नेकपामा सचिवालयको पर्खाइ, ओली इतर सांसदहरुको हस्ताक्षर संकलन स्थगित
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धेरैजसो सांसद काठमाडौं आइपुगेका छन् । कोभिड–१९ महामारी रोकथामका क्रममा आफ्नो निर्वाचन क्षेत्रतिर गएका सांसद पनि काठमाडौं आएका हुन् । पार्टीभित्र विवाद चर्किएपछि केही सांसदहरु आफैं आएका छन् भने केहीलाई बोलाइएको हो ।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसदलाई केही दिनअगाडि नै काठमाडौं बोलाइएको थियो । प्रधानन्त्री निकट नेताहरुले फोन गरेर आफू निकट सांसदहरुलाई काठमाडौं बोलाएका छन् ।
काठमाडौंमा रहेका र आइपुगेका सांसदसँग सोमबार साँझ नै प्रधानमन्त्री ओलीले बालुवाटारमा भेला राखिसकेका छन् । नेता माधवकुमार नेपाल निकट धेरैजसो सांसद पनि काठमाडौं आइसकेका छन् । बालुवाटारमा प्रधानमन्त्रीले आफू निकट सांसदहरुको भेला राखेपछि नेता नेपाल निकट नेताले पनि हस्ताक्षर अभियान शुरु गरेका थिए ।
तर, बुधबार सचिवालय बैठक बोलाइएपछि हस्ताक्षर संकलन भने रोकिएको छ । नेता नेपाल निकट स्रोतका अनुसार, सचिवालय बैठकको निर्णय पछि आवश्यक परे मात्रै हस्ताक्षर संकलन गर्ने गरी स्थगित गरिएको हो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निकटका केही सांसदहरुले हस्ताक्षर गर्न नमानेकाले पनि सचिवालय बैठक कुर्ने तयारीमा पुगेको देखिन्छ ।
यद्यपि, दाहाल–नेपाल निकट नेता एवम् सांसदहरु लगातार विभिन्न भेला तथा छलफलमा व्यस्त छन् । बुधबार पनि बिहानैबाट नेताहरु छलफलमा जुटेका छन् ।
आ–आफ्नै तयारी
दाहालसँग मंगलबार दुई घण्टा बढी छलफल गरेपछि ओलीले बुधबार साँझ सचिवालय बैठक बोलाएका छन् । अध्यादेश प्रकरण पछाडि सचिवालयका बहुमत सदस्यले बैठक माग गर्दै आएका छन् ।
१२ वैशाखको भैसेपाटी भेला यता सचिवालयका नेताहरु अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र विष्णुप्रसाद पौडेलले सचिवालय बैठकमै पार्टी र सरकारबारे छलफल हुनुपर्ने बताउँदै आएका छन् ।
यो भेला प्रधानमन्त्री र पार्टी अध्यक्ष हटाउने तयारीका रुपमा बुझेपछि ओलीले भने सचिवालय बैठक टार्ने तयारी गरेका थिए । तर, ओली निकटकै नेताहरु भएर दाहाल र नेपाल पक्षसँग विभिन्न चरणमा छलफल भइसकेको छ ।
बालुवाटार स्रोतका अनुसार, सचिवालय बैठकमा प्रधानमन्त्री ओली लचकता अपनाउन तयार हुने प्रस्ताव ल्याउँदैछन् । सोमबार साँझको भेलामै सचिवालयका एजेण्डाबारे धेरै छलफल भएको छ । असन्तुष्ट पक्षलाई सम्बोधन गर्न विभिन्न प्रस्तावमाथि ओली छलफलमा बस्नेछन् । तर, सचिवालयमा सहमति हुन नसके संसदीय दलको बहुमतबाट प्रधानमन्त्री र अध्यक्ष पद जोगाउने तयारी बालुवाटार भेलाले गरिसकेको छ ।
ओली निकट एक नेता, संसदीय दलमा प्रधानमन्त्री ओलीको पक्षमा बहुमत पुग्ने बताउँछन् । उनी भन्छन्, “पूर्व माओवादीका झण्डै १५ जना र नेता नेपाल निकटका पाँच छ जना सांसद यही सरकारको पक्षमा उभिने निश्चित छ ।” लेखराज भट्ट लगायत केही सांसदहरुको अभिव्यक्तिले पनि ओली निकट नेताहरुलाई विश्वास बढाएको छ । बालुवाटार भेलाले आफ्नो पक्षमा ओलीको पक्षमा ८७ जना उभिने निष्कर्ष निकालेको थियो ।
तर, ओली इतरका समुहको तयारी पनि उस्तै छ । प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक छोडेमा सहमति हुनसक्ने संकेत गरेको यो समूह हस्ताक्षर संकलन रोकिए पनि जुनसुकै बेला संसदीय दलमा ओलीलाई अल्पमतमा पार्न सक्ने दावी गर्छन् ।
१७४ सांसद रहेको नेकपामा तत्कालीन एमाले पक्षका १२१ र माओवादी पक्षका ५३ सांसद छन् । त्यस मध्ये ओली निकट ७८ र नेपाल निकटका ४३ सांसद हुन् । तर, यो पुरानो निकटता अहिले बदलिसकेको दुवै पक्षले दावी गर्दै आएका छन् ।