बन्दाबन्दीमा एकाएक देखिएको के हो यो सुरक्षा उपकरण ? कहाँबाट भित्रियो ?
प्रहरीले समेत ‘प्रहरी सनासो’ नाम दिएको यो उपकरण सात वर्षअघि नै नेपाल भित्रिएको थियो, त्यो पनि कोरोनाभाइरसको उत्पतिस्थल चीनबाटै ।
सरकारले कोभिड १९ महामारी रोकथामका लागि ११ चैतदेखि देशभर बन्दाबन्दीको घोषणा गर्यो । बन्दाबन्दी पूर्णरुपमा पालना गराउन प्रहरीले पहिलो प्राथमिकतामा काठमाडौं उपत्यकालाई राख्यो । यसका लागि गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र उपत्यका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेल पटक–पटक बैठक बसे ।
देशभर बन्दाबन्दी पालना गराउन पहिलो पक्तिमा प्रहरी खटिएको थियो । संक्रमित व्यक्तिमा छुँदा मात्र पनि सर्ने जोखिम भएको यो महामारीको त्रास प्रहरीमा नहुने कुरै भएन । तर, प्रहरीले बन्दाबन्दी उल्लंघन गर्नेलाई टाढैबाट निर्देशन दिएर, तर्साएर नियन्त्रण गर्न सम्भव थिएन ।
भइदियो त्यस्तै, बन्दाबन्दीको पहिलो दिनको अनुभवले नै प्रहरी अधिकारी र जवानमा असहज उत्पन्न भयो । उनीहरुले यो महामारीमा छोएर पहिले जसरी उल्लघंनकर्तालाई नियन्त्रणमा लिन सकिने अवस्था नरहेको गुनासो माथिल्लो तहलाई गराए ।
यो कुरा महानिरीक्षक ज्ञवालीको सचिवालयसम्म पुग्यो । तर, प्रहरीसँग यसको समाधान थिएन । किनभने, यस्तो अवस्था पहिले कहिल्यै आएकै थिएन ।
“हाम्रो पहिलो प्राथमिकता फिल्डमा खटिने प्रहरीको सुरक्षा थियो,” डीआईजी पोखरेल भन्छन, “यही बेला हामीसँग नछोई पनि व्यक्तिलाई नियन्त्रण गर्ने केही उपकरण छ भन्ने खबर प्रहरी प्रधान कार्यालयबाट आयो। ।”
त्यो उपकरण थियो, पक्राउ र उद्धारमा प्रयोग गरिने बहुउद्देश्यीय उपकरण (मल्टी फङ्सनल अरेस्ट एण्ड रेस्क्यु डिभाइस) ।
तर भनिएको उपकरण कहाँ छ ? यकिन थिएन । भण्डारमा खोजियो तर भेटिएन । खोजीकै क्रममा उपकरण नगर प्रहरी, भृकुटीमण्डपमा रहेको पत्ता लाग्यो। । मात्र १५ वटा, प्रयोगविहीन, थन्काइएको अवस्थामा ।
यो त्यही उपकरण हो, जुन अहिले बन्दाबन्दीमा हिडिरहेकाहरुलाई नियन्त्रण गर्न प्रहरीले प्रयोग गरिरहेको छ । झट्ट हेर्दा सनासो जस्तै देखिने यो उपकरण अहिले प्रहरीकै भाषामा पनि ‘प्रहरी सनासो’ बनेको छ ।
मान्छेलाई तीन मिटर परैबाट नियन्त्रणमा लिनसक्ने यो उपकरणमा लक सिस्टम पनि छ, जसले नियन्त्रणमा लिएको ब्यक्ति भाग्न पाउदैन् ।
दूरी पनि कायम हुने, संक्रमण पनि रोकथाम हुने ।
बन्दाबन्दीको तेस्रो दिनदेखि प्रहरीले प्रयोगमा ल्याएको यही उपकरणको सिको जिल्लाका प्रहरी कार्यालयहरुले पनि गर्न थाले । तर, जिल्लामा देखिएको यो उपकरण भने स्थानीयस्तरमै बनाइएको हो ।
चीनबाटै ल्याइएको उपकरण
संयोग पनि कस्तो, चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि प्रयोग भइरहेको यो उपकरण पनि प्रहरीले चीनबाटै आयात गरेको हो ।
२०७० साल । देशमा संविधानसभाको दोस्रो निर्वाचन सकिएको थियो । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल थिए भने प्रबन्ध विभागमा राजेन्द्रसिंह भण्डारी ।
त्यसबेला प्रहरीलाई हातहतियार खरिदका लागि बजेट आएको थियो । तर प्रहरीका उच्च अधिकारीहरु भने हतियार र गोलाबारुद भन्दा भिड नियन्त्रणका उपकरण आवश्यक रहेको निष्कर्षमा पुगे । किनभने, भीड नियन्त्रणमा प्रहरीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको आरोप लाग्दै आएको थियाे ।
प्रहरीको अन्वेषण तथा योजना निर्देशनालयले तयार गरेको ‘नेपाल प्रहरीको ब्यवसायिक सुधारको रणनीतिक योजना’मा समेत भिड नियन्त्रण उपकरणसहित प्रहरीलाई मानवअधिकारको परिपालना गर्न गराउन आवश्यक रहेको औल्याइएको थियो ।
“२०७० को अन्त्यतिर हुनुपर्छ, म चीन भ्रमणमा थिएँ । त्यहाँ भिड नियन्त्रणका धेरै उपकरणहरुमध्ये केही हाम्रा लागि पनि उपयोगी देखिए,” अवकाशप्राप्त एआईजी राजेन्द्रसिंह भण्डारी भन्छन्, “अहिले सनासो भनिएको उपकरणसहित केही उपकरण त्यही बेला नमूनाका रुपमा खरिद गरिएका हुन् ।”