महामारीमा माल्दिभ्समा फसेका नेपाली
पर्यटन उद्योग मासिएपछि माल्दिभ्समा काम गरिरहेका नेपाली स्वदेश फिर्ता हुने अपेक्षा गर्दागर्दै संकटमा परेका छन् ।
विदेशमा गएर काम गर्ने नेपाली श्रमिकहरूमध्ये ९० प्रतिशत पश्चिम एशिया र मलेशियामा छन् तर माल्दिभ्स जस्ता देशहरू पनि छन् जहाँको पर्यटन उद्योगमा करीब ५ देखि १० हजार नेपाली कार्यरत छन् । तिनीहरू पनि विश्वव्यापी कोरोना महामारीबाट प्रभावित भएका छन् ।
एटोल द्वीप समूह देशका रिसोर्टहरूमा नेपाली श्रमिकहरू लोकप्रिय भएर काम गरिरहेका छन् । त्यहाँ उनीहरूले कामप्रति देखाएको निष्ठा र नैतिकताका कारण ठूलो साख कमाएका छन् ।
अघिल्लो वर्ष मात्र होटल र हाउसमेड्सका रूपमा काम गर्न आएका दुई हजार नेपाली श्रमिकले माल्दिभ्स छाडेका थिए । सन् २०१५ को तुलनामा यो लगभग चार गुणा बढी हो ।
तर यी केही काम महामारीको कारण जोखिममा छन् । माल्दिभ्समा १९१ जनालाई कोभिड–१९ संक्रमण भएको सुनिश्चित भएको छ । तीमध्ये १०२ जनाभन्दा बढी विदेशीहरू छन् । जसमा ८४ बङ्गलादेशी हुन् भने १० जना भारतीय । नेपालीहरू अहिलेसम्म जोगिएकै छन् तर साँघुरो वासस्थानका कारण असुरक्षित हुने खतरा पनि त्यतिकै छ ।
आफ्नो पहिलो नाम मात्र प्रयोग गर्न चाहने रीता चार वर्षदेखि माल्दिभ्समा काम गरिरहेकी छन् । उनी भन्छिन्, “समग्रमा नेपालीले माल्दिभ्समा राम्रो छाप छाडेका छन्, तर कोरोना भाइरसका कारणले पर्यटन ध्वस्त भएको हुँदा नेपाली कामदारहरूलाई प्रत्यक्ष असर परेको छ ।”
नेपालकै जस्तो, माल्दिभ्सले पनि सन् २०२० मा २० लाख पर्यटक आकर्षित गर्ने लक्ष्य लिएको थियो । अघिल्लो वर्ष १७ लाख (१.७ मिलियन) पर्यटकले यस देशको भ्रमण गरेका थिए । पर्यटनले माल्दिभ्सको जीडीपीको दुईतिहाइ हिस्सा ओगटेको छ र यसबाट गत वर्ष २.५ अर्ब (२.५ विलियन डलर) भित्रिएको थियो ।
माल्दिभ्सको प्रतिव्यक्ति जीडीपी १० हजार ३३० अमेरिकी डलर छ । यो यस क्षेत्रकै सबैभन्दा बढी र नेपालको तुलनामा दश गुणा बढी हो । तर विश्व बैंकले यो दक्षिण एशियाली देशलाई कोभिड–१९ संकटले सबैभन्दा बढी प्रभावित पार्ने प्रक्षेपण गरेको छ । माल्दिभ्स सरकारले पर्यटकहरूका लागि जुलाईदेखि भिसा जारी गर्न सकिने अपेक्षा गरेको छ । स्थिति राम्रो भए पनि सन् २०२० मा पर्यटन खस्केर आधा भन्दा कम हुने अनुमान गरिएको छ ।
एउटा लक्जरी रिसोर्टमा काम गर्ने एक नेपाली श्रमिकले हामीलाई फोनमा माल्दिभ्स सरकारले विदेशी कामदारहरूलाई स्थानीयसरह व्यवहार गरिने आश्वासन दिएका छन् । रोजगारदाताहरूले उनीहरूलाई रिसोर्टमा भोजन र आवास प्रदान गरिरहेका छन् वास्तवमा त्यसले ठूलो राहतको काम गरेको छ ।
यद्यपि उनी भन्छन्, “केही कर्मचारीले पूरै तलब पाइरहेको भए पनि कतिपयले आंशिक मात्र पाइरहेका छन्, यसले केही श्रमिकलाई चिन्तित बनाएको छ ।”
केही होटल व्यवस्थापनले श्रमिकहरूलाई पर्यटन उद्योग यथास्थितिमा नआउन्जेल बेतलवी बिदा लिएर घर जान भनेका छन् । नेपाली समुदायले गरेको सर्वेक्षणमा ३१९ जनाले आफ्नै खर्चमा भए पनि नेपाल फर्कने इच्छा व्यक्त गरेका छन् । नेपाल सरकारले यात्रा प्रतिबन्ध हटाए त्यहाँ फर्कन चाहनेहरू भने धेरै रहेका छन् ।
रीता भन्छिन्, “हामी यहाँ काम गर्न आएका छौं । पर्यटन बाहेक यहाँ अर्को कुनै काम छैन र काम विना यहाँ बस्नुको अर्थ पनि छैन ।” उनले अहिले आधा तलब पाइरहेकी र दिनभर नेट सर्फिङ गरेर समय बिताइरहेकी छन् । उनी भन्छिन्, “तर मेरो अवस्था अझै खराब हुनसक्थ्यो भन्ने पनि मलाई थाहा छ ।”
रिसोर्टमा काम गर्ने अर्का नेपाली श्रमिक सहमत हुँदै भन्छन्, “हामीलाई बस्ने कोठा र खाने सुविधाका अतिरिक्त ३० प्रतिशत तलब दिइएको छ । पर्यटन कहिलेसम्म प्रभावित हुन्छ भन्ने पनि थाहा छैन र हामीले गर्ने काम केही छैन भने यहाँ किन बस्ने ?”
