चट्याङको उच्च जोखिम क्षेत्रमा नेपाल, यसरी सकिन्छ जोगिन
भौगोलिक अवस्थितिका कारण चट्याङको दृष्टिले संसारकै तीन उच्च जोखिमयुक्त क्षेत्रमध्ये नेपाल पनि पर्छ। यहाँ निम्तिने प्राकृतिक विपद्मध्ये भूकम्पपछि चट्याङले सबैभन्दा धेरै मानवीय क्षति गरिरहेको छ।
नेपालको कृषि प्रणालीका लागि महत्वपूर्ण वर्षायामले विपद् पनि सँगसँगै लिएर आउँछ। बंगालको खाडीबाट उठ्ने मनसुन वायुको सक्रियता शुरू हुनु अगावै नेपालमा पूर्व मनसुनी वायुको तीव्र उतारचढाव शुरु हुन्छ, जसले विपद्को सिलसिला शुरु गर्छ। प्रि–मनसुनका वेलादेखि बढी क्रियाशील हुने चट्याङले मात्रै बर्सेनि झण्डै सय जनाको ज्यान लिन्छ। र, यो बाढी–पहिरोले भन्दा पनि धेरैको ज्यान लिने प्राकृतिक विपद् बनिरहेको छ।
बितेको एक महीनामा मात्रै देशका विभिन्न स्थानमा चट्याङ लागेर १४ जनाले ज्यान गुमाए, ९८ जना घाइते भएका छन्। पूर्व मनसुनी गतिविधि सक्रिय भएसँगै मौसममा आएको फेरबदलका कारण गएको एक सातामै डेढ दर्जनभन्दा बढी स्थानमा चट्याङ खसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ। गएको वर्ष चट्याङले ८९ जनाको ज्यान लिएको थियो भने ३ सय ६८ जना घाइते भएका थिए।
प्रायः वर्षायाम र त्यसअघिको समय बादल हुँदै आकाशबाट जमीनमा विद्युतीय लहरको झट्का खस्ने जोखिम हुन्छ। यसलाई न टार्न सकिन्छ, न पूर्वानुमान गर्न। पूर्व मनसुन तथा मनसुनी वायु सक्रिय भएका वेला बादलमा हुने घर्षणबाट विद्युतीय लहर जमीनमा खस्छ, यसैलाई चट्याङ भनिन्छ। एक्कासी हुने यो विद्युतीय विस्फोटमा चर्को ध्वनि र निमेषभर प्रकाश पनि निस्किन्छ। विद्युतीय लहर आकाशबाट पृथ्वीमा आइपुग्दा त्यसको प्रकोपमा ठूलो धनजनको क्षति हुन्छ।
“विगत दुई सातायता गरिएको अध्ययनबाट के पत्ता लगायौं भने संसारमै चट्याङका तीन हटस्टपमध्ये नेपाल एक रहेछ ।”
अनिल पोखरेल, कार्यकारी प्रमुख, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
बितेको ९ वर्षमा मात्रै चट्याङबाट नेपालमा ९ सय २९ जनाको ज्यान गएको छ। सबैभन्दा धेरै २०६९ सालमा १ सय ३१ जनाले चट्याङबाट ज्यान गुमाएका थिए (हे. तथ्यांक)। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल अध्ययनबाट चट्याङको दृष्टिले नेपाल संसारकै उच्च जोखिममा रहेको देखिएको बताउँछन्। उनी भन्छन्, “विगत दुई सातायता गरिएको अध्ययनबाट के पत्ता लगायौं भने संसारमै चट्याङका तीन हटस्टपमध्ये नेपाल एक रहेछ।”
चट्याङका विषयमा अध्ययन गरेका अमृत साइन्स कलेजका प्राध्यापक डा. श्रीराम शर्मा चट्याङको जोखिममा रहेको तीन क्षेत्रमध्ये नेपाल एक भएको र अफ्रिकालाई छोड्ने हो भने बाँकी महादेशमा चट्याङबाट सबैभन्दा धेरै मृत्युदर भएको (प्रतिदश लाखमा) देश नेपाल रहेको बताउँछन्। उनका अनुसार, चट्याङको नक्शा हेर्दा अफ्रिकाको कङ्गो क्षेत्र सबैभन्दा जोखिममा देखिन्छ। त्यसपछि दक्षिण अमेरिकाको भेनेजुएला वरिपरिको क्षेत्र अर्को जोखिमयुक्त क्षेत्र हो। त्यसैगरी, दक्षिणपूर्वी एशियाका इन्डोनेसिया, मलेशिया हुँदै नेपाल तथा बंगालको खाडी क्षेत्र उस्तै जोखिमयुक्त रहेको प्राध्यापक शर्मा बताउँछन्।
