कोरोना प्रभाव: ‘पाइलट जनगणना' स्थगित, राष्ट्रिय जनगणनालाई असर गर्ला ?
आउँदो वर्ष हुने राष्ट्रिय जनगणना २०७८ अन्तर्गत तय भएको 'पाइलट जनगणना' को समय कोरोनाभाइरस महामारीका कारण धकेलिंदा नियमित तालिका प्रभावित हुन सक्ने संशय बढेको छ।
केन्द्रीय तथ्यांक विभागले जनगणना अगाडि यसको पूर्वाभ्यासका रुपमा ‘पाइलट जनगणना’ गर्छ। हरेक १० वर्षमा गरिने जनगणना आउँदो वर्ष २०६८ मा हुँदैछ। त्यसका लागि पाइलट जनगणना गएको ९-२३ चैतमा गर्ने तय गरिएकोमा कोरोनाभाइरस महामारीका कारण स्थगित भइसकेको छ।
जनगणनाकै ढाँचामा गणकहरु घरघरमै पुगी प्रश्नावली भराएर गरिने यस्तो गणना कोरोना जोखिमका कारण फागुन दोस्रो सातादेखि सरकारले सार्वजनिक कार्यक्रम र ठूला भेला नगर्न भनेपछि स्थगित गरिएको हो। बन्दाबन्दी हटेपछि अवस्था हेरेर पाइलट जनगणना शुरु गरिने विभागको जनगणना महाशाखाका निर्देशक ढुण्डीराज लामिछाने बताउँछन्।
जनगणनाका लागि गएको वर्षदेखि नै तयारीमा जुटेको केन्द्रीय तथ्यांक विभागले पूर्वतयारीका कामहरु समयतालिका बनाएर गरिरहेको छ। सोहीमध्येको पाइलट जनगणनाका लागि सबै प्रदेश, भौगोलिक दृष्टिले हिमाल, पहाड र तराई मिलाएर १४ जिल्ला छनोट गरिएको छ। ती जिल्लाका पनि पूरै स्थानीय तह नभई ६० वटा वडा चयन गरिएको छ।
‘जनगणनामा असर पर्दैन’
कार्यतालिका अनुसार २०७८ को २५ जेठदेखि ८ असारसम्म जनगणना हुनेछ। जनगणनाअघि पहिलो चरणमा २०७८ सालको २५ वैशाखदेखि १५ जेठसम्म सुपरीवेक्षकहरू हरेक घरधुरीमा पुगेर 'घर र घरपरिवार सूचीकरणका लागि' सन्देश दिनेछन्। त्यस्तै, दोस्रो चरणमा गणक मार्फत २५ जेठदेखि १५ दिनसम्म मुख्य प्रश्नावली र सामुदायिक प्रश्नावली भरिनेछ।
महामारीका कारण पाइलट जनगणनाको समय धकेलिए पनि एक/दुई महीनाको तलमाथिले जनगणनालाई असर नपर्ने विभागको आकलन रहेको जनगणना शाखाका निर्देशक लामिछाने बताउँछन्। "अझै ४/५ महीनासम्म पनि काम गर्न नसक्ने अवस्था भयो भने असर पर्ला, तर त्यति लामो समयसम्म यस्तै अवस्था नरहला", उनी भन्छन्।
नेपालमा प्रणालीगत रूपमा वि.सं. १९६८ देखि प्रत्येक दश वर्षमा जनगणना गर्न थालिएको मानिन्छ। यस हिसाबले आगामी वर्ष हुने १२औं जनगणना हो। मुलुक संघीय संरचनामा गएपछिको भने यो पहिलो जनगणना हुनेछ। जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता’ राखिएको छ।
यसपटक बहुविधिको प्रयोगबाट जनगणना गरिने भएकाले कोही नछुट्ने र कोही नदोहोरिने विभागको विश्वास छ। विगतका गणनामा गणकहरू कागजको फारम लिएर घरघर पुग्ने गरेकोमा आगामी जनगणनामा भने बहुविधिको प्रयोग गरिने भएको छ। इन्टरनेट सुविधा भएका ठाउँमा ट्याबलेट प्रयोग गरिनेछ भने विदेशस्थित कूटनीतिक नियोगहरूमा विद्युतीय गणना गर्ने विभागको तयारी छ।
विभागका अनुसार, बन्दाबन्दीका वेला पनि जनगणनाको तयारीका काम भइरहेका छन्। कर्मचारीहरु आवश्यकता अनुसार कार्यालय जाने र अन्य काम घरबाटै गरिरहेको विभागले जनाएको छ।
विभागका उच्च अधिकारीहरु भने अहिले जनगणनाको लागि बजेटको तयारीमा लागेका छन्। यसका लागि विभागले करीब सवा ३ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको छ। अर्थमन्त्रालयसँग भइरहेको छलफल अन्तिम चरणमा पुगेको छ।