अब एपबाटै चिन्नुहोस् नेपालका फूल, यसको गुण र कहानी
तपाईंले देखेका तर नाम थाहा नपाएका कुनै फूलहरु छन्, छन् भने पनि केही छैन । तपाईंको हत्केलामा भएको फोनमा पाइने एउटा एप्लिकेशन ‘वाइल्डफ्लावर्स अफ माउन्ट एभरेस्ट’ले हिमाली वनफूलहरुको समेत पहिचान गर्न सक्छ ।
नेपालका हिमाल, पहाड र मैदान अनुपम दृश्यले भरिएका छन्, समृद्ध सांस्कृतिक सम्पदाले पूर्ण छन् । यिनलाई सुशोभित गर्ने सुन्दर वनस्पतिहरु पनि कम चामत्कारिक छैनन् ।
यो फूल फुल्ने समय हो । हामी मध्ये कोही जो बन्दाबन्दीका क्रममा पहाडमा छौं भने ती सबै भाग्यमानी हौं । हामीमध्ये कतिलाई लाग्न सक्छ त्यो सुन्दर लालीगुराँसलाई के भनिन्छ ? वा बुद्धका हात जस्ता पातहरु भएको कमलो मांसाहारी वनस्पतिको भित्री कथा के होला ? अथवा प्रिय लाग्ने नीलो जेन्टियनको औषधीय गुण के होला ?
अब सबै प्रश्नको उत्तर सहजै हत्केलामा भएको फोनले दिन सक्छ ।
द फ्लोरा अफ नेपाल प्रोजेक्ट, राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण विभागले सगरमाथा क्षेत्रका वनफूलहरु पहिचान गर्न एलिजाबेथ बायर्स र हाइकन्ट्री एप्ससँग सहकार्य गरेको छ । नेपालका वनफूलहरु पहिचान गर्ने यो पहिलो एप्लिकेशन हो ।
बायर्स वनस्पति पारिस्थितिकीविद् हुन् । जो दुर्लभ बिरुवाका प्रजातिहरु र जलवायु परिवर्तनका कारणले जोखिममा रहेका वनस्पतिको बारेमा अध्ययन गर्छिन् । उनी करीब ४० वर्षदेखि नेपालका वनस्पतिहरुको अध्ययन र छायांकन गरिरहेकी छन् ।
नेपालका वनस्पतिहरु विश्वमै अद्वितीय मानिन्छन् । विशेष गरी यहाँका वनस्पति ठण्डी, ओसिलो गर्मी र मनसुनका माध्यमबाट उच्च भूभागमा समेत जीवित रहन सक्छन् । वसन्त ऋतुमा प्राइमरोजेज र लालीगुराँसका रङ्गले सम्पूर्ण पहाड रङ्गिन बनाएको हुन्छ ।
गर्मी मौसममा कहिलेकाहीँ हिप्पोलिटिया गोसिपिना जस्ता विचित्र खालका सुन्दर फूल पनि फुल्छन् । यसका सेता कपालजस्तै देखिने स्तम्भहरुसँगै सुनौला फूलका गुच्छाहरु टुप्लुक्क माथिपट्टि देखिन्छन् । शरद ऋतुको ट्रेकिङ सिजनमा जेन्टियन्सको नीलोले पोतिएको हुन्छ र झाडी र रुखहरु चम्किला, राता र पहेंला पातहरुले ढाकिएको हुन्छ ।
वाइल्डफ्लावर अफ माउन्ट एभरेस्टमा सजिलै उपयोग गर्न सकिने चित्रमय विवरण, वानस्पतिक सहायता, वनस्पतिको विस्तृत विवरण र नेपालका उल्लेखनीय वनस्पतिहरुको पहिचान गर्न र त्यसको पत्तो लगाउन आवश्यक वनस्पति विद्या उपलब्ध छ ।
एप्लिकेशन चलाउन सेलुलर वा इन्टरनेट आवश्यक पर्दैन । यसैले एप्लिकेशन चलाइरहेको ठाउँ कुनै गोरेटो वा घर नै किन नहोस्, जहाँसुकै चलाउन सकिन्छ ।
आफूले हरेक दिन हेरेका वनस्पतिहरुको सूची बनाएर राख्न र साथीहरुलाई इमेल गर्न सक्ने सुविधा पनि एपले दिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराई भन्छन्, “यो एप्लिकेशन नेपालको सगरमाथा क्षेत्रका सुन्दर वनफूलहरुबारे रुचि राख्ने विद्यार्थी, शिक्षक, वैज्ञानिक, पथप्रदर्शक र आगन्तुकका लागि साह्रै उपयोगी छ । निकुञ्ज रेञ्जरहरु र स्काउटहरुका लागि एउटा उपयोगी उपकरण हुनसक्छ किनभने उनीहरु निकुञ्जका वनस्पति र फूलहरुको विविधता संरक्षण गर्न खटिइरहेका हुन्छन्।”
यो एप्लिकेशन सिकारु, अनुभवी वनस्पतिविज्ञहरु, पूर्वी नेपालका वनस्पतिहरु बारे जान्न र चिन्न खोज्ने जिज्ञासुहरु समेतलाई ध्यानमा राखेर डिजाइन गरिएको छ ।
बायर्सले ४० वर्ष अघिदेखि नै पूर्वी नेपालका उच्च पहाडी र पहाडी क्षेत्रका वनस्पतिहरुको पहिचान गर्न, फोटो खिच्न र क्याटालग तयार गर्न धेरै समय खर्चेकी छन् ।
“दुई कुराले यो क्षेत्रलाई विशेष बनाएको छ,” उनी भन्छिन्, “पहिलो, शेर्पा जातिका ज्येष्ठ नागरिकहरुले दयाभावसाथ बोटबिरुवाका बारेमा बताएका छन् । त्यसक्रममा उनीहरुले हामीलाई प्रत्येक बिरुवाका प्रजातिको सांस्कृतिक महत्व राख्ने कथाकहानी समेत सुनाए ।”
दोस्रो, विश्वभरिका वनस्पति विशेषज्ञ जसले सगरमाथाको अनौठा र विशेषरुपले अनुकूलित बिरुवा चिन्न आफूसँग भएको विशेष ज्ञान हामीलाई उपलब्ध गराए ।
वाइल्डफ्लावर्स अफ माउन्ट एभरेस्ट एप्लिकेशन एप्पल एप स्टोर र गुगल प्ले स्टोरबाट ७.९ डलर तिरेर डाउनलोड गर्न सकिन्छ । यसका निर्माणकर्ताले अतिरिक्त शुल्क नलिई वनस्पतिका नयाँ प्रजाति र अन्य सामग्री समावेश गर्न समयसमयमा अद्यावधिक गरिरहने छन्।