माल्दिभ्सको खाद्य आपूर्ति व्यवस्थामा आउन सक्ने व्यवधान र अझै केही महीना यहाँको पर्यटन प्रभावित हुन्छ कि भनेर श्रमिकहरू चिन्तित भएका छन् । उनीहरू राजधानी मालेबाट धेरै टाढा भएकाले बिरामी भइहाले यातायातको सुविधा पाउन कठिन हुनसक्छ ।
माल्दिभ्सको ध्यान विशेषगरी बाङ्लादेशीहरूमा छ । तिनीहरू एक लाख जति छन् र त्यो प्रवासी श्रमिकको ठूलो संख्या हो । तिनीहरू धेरैजसो मालेमा छन् र उनीहरूका कारण संक्रमण हुने जोखिम उच्च छ । सरकारले शहरमा भीड कम गर्न उनीहरूलाई स्थानान्तरण गरिरहेको छ । बाङ्लादेश सरकारले आफ्ना नागरिकको उपचारका लागि हालै १०० टन स्वास्थ्य उपकरण र १० जना चिकित्साकर्मीहरू पठाएको छ ।
एउटा रिसोर्टमा सुरक्षा गार्डको काम गरिरहेको सात नेपालीलाई माले पठाइएको थियो । उनीहरूलाई त्यो महँगो शहरमा टिक्न गाह्रो परेको थियो । तिनैमध्येका एक जसले आफूलाई राम भनेर चिनाए, उनले फोनमा भने “यहाँ बस्न एक रातको ५० डलर खर्च हुन्छ र नेपाली समुदायले खाना खान सहयोग गरिरहेका छन् तर यसरी कहिलेसम्म टिक्न सकिन्छ ? यदि लकडाउन लामो समयसम्म रहिरह्यो भने के होला ?”
कोलम्बोमा रहेको नेपाली दूतावासमा समस्या समाधानका लागि गरिएका प्रयास सार्थक हुनसकेका छैनन् । मालेस्थित नेपाली समुदायका नेताका अनुसार यस्ता संकटका वेला मालेमा एउटा आवसीय दूतावास वा कम्तीमा वाणिज्य कन्सुलेटको टड्कारो आवश्यकता महसूस भएको छ ।
लकडाउन नहटुन्जेल माल्दिभ्स, सेसेल्स र मौरिसस जस्ता देशका सेवा उद्योगमा कार्यरत नेपाली श्रमिकलाई चरणवद्ध रूपमा स्वदेश ल्याउने कार्यले प्राथमिकता पाउने छैन । यी देशहरूमा अन्यत्र भन्दा कम संख्यामा रहेका कारणले त्यस्तो भएको हो ।
जब उनीहरू फर्किन प्रतीक्षा गरिरहेका हुन्छन्, त्यसवेला समुदायका नेताहरू भन्छन्, “कोही नेपाली भोकै नपरुन्, आवासविहीन नहोउन् र स्वास्थ्य सेवामा पहुँच पुगेको छैन भन्ने अवस्था पनि नभएको सुनिश्चित गर्नु महत्वपूर्ण छ ।”
हरि भन्छन्, “जब श्रमिक अन्ततः नेपाल फर्किन्छन्, त्यतिवेला कतिले उच्चस्तरीय रिसोर्टमा काम गरेको अनुभव सँगालेका हुन्छन् । माल्दिभ्सबाट विशेषगरी लक्जरी पर्यटनबारे धेरै कुरा सिकेका हुन्छौं । अवस्था सामान्य भएपछि त्यहाँ सिकेका धेरै कुरा यहाँ कार्यान्वयन गर्न सक्छौं ।”