चट्याङबाट सबैभन्दा धेरै अफ्रिकी देश मलावीका प्रतिदश लाखमध्ये ८४ जनाले बर्सेनि ज्यान गुमाउँछन्। “मलावीलाई छोड्ने हो भने बाँकी देशहरुमध्ये सबैभन्दा धेरै चट्याङबाट ज्यान गुमाउने देशमा नेपाल आउँछ, यहाँ बर्सेनि प्रतिदश लाखमा ३.७ जनाले चट्याङबाट ज्यान गुमाउँछन्”, डा. शर्मा भन्छन्।
भूकम्पलाई छोड्ने हो भने चट्याङ नेपालमा सबैभन्दा धेरै ज्यान लिने प्राकृतिक विपद् हो ।
प्रा. डा. श्रीराम शर्मा, चट्याङ विषयका अध्येता
चट्याङको दृष्टिले नेपालको पनि मकवानपुर जिल्ला सबैभन्दा धेरै जोखिमयुक्त छ। जस्तै, २०६८ देखि ७६ सालको बीचमा मकवानपुरमा मात्रै ७६ जनाले चट्याङ लागेर ज्यान गुमाएका छन्। त्यसपछि दोस्रोमा मोरङका ३९ र उदयपुरका ३४ जनाले ज्यान गुमाएका छन्। सरकारले यी तीन जिल्लासहितका वरिपरिका भूभागलाई चट्याङको जोखिम भएका क्षेत्रका रूपमा राखेको छ। विपद् व्यवस्थापन प्राधिकरणले हरेक वर्ष भएको मानवीय र अन्य क्षतिका आधारमा यी तीनसहित चितवन र झापा जिल्ला तथा यीसँग जोडिएका भूभागलाई जोखिमयुक्त क्षेत्रका रूपमा राखेको छ।
अरु प्राकृतिक विपत्तिले एकै ठाउँका धेरैलाई प्रभावित पार्छ, तर तिनको तुलनामा छरिएर फरक–फरक स्थानमा हुने भएकाले चट्याङबारे धेरै चर्चा हुँदैन। तर, प्राध्यापक डा. शर्मा भूकम्पलाई छोड्ने हो भने चट्याङ नेपालमा सबैभन्दा धेरै ज्यान लिने प्राकृतिक विपद् भएको बताउँछन्। यसले निम्त्याउने अन्य क्षति पनि सानो छैन। जस्तै, गएको भदौमा जुम्लाको तिला गाउँपालिकाको पाटन क्षेत्रमा चट्याङबाट २ सय ५० भेडा र जाजरकोटको कुशे गाउँपालिकामा २ सय २३ भेडा मरेका थिए। एक वर्षका बीचमा चट्याङबाट १ हजार २ सय जति घरपालुवा जनावर मरेको गृह मन्त्रालयको तथ्यांक छ। यस बाहेक घरमा क्षति, वनमा डढेलो जस्ता दुर्घटना पनि चट्याङले निम्त्याउँछ।
“कृषिमा आश्रित अधिकांश मानिस घरबाहिर काम गर्ने तथा भौगोलिक अवस्थितिका कारण नेपाल चट्याङका हिसाबले असाध्यै संवेदनशील अवस्थामा छ ।”
ङमिन्द्र दाहाल, जलवायु विज्ञ
जलवायु विज्ञ ङमिन्द्र दाहाल नेपालको भौगर्भिक अवस्थितिले चट्याङको जोखिम बढाएको देख्छन्। चट्याङ पर्दा बादलबाट प्रवाह हुने विद्युत् सामान्यतया अग्लो भूभाग वा संरचनामा खस्छ। नेपालका औसत पहाडहरुको उँचाइ नै ३ हजार मिटर हाराहारीसम्म छ। बादलमा हुने घर्षणबाट उत्पन्न हुने विद्युतीय चार्जको सम्बन्ध जमीनको तापसँग हुन्छ, जसले गर्दा उँचाइमा त्यो विद्युत प्रवाह हुन्छ। जलवायुविज्ञ दाहाल भन्छन्, “कृषिमा आश्रित अधिकांश मानिस घरबाहिर काम गर्ने तथा भौगोलिक अवस्थितिका कारण नेपाल चट्याङका हिसाबले असाध्यै संवेदनशील अवस्थामा छ।”
जलवायु परिवर्तनसँग सम्बन्ध
बदलिंदो जलवायुसँगै चट्याङको प्रकोप बढ्दै गएकाले यसको जोखिम अझ बढ्दै जाने प्रा. डा. शर्मा बताउँछन्। उनका अनुसार, जलवायु परिवर्तनसँग चट्याङको सोझै सम्बन्ध छ। चट्याङ पर्न बादलमा विद्युतीय चार्ज उत्पन्न हुनुपर्छ। त्यस्तो विद्युतीय चार्ज उत्पन्न हुन पानीका कणबीचमा घर्षण चाहिन्छ, जुन घर्षणको प्रमुख कारक तत्व जमीनको तापक्रम हो। डा. शर्मा व्याख्या गर्दै भन्छन् “त्यसैले जति जमीन तात्दै गयो, उति बादलमा घर्षण भएर चट्याङको जोखिम बढ्छ।” त्यसैकारण, जमीनमा गर्मी बढेको चैत–वैशाखपछि चट्याङको प्रकोप हुने उनी बताउँछन्।
सन् २०१४ मा प्रकाशित एक अध्ययनले १ डिग्री सेल्सियस तापक्रम बढ्दा १२ प्रतिशत चट्याङको जोखिम बढ्ने देखाएको थियो। यसको अर्थ, पृथ्वी तात्दै जाँदा आगामी वर्षहरूमा चट्याङको जोखिम थप बढ्दै जान्छ।
