मुम्बईमा कोरोनाभाइरस संक्रमित एकै परिवारका आठ नेपाली निको भए
-बीबीसी नेपाली सेवा
कोरोनाभाइरस सङ्क्रमण भएका प्रवासी नेपालीको एउटै परिवारका आठ सदस्य निको भएका छन्। अछामको चैरपाटी घर भइ भारतको मुम्बइमा बस्दै आएका घरमुली, उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजा संक्रमणमुक्त भएका हुन्।
उनीहरु झण्डै साढे तीन साता अस्पताल बसेपछि घर फर्किएका छन्। उनीहरुको तीनवटा अलगअलग अस्पतालमा उपचार भएपछि अहिले दक्षिण मुम्बईको आफ्नो घरमा आराम गरिरहेका छन्।
परिवारका मूलीका अनुसार कार चलाउने काम गर्ने उनका माइलो भाइलाई भारतमा बन्दाबन्दी घोषणा गर्नुअघि नै ज्वरो आइरहेको थियो। विभिन्न अस्पतालमा जाँच गराएर औषधि खाँदा समेत ज्वरो आउने, छाति दुख्ने र टाउको दुख्ने क्रम रोकिएन।
त्यसपछि उनले भाइमा कोरोनाभाइरस रहे या नरहेको परीक्षण गराउने निधो गरे। परीक्षण पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको थियो।
त्यसबेलासम्म परिवारका अरू सदस्यलाई पनि हात खुट्टा पोल्ने, श्वास प्रश्वासमा बाधा हुने जस्ता लक्षण देखिन थालेको थियो। परिवारका सबै ११ जनाको परीक्षण गराउँदा उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजा गरी थप सात जनामा पनि सङ्क्रमण देखिएको थियो।
आफ्ना १२ वर्षे छोरा, भाइबुहारी र भतिजी बाहेक परिवारका सबैमा संक्रमण देखिएको उनले बताए। उनले भने, “सानोतिनो रोगबाहेक अस्पतालको गेट नै नदेखेका श्रीमती, छोरीहरू अनि सिङ्गो परिवारलाई नै कोरोनाभाइरसको सङ्क्रमण देखिँदा डर र चिन्ता दुवै लाग्यो।” उनले यो समय आफूले जिन्दगीमा अहिलेसम्मकै सबैभन्दा ठूलो कष्ट बेहोरेको अनुभूति भएको बताएका छन्।
यसअघि सवारी दुर्घटनामा परेर बाँच्न सफल परिवारका मूली उनले आफूले तेश्रो जीवन पाएको बताए। उनीहरुको मुम्बईका ट्रमा, कस्तुरवा र पीडब्लू अस्पतालमा उपचार भएको थियो।
उनीहरू २२ देखि २५ दिनसम्म अस्पतालमा बसेका थिए। परिवारका सदस्यहरूलाई अलगअलग राखेकाले एक अर्काको स्वास्थ्यलाई लिएर परिवारका सदस्यहरूमा चिन्ता भएको घरमूली बताउँछन्। मोबाइलबाट एर्कासँग कुरा भने गरिरहेका थिए।
रोग लागेपछिको अवस्थामा पनि आत्मबल बलियो बनाएकाले कोरोनाभाइरसबाट आफ्नो परिवारले पार पाएको उनले बताए। उनी भर्ना भएको एउटै वार्डमा उनी जस्तै कोरोनाभाइरसको सङ्क्रमण देखिएका ४८ बिरामी भर्ना गरिएको उनी बताउँछन्।
सबैभन्दा सुरूमा घरमूलीलाई नै कोरोनाभाइरस सङ्क्रमणमुक्त भएको रिपोर्ट आएको थियो। सबैभन्दा अन्त्यमा उनकी श्रीमती, दुई छोरी र भाइमा कोरोनाभाइरस नेगेटिभ देखिएको थियो।
बन्दाबन्दीपछि नेपाल आउने चाहना
परिवारका सबैजना सङ्क्रमणमुक्त भएपछिको खुसी आफूले शब्दमा व्यक्त गर्न नसक्ने उनी बताउँछन्। उनले हिन्दु विधि अनुसार पूजापाठ गरेर परिवारका सबै सदस्यहरू दक्षिण भारतको मुम्बई स्थित गिरगाउँ चौपट्टीमा रहेको घरमा प्रवेश गरेको र पहिलाजस्तै एकजुट भएर रमाएको उल्लेख गरे।
४२ वर्षीय घरमूली झण्डै तीन दशक अघि बाल्यकालमा नै घरबाट भागेर रोजगारीका लागि मुम्बई पुगेका थिए। पढ्ने उमेरमा त्यहाँ पुगेका उनी हाल व्यवसाय चलाउँछन् जसले सुरक्षा गार्डहरूको आपूर्ति गर्छ। त्यसबाहेक भारतभरि झण्डै २०० वटा नेपाली साँस्कृतिक कार्यक्रम आफूले आयोजना गरेको उनी बताउँछन्।
कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएपनि अहिले उनको परिवार आफ्नो घरमै क्वारन्टीनमा छ। बन्दाबन्दी खुलेर अवस्था सामान्य भएपछि अछामस्थित आफ्नो गाउँ आउन चाहेको पनि उनी बताउँछन्। ूसम्पुर्ण नेपालीहरूलाई आआफ्नो ठाउँमा सुरक्षित बस्न र बन्दाबन्दी पालना गर्न पनि उनले आग्रह गरेका छन्।