०७६’ अनुसार आर्थिक वर्ष २०७५/७६ को ६ महीनामा नै निगमले ग्राउण्ड ह्यान्डलिङबाट रु.१ अर्ब ८४ करोड ७९ लाख आम्दानी गरेको थियो। यसबाट खर्च गरेर पनि निगमले ग्राउन्ड ह्यान्डलिङबाट मात्रै ६ महीनामा रु.५२ करोड १७ लाख नाफा गरेको थियो। वार्षिक रूपमा भने निगमले यस्तो आम्दानीबाट रु.१ अर्बभन्दा बढी नाफा आर्जन गर्ने उल्लेख छ।
चार्टर उडानको भर
कोरोनाभाइरसको महामारी र त्यसको रोकथामका लागि लगाइएको बन्दाबन्दीका कारण ११ चैतदेखि उडान ठप्प छ। यससँगै उडानबाट आम्दानी बन्द भए पनि निगमले यसबीचमा चार्टर उडानबाट आम्दानी गरिरहेको छ।
निगमले बन्दाबन्दीपछि हालसम्म आठ वटा चार्टर उडान गरेको छ। चीनमा चार वटा कार्गो उडान तथा अष्ट्रेलिया, जापान, भारत र बाङ्लादेशमा यात्रु बोकेर एक/एक वटा उडान भएको छ। अहिलेसम्म भएको यस्तो चार्टर उडानबाट निगमका कर्मचारीलाई चैत महीनाको तलब खुवाउन सहज भएको निगमकी प्रवक्ता अर्चना खड्का बताउँछिन्।
निगमले दक्षिण कोरिया र अष्ट्रेलियामा फेरि एक/एक वटा यात्रु चार्टर उडान गर्ने तयारी गरेको छ। कोरियाको उडानको मिति तय भइसकेकोमा केही समयलाई पर सरेको छ। अष्ट्रेलियामा भने २४ वैशाखमा उडान हुने भएको छ। यसअघि अष्टे«लियाको ब्रिस्बेनमा चार्टर उडान गरेको निगमले यस पटक भने सिड्नीमा उडान गर्दैछ।
बन्दाबन्दीका कारण नियमित उडान गर्न नपाए पनि कर्मचारीको तलब–भत्तामा लाग्ने खर्च जुटाउन चार्टर उडानले ठूलो भरथेग दिएको निगमको भनाइ छ। निगमले प्रतिघण्टा १८ हजार डलरमा चार्टर उडान गर्ने उल्लेख छ।
वायुसेवा निगममा १५ सय जना कर्मचारी छन्। यसमध्ये पाइलट मात्रै ९९ सय जना छन्। निगमका जहाजमा उडान गर्ने क्रू–मेम्बरको संख्या १ सय ६५ जना रहेको निगमले जनाएको छ। निगमको कर्मचारीमा मासिक रु.८ करोड खर्च हुने प्रवक्ता खड्काले जानकारी दिइन्।
नियमित उडान ठप्प भएर भैपरी आउने खर्च व्यवस्थापन गर्न समस्या भएपछि निगमले पाइलटको तलब कटौतीदेखि बेतलबी बिदासम्मको निर्णय गरेको छ। निगमका अनुसार, १० हजार डलरभन्दा बढी तलब हुने पाइलटको तलबमा ५० प्रतिशतले कटौती गरिएको छ। यस्तै, १० हजारभन्दा कम तलब खाने पाइलटको ४० प्रतिशत र करारमा कार्यरत पाइलटको ३३ प्रतिशत तलब कटौतीको निर्णय निगमले जनाएको छ। निगमका अनुसार, तलब कटौतीको निर्णय यही वैशाखदेखि असारसम्मलाई गरिएको हो।
यस्तै, बन्दाबन्दीको कारण उडान नभएका कारण निगमले विदेशी पाइलटलाई दुई साता अनिवार्य बिदा बस्न लगाएको छ। निगमको वाइडबडी र न्यारोबडी जहाज उडानका लागि १३ विदेशी पाइलट छन्। विदेशी पाइलटको तलब मासिक १३ हजार डलर छ। निगमका विदेशी पाइलटहरूले मात्रै मासिक करीब रु.३ करोड पारिश्रमिक लिंदै आएका छन्।
किस्ता तिर्न कठिन
निगमले जहाज किन्दा लिएको ऋण रु.३७ अर्बभन्दा ऋण छ। निगमले खरीद गरेको वाइडबडी र न्यारोबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण तिर्न निगमले हरेक तीन महीनामा रु.१ अर्ब १३ करोडभन्दा बन्दा बढी किस्ता तिर्नुपर्छ। यसमध्ये वाइडबडीको लागि रु.८० करोड ८२ लाख र न्यारोबडीका लागि रु.३३ करोड ९ लाख तिर्दै आएको थियो। तर, गएको पुसअघि एक वर्षको किस्ता तिर्न नसक्दा यसको ब्याज पनि पूँजीकरण भएपछि निगमले तिर्नपर्ने किस्ता रकम अझै बढेको जनाइएको छ।
निगमले गएको पुसपछिको किस्ता तिर्न फेरि रोकिएको छ। चैतमा किस्ता तिर्नुपर्ने भए पनि बन्दाबन्दीका कारण तिर्न नसकिएको निगमकी प्रवक्ता खड्का बताउँछिन्।