प्रधानमन्त्रीको प्रस्तावः माधव नेपाल अध्यक्ष, वामदेव गौतम प्रधानमन्त्री
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी पछाडि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएका छन् ।
बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव ल्याएका हुन् । एक सचिवालय सदस्यका अनुसार, प्रधानमन्त्री ओलीले कोरोना महामारी पछाडि नेता नेपाललाई अध्यक्ष र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएका हुन् ।
“जे गर्नुपर्ने हो, कोरोना पछाडि गरौं । अहिले अध्यक्ष र प्रधानमन्त्री बनाउने कुरा सहमति गरौं”, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै ती स्रोतले भने । स्रोतका अनुसार, नेता नेपाललाई अध्यक्ष बनाउन कुनै समस्या नभएको तर, गौतमलाई प्रधानमन्त्री बनाउनेबारे आवश्यक प्रक्रिया कोरोना पछाडि गर्ने प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका छन् ।
पार्टी गौतम सांसद नरहेकाले कुनै स्थान खाली गराएर उपनिर्वाचनमार्फत सांसद बनाउने प्रस्ताव प्रधानमन्त्री ओलीले ल्याएका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावमा सविचालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णुप्रसाद पौडेलले समर्थन गरेका थिए ।
प्रधानमन्त्रीको प्रस्ताव पछाडि बैठकको माहोल नै फेरिएको थियो । अध्यादेश प्रकरण पछाडि बहुमत सदस्य एकातिर उभिएपछि पहिलो पटक सचिवालय बैठक बसेको हो । बुधबार आफू निकट सांसदहरुको हस्ताक्षर समेत गराएका प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा राखेको प्रस्ताव पछाडि भने नेकपाको राजनीति नयाँ मोडतिर धकेलिएको छ ।
प्रधानमन्त्रीको प्रस्तावलाई परिपक्क बनाउनकै लागि आवश्यक गृहकार्य गर्नुपर्ने भन्दै सचिवालय बैठक शनिबारसम्मका लागि स्थगित गरिएको छ । त्यस अवधिमा आवश्यक छलफल गरी लिखित सहमति गर्ने तयारी भएको नेकपाको उच्च स्रोतले जनाएको छ ।
बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले भने वामदेव गौतमलाई बेलाबखत भकुण्डो बनाइएको टिप्पणी गरेका थिए । यसबारे अध्यक्ष दाहालले आफू निकट नेताहरुलाई समेत ‘वामेदव बेलाबखत एमालेका भकुण्डो बन्नुको कारण थाहा पाएको’ बताएका छन् ।