बन्दाबन्दीमा घर बसाइको समयलाई सृजनात्मक बनाउन नेपाल पर्यटन बोर्डले फोटो प्रतियोगिताको आयोजना गरेको छ । हरके व्यक्तिले आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ बोर्डले झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा नेपालका जुनसुकै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधिसहितका तस्बिरहरू अनलाइनबाट पठाउन सकिने व्यवस्था गरिएको छ । बोर्डले औपचारिक रुपमा मंगलबारबाट सुरु गरेको यो प्रतियोगितामा सहभागिले आगामी १८ जेष्ठसम्म फोटो पठानुपर्ने छ ।
बोर्डको फोटो अभियानको साइट फोटो नेपाल डट ट्राभलमार्फत प्रतियोगितामा सहभागि हुन सकिने बोर्डले बोर्डले जानकारी दिएको छ । प्रतियोगिताका उत्कृष्ट पाँच सहभागीले जनही रु.१० हजार नगद पुरस्कार पाउने बोर्डको भनाइ छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मीले फोटो प्रतियोगिताले नेपालको कुना काप्चामा खिचिएको फोटो प्रदर्शनी हुने, छलफल गर्ने र फोटोमार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियान सुरु हुने बताए ।
रेग्मीका अनुसार बोर्डले चार वर्ष अघिदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्दै आएको छ । सो अभियानलाई भने यो पटक बन्दाबन्दीकै बीचमा पनि अगाडि बढाइएको उल्लेख छ ।
फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको हो । बोर्डको यो प्रयासले नियमित अभियानको रूप लिँदा देश चिनाउने फोटो प्रदर्शनी चार वर्षदेखि निरन्तर रूपमा भइरहेको छ ।
यस अभियानलाई अझ ब्यापक बनाउनफोटो नेपाल डट ट्राभल सुरु गरिएको हो । हाल यसमा दुई हजार बढी सदस्यका २० हजार फोटो संग्रहित छन् ।