बलिउड अभिनेता इरफान खानको निधन
बलिउडका चर्चित अभिनेता इरफान खानको निधन भएको छ।
मंगलबार स्वास्थ्य स्थिति एकाएक बिग्रिएपछि उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालमा आईसीयूमा भर्ना गरिएको थियो। ५३ वर्षीय खानको उपचारकै क्रममा बुधबार निधन भएको हो।
उनको निधनसँगै बलिउड गहिरो शोकमा परेको छ। ७ जनवरी १९६७ मा भारतको राजस्थान जयपुरमा जन्मिएका इरफानले तीन दशक फिल्म करिअरमा बिताए। जीवन्त अभिनय गर्ने क्षमताका कारण उनी समीक्षक र दर्शकमाझ प्रिय थिए।
सन् २०१८ मा उनलाई न्यूरोएन्डक्रिन ट्यूमर क्यान्सर भएको पत्ता लागेको थियो। बेलायतमा करीब एक वर्ष उपचार गराई उनी भारत फर्केका थिए। फर्किएपछि उनले 'अंग्रेजी मिडियम' (२०२०) फिल्ममा अभिनय गरेका थिए। उक्त फिल्म गएको १३ मार्चमा रिलिज भएको थियो।
इरफानकी आमा सइदा बेगमको केही दिनअघि मात्र राजस्थानमा निधन भएको थियो। लकडाउनका कारण उनले आमाको अन्तिम संस्कारमा जान पाएनन्। इरफानका श्रीमती र दुई छोरा छन्।
सन् १९८८ मा मीरा नायरको 'सलाम बम्बे' बाट बलिउडमा अभिनय यात्रा शुरु गरेका इरफानले 'पानसिंह तोमर' (२०१२), 'द लन्चबक्स' (२०१३), 'हैदर' (२०१४) लगायत ८० भन्दा बढी फिल्ममा काम गरेका छन्।
उनले ब्रिटिश फिल्म र हलिउडमा पनि काम गरेका थिए। 'द वरियर' (२००१), 'द नेमसेक' (२००६), 'स्लमडग मिलेनायर' (२००८), 'द एमेजिङ स्पाइडरम्यान' (२०१२), 'लाइफ अफ पाई' (२०१२), 'जुरासिक वर्ल्ड' (२०१५) लगायत अन्तर्राष्ट्रिय फिल्ममा उनले अभिनय गरेका थिए।
उनले सन् २०११ मा भारत सरकारबाट प्रतिष्ठित पद्मश्री सम्मान पाएका थिए।