जलवायुविज्ञ दाहाल चट्याङको जोखिम हटाउन र समयको ठ्याक्कै पूर्वानुमान पनि गर्न नसकिने भएकाले यसबाट जोगिनुको विकल्प नरहेको देख्छन्। घरमा तामाको अर्थिङ राख्दा यसको जोखिमबाट बचिन्छ। अर्थिङले चट्याङबाट प्रवाह भएको विद्युतलाई तामाको तार हुँदै जमीनमुनि पुर्याएर वरिपरि हुनसक्ने दुर्घटना टारिदिन्छ। ठूला संरचना, भवन, विद्युतका पोल, दूरसञ्चार संरचना आदिमा अर्थिङ राखिए पनि आवासीय घरमा यसको चलन अझै व्यापक हुन सकेको छैन।
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा स्टेशन राखेर सम्भावित चट्याङबारे पूर्वसूचना दिंदै आएको छ। यी स्टेशनले बादलको अवस्था हेरेर बिजुली चम्किएपछि मात्रै चट्याङ पार्ने बादल विकास भइरहेको पूर्वसूचना दिन्छन्, कहाँ र कतिवेला चट्याङ पर्छ भन्ने जानकारी दिन सक्दैनन्। त्यसैले यसबाट बच्न पूर्वतयारी नै महत्वपूर्ण रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल बताउँछन्। “मौसममा उतारचढाव आएर बादल गड्याङगुडुङ शुरू हुनेबित्तिकै घरभित्र बसिदिए मात्रै पनि अहिले मर्नेमध्ये आधाको ज्यान जोगिन्थ्यो”, पोखरेल भन्छन्, “जोखिममा परेका क्षेत्रमा हामी सचेतना कार्यक्रम अगाडि बढाउँदैछौं।
सन् २०१४ मा प्रकाशित एक अध्ययनले एक डिग्री सेल्सियस तापक्रम बढ्दा १२ प्रतिशत चट्याङको जोखिम बढ्ने देखाएको थियो। यसको अर्थ, पृथ्वी तात्दै जाँदा आगामी वर्षहरूमा चट्याङको जोखिम थप बढ्दै जान्छ।
चट्याङमा विद्युतको प्रवाह हुने भएकाले यो सुचालक र अर्ध सुचालक वस्तुमा मात्र हिंड्छ। जस्तैः रुख, फलामका संरचना आदि विद्युतका सुचालक हुन्। त्यसैले आकाशमा गड्याङगुडुङ सुनेपछि घरभित्र पस्ने, पौड्ने, माछा मार्ने जस्ता क्रियाकलाप नगर्ने, खुला मैदानमा नबस्ने, केही गरी खुला ठाउँमा भए दुई घुडाँबीच टाउको लुकाई बस्ने जस्ता सुरक्षाका उपाय अपनाउन जानकारहरू सुझाउँछन्। मेघ गर्जन थालेपछि घरभित्र समेत विद्युतीय सामग्री प्रयोग नगर्न, धारा खोलेर पानी प्रयोग नगर्न, केबुल तथा एन्टेनाको तार उपकरणबाट छुटाउन तथा झ्यालढोका बन्द गरी भित्ताबाट टाढै बस्न सुझाव दिइन्छ।
कसरी पर्छ चट्याङ ?
सूर्यको तापक्रमले तातिएको जमीनको सतह तथा जलाशयबाट पानीका कण बाफ बनेर उड्दै आकाशमा पुग्छन्। पानीका कण वाष्पीकरण भएर आकाशमा पुगेपछि बन्ने बादललाई हावाले गतिमान बनाउँछ। गतिमान बादलभित्र पानीको बाफ विभिन्न तह र तापक्रममा बसेका हुन्छन्। बादलको तह बाक्लो भएर प्रकाश छिर्न नसक्ने भएपछि यो कालो देखिन्छ।
तापक्रमको भिन्नताका कारण कालो बादलको एक तहमा पानी हुन्छ भने अर्को तहमा बरफ। तिनीहरू ब्याट्रीका फरक दुई ध्रुव जस्तो धनात्मक र ऋणात्मक दुई भागमा बाँडिएर बस्छन्। तिनीहरूबीच घर्षण उत्पन्न भएर विद्युतीय चार्ज उत्पन्न हुन्छ। जब चार्जको मात्रा बढ्दै जान्छ, त्यो बादलले धान्न नसकेर चट्याङको रूपमा विद्युतीय लहर आफ्नै बाटो बनाएर पृथ्वीको सतहसम्म आइपुग्छ। यद्यपि सबै चट्याङ पृथ्वीसम्म आइपुग्दैनन्। आइपुग्नेमध्ये पनि केहीले नोक्सानी गर्छन्। प्राध्यापक डा. शर्मा करीब एक तिहाइ मात्रै चट्याङ जमीनमा आइपुग्ने र बाँकी बादलमै सीमित रहने बताउँछन्।