स्कटल्याण्डको सबैभन्दा ठूलो परिवारका मूली संक्रमित
स्कटल्याण्डले कोरोनाभाइरस संक्रमण रोक्न बन्दाबन्दी घोषणा गरेपछि श्रीमती एम्मा हानले आफ्ना बच्चालाई त्यसबारे जानकारी दिइन्। साथै घरभित्र पनि नियममा रहन बच्चाका लागि समयतालिका बनाइन्। उनीहरुलाई भुलाउन विभिन्न कार्यक्रमको योजना पनि बनाइन्।
उनका श्रीमान् राय हान नाइनवेल्स अस्पतालमा नर्स छन्। राय र एम्मा हानका १३ बच्चा छन्। ती पाँचदेखि २८ वर्षका छन्। तर, अहिले १० बच्चा मात्र उनीहरुसँग छन्। यो स्कटल्याण्डकै सबैभन्दा ठूलो परिवार हो।
राय दैनिक अस्पतालको काममा जाने भएकाले कोरोनाभाइरस संक्रमण फैलन थालेपछि आफ्ना परिवारलाई त्यसबाट जोगाउन उनलाई चुनौती थियो। परिवारमा जति नै नियम बनाए पनि लागू गर्न समस्या भएकाले उनीहरुलाई बच्चा सुरक्षित राख्न मुस्किल भइरहेको छ।
यसैबीच ५० वर्षीय राय हानलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ। उनी घरैमा क्वारेन्टिनमा छन्। आफूलाई सुपरमाकेैटबाट संक्रमण फैलिएको हुनसक्ने उनको आशंका छ।
श्रीमान् क्वारेन्टिनमा बसेपछि ४७ वर्षीया एम्मालाई बच्चाको स्याहार गर्ने जिम्मेवारी आएको छ। उनको घरमा हरेक दिन २८ लिटर दूध, सिरियलका पाँच डिब्बा तथा २१ वटा ब्रेड चाहिन्छ। तर, सरकारले सुमरमार्केटमा व्यक्तिगत दूरीको नियम लगाएर सामान खरिदमा पनि सीमा तोकिदिएकाले अप्ठेरो परेको एम्माले बताएकी छिन्।