हवाई क्षेत्रको पुनर्बीमा नेपालमै गर्ने पहल, विदेशिने रकम घट्ने
नेपालको हवाई क्षेत्रको पुनर्बीमा अबदेखि मुलुकभित्रै गराउने विषयमा गृहकार्य शुरु भएको छ।
मुलुकले बीमामा आफ्नो क्षमता अनुसार जोखिम वहनको दायरा बढाउनेबारे वायुसेवा सञ्चालक संघ र हवाई बीमा कम्पनीले चासो लिएकाले यस सम्बन्धमा गृहकार्य थालिएको हो। निजी क्षेत्रका वायुसेवाको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल निर्जीवन बीमा संघ र पुनर्बीमा कम्पनी लिमिटेडबीच यस सम्बन्धमा अध्ययन प्रतिवेदन तयार पार्ने निर्णय पनि भएको छ।
नेपालमा हवाई बीमाको जोखिम वहनको क्षमता नभएको भन्दै हाल विदेशी कम्पनीबाट मात्र हुँदै आएको छ। यस्तो बीमा अब नेपालबाटै गराउने वा नेपाली पुनर्बीमा कम्पनीले पनि त्यसको जोखिम वहनको दायरा बढाउने गरी गृहकार्य भइरहेको जनाइएको छ।
नेपालमा हवाई बीमा गर्ने सबै कम्पनीले विदेशी बीमा कम्पनीबाट पुनर्बीमा गराउने गरेका छन्। नेपाल पुनर्बीमा कम्पनीमा हवाई बीमाको अंश निकै कम छ। बीमा भएकामा पनि सीमित कम्पनीको न्यून हिस्सा मात्रै भएको भन्दै यसलाई बढाउने पहल भएको हो।
नेपालमा हवाई पुनर्बीमा गर्ने र दायरा बढाउने विषयमा एक साताभित्र प्रतिवेदन बुझाउने गरी अध्ययन समिति गठन गर्ने निर्णय भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। वायुसेवा सञ्चालक संघ र निर्जीवन बीमा कम्पनीको तर्फबाट तीन/तीन जना तथा नेपाल पुनर्बीमा कम्पनीबाट एक जना रहने गरी नेपालमा हवाई बीमाको अध्ययन समिति गठन भएको छ।
अध्ययन समितिले २३ वैशाखभित्र प्रतिवेदन तयार पारेर बीमा समितिलाई बुझाउनुपर्नेछ। सो प्रतिवेदनका आधारमा नेपालमा हवाई बीमाको दायरा बढाउन सकिने बीमा समितिका कार्यकारी निर्देशक पौडेल बताउँछन्।
कोरोनाभाइरस महामारीका कारण अहिले सबै वायुसेवा कम्पनीका जहाज विमानस्थलमा थन्किएका छन्। वायुसेवा संचालक संघले जहाजको ग्राउण्ड जोखिम वहन गराउने र नेपालकै बीमा कम्पनीबाट त्यसको जोमिख वहन गराउन माग गरेका छन्। जहाज ग्राउण्डमा हुँदा जोखिम कम हुने भए पनि बीमा शुल्क भने अन्तर्राष्ट्रिय अभ्यासको तुलनामा नेपालमा महँगो भएको वायुसेवा सञ्चालक संघको भनाइ छ।
देशभित्रै ५० प्रतिशत बीमाको पहल
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार, बीमा समितिलाई ग्राउण्डका जहाजको नेपाली पुनर्बीमा कम्पनीबाटै बीमा गर्न आग्रह गरेको जानकारी दिए। अहिले शतप्रतिशत बीमा विदेशी बीमा कम्पनीबाट गर्नुपर्ने भएकाले नेपाली उड्डयनलाई महँगो परिरहेको छ। "नेपाली पुनर्बीमा कम्पनीबाट ५० प्रतिशत पुनर्बीमा हुन सक्यो भने वायुसेवा कम्पनीलाई राहत हुन्छ र नेपालबाट गइरहेको रकम केही प्रतिशत भए पनि यहीं रहन्छ", प्रवक्ता कँडेल भन्छन्।
हाल नेपालमा २० वटा निर्जीवन बीमा कम्पनी भए पनि शिखर, एनएलजीआई, प्रभु, नेको, सिद्धार्थ, आईएमईसहित केही बीमा कम्पनीले मात्रै हवाई बीमा गर्ने गरेका छन्। ती कम्पनीले पनि विदेशी पुनर्बीमा कम्पनीबाट पुनर्बीमा गराउने गरेका छन्। यस्तो रकमको ५० प्रतिशत बीमा नेपालकै पुनर्बीमा कम्पनीबाट गराउन पहल भएको हो।
नेपाल पुनर्बीमा कम्पनीका सहायक महाप्रबन्धक दामोदर भण्डारी अहिले भइरहेको हवाई उड्डयन बीमाको कम्तीमा ४० प्रतिशतसम्म नेपालबाटै पुनर्बीमा गराउन सकिन्छ कि भनेर अध्ययन भएके बताउँछन्। ‘‘अध्ययनको प्रतिवेदन एक साताभित्रै आउँछ र त्यसपछि कसरी जाने र कति हिस्सा नेपालमा नै राख्न सकिन्छ भन्ने विषयमा थप गृहकार्य गर्नेछौं", उनले भने।
नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समिति सदस्य तथा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले हवाई क्षेत्रको पुनर्बीमामा नेपालले आफ्नो क्षमता विकास गर्न पनि यो प्रयास जरुरी भएको बताए।