बन्दाबन्दीको एक महीनाः कैलालीमा १२ महिलाद्वारा आत्महत्या, पाँच घटनामा दुरुत्साहनको जाहेरी
बन्दाबन्दी शुरु भएयताको एक महीनामा कैलालीमा एक किशोरीसहित १२ महिलाले आत्महत्या गरे। आत्महत्या गरेका ११ विवाहितामध्ये ५ वटा घटनामा माइती पक्षले ‘आत्महत्या दुरुत्साहन’ को अभियोगमा श्रीमान् विरुद्ध जाहेरी दिएका छन्।
उन्नती चौधरी, कैलाली
घटना १
कैलालीको घोडाघोडी नगरपालिका–५ की २३ वर्षीया तुल्सी घर्ती क्षत्री (चौधरी) ले नयाँ वर्षको पहिलो दिन आत्महत्या गरिन्। लालबहादुर चौधरीसँग विवाह गरेकी उनी एक सन्तानकी आमा थिइन्।
तुल्सीकी आमा बेलमती क्षत्रीले छोरीले आत्महत्या गरेको पत्याउन सकिनन्। ज्वाइँकै कारण आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा लालबहादुर विरुद्ध किटानी जाहेरी दिएकी छिन्। उनले जाहेरीमा लेखेकी छिन् “मेरो छोरी गर्भवती हुँदा ज्वाइँले गर्भमा भएको सन्तान मेरो होइन भन्ने आरोप पटकपटक लगाउने गरेका थिए। छोरीमाथि शारीरिक तथा मानसिक यातना समेत दिने गरेका थिए।” त्यसै कारण छोरीले आत्महत्या गर्न बाध्य भएको जाहेरीमा उल्लेख छ।
घटना २
घोडाघोडी नगरपालिका–५ देउकलियाकी सुनिता चौधरी (२८) ले पनि १ वैशाखमै आत्महत्या गरिन्। २०६५ सालमा मानबहादुर चौधरीसँग विवाह गरेपछि उनीहरूका दुई सन्तान भए। तर, मानबहादुरले गएको वर्ष मंसीरमा दोस्रो बिहे गरे। त्यसपछि सुनिता र उनीबीच झगडा हुन थाल्यो।
सुनिताका बुबा घलुराम थारुका अनुसार, मानबहादुरले सुनितालाई शारीरिक तथा मानसिक यातना दिंदै माइती पक्षलाई भनेमा ज्यान लिने धम्की दिने गरेका थिए। घलुरामले जल्ला प्रहरी कार्यालय, कैलालीमा दिएको जाहेरीमा छोरीलाई शारीरिक यातना दिने, खान–लाउन नदिने तथा बिरामी भएका वेला औषधी उपचार समेत नगरिदिएको उल्लेख गरेका छन्।
घटना ३
टीकापुर नगरपालिका– १ विशालनगरकी टीका विक (३२) ले मोहन विकसँग बिहे गरेको एक वर्ष मात्रै पुगेको थियो। केही समय वैवाहिक सम्बन्ध रामै्र चले पनि पछि झैझगडा हुन थाल्यो। टीकाका दाजु नन्दबहादुरका अनुसार, ज्वाइँले गालीगलौज र कुटपिट गर्ने गरेको भन्दै बहिनी माइती आएकी थिइन्। बहिनीसहित ज्वाइँलाई सम्झाई बुझाई घर पठाइएको थियो, तर ५ वैशाखमा आफ्नै कोठामा झुण्डिएको अवस्थामा टीका भेटिइन्। बहिनीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै नन्दबहादुरले प्रहरीमा जाहेरी दिएका छन्।
घटना ४
गोदावरी नगरपालिका–१ वनखेतका गौरी साउँदले २४ चैतमा आत्महत्या गरिन्। उनको बुबा रोहित रावतले छोरीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै ज्वाइँ विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका छन्। उनले जाहेरीमा भनेका छन्, “मेरो छोरीलाई पटकपटक शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न दुरुत्साहन गरेको हुँदा निजलाई कानुन बमोजिम गरी पाऊँ।”
घटना ५
कैलारी गाउँपालिका–३ की लौनियादेवी चौधरी पनि गएको १३ चैतको राति झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिइन्। झुन्डिएको ठाउँको प्रकृति हेर्दा त्यो घटनालाई उनका माइती पक्षले आत्महत्या मान्न सकेनन्। लौनियाका दाजु मनोजकुमार चौधरीले परिवारका सदस्यलाई कारबाहीको माग गर्दै जाहेरी दिएका छन्।
माथिका घटना बन्दाबन्दी शुरु भएयताको एक महीनामा भएका हुन्। पाँच वटै घटनामा मिल्दोजुल्दो के छ भने सबै विवाहित हुन्, सबै घटनाको जाहेरीमा माइती पक्षले मृतक महिलाका श्रीमान्लाई प्रतिवादी बनाएका छन्।
जाहेरी नपरेका आठ घटना
बन्दाबन्दी शुरु भएपछि नै आत्महत्या भएका तर जाहेरी दरखास्त नपरेका घटनाको संख्या जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको भन्दा धेरै छ। तीमध्ये एक जना १४ वर्षीया किशोरी हुन् भने अरु सबै विवाहित महिला भएको प्रहरीले जनाएको छ।
कैलालीकै धनगढी उपमहानगरपालिका ७ की बसरामीदेवी चौधरी (४४) ले १ वैशाखमा झुण्डिएर आत्महत्या गरिन्। विष सेवन गरेकी अर्की एक महिलाको सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भयो।
मोहन्याल गाउँपालिका–३ फल्लेबिसौनीकी पूजा टमट्टाले गएको ११ चैतको राति आत्महत्या गरिन्। उनका श्रीमान् एकेन्द्रका अनुसार, बिहान खाना खाएर गाउँमै घर बनाउने काममा गएको र साँझ कामबाट फर्केर कसैसँग नबोली सुत्ने कोठामा गएकी उनी केहीबेरपछि माथिल्लो तलाको छानाको बलोमा पासो लगाई आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन्।
१५ चैतमा टीकापुर नगरपालिका–३ कटानपुरकी नारायणी चौधरी (४५) ले पनि आफ्नै घरको बलोमा पासो लगाई आत्महत्या गरेको प्रहरीको तथ्यांकमा छ। यस्तै, एक महीनायता धनगढी उपमहानगरपालिकामा अन्य तीन महिलाले पनि आत्महत्या गरेका छन्।
उपमहानगरपालिकाको वडा नम्बर १७ धुर्जन्नाककी ५० वर्षीया विसरा चौधरीले २० चैतमा सामुदायिक वनमा झुण्डिएर आत्महत्या गरेकी थिइन्। वडा नम्बर १० जुगेडाकी १४ वर्षीया करिना रानाले झुण्डिएर आत्महत्या गरिन्। अघिल्लो दिन परिवारसँगै गहुँ काटेर फर्किएकी उनी भोलिपल्ट र अर्को दिन घरको कोठामै आत्महत्या गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी, उपमहानगरपालिकाको वडा नम्बर १३ गेटा श्रीलंकाकी २६ वर्षीया जानकीदेवी धामीले विष सेवन गरेको र सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
कोरोनाभाइरस रोकथामका लागि बन्दाबन्दी लगाइएको ११ चैतयता जिल्लामा १२ महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए। यही अवधिमा आत्महत्या गर्ने पुरुषको संख्या पाँच छ। गएको फागुनमा १७ जनाले आत्महत्या गरेकोमा ९ महिला र ८ पुरुष थिए।
आत्महत्याको प्रमुख कारणः ‘घरेलु हिंसा र चरित्रहत्या’
महिला अधिकारका क्षेत्रमा काम गर्नेहरू विवाहित महिलाको आत्महत्याको कारणमध्ये घरेलु हिंसा, पारिवारिक बेमेल र उनीहरूको चरित्रहत्या प्रमुख रहेको बताउँछन्।
कैलालीमै रहेर काम गर्दै आएकी अधिकारकर्मी सावित्रा घिमिरे मुख्य रूपमा पारिवारिक बेमेलपछिको तनावकै कारण महिलाले आत्महत्या गर्ने गरेको बताउँछिन्। यो बन्दाबन्दीको वेला परिवारका सबै जना सधैं घरमै हुँदा विवाद र झैझगडाले यस्ता निम्त्याएको उनको धारणा छ। “अरु वेला घर बाहिरका कामले बिहान–बेलुका मात्रै हुने घरझगडा अहिले चौबिसै घण्टा हुन थाल्यो र धेरै तनाव थपियो”, उनी भन्छिन्, “बन्दाबन्दीका कारण आफ्नो समस्या अरुसँग भन्न पनि पाएनन्, न्यायिक निकायसम्म पुग्न पनि कठिन भएपछि पीडितहरूले आत्महत्या रोजे।”
बन्दाबन्दीमा महिलाहरूले यसरी ज्यान गुमाउनुलाई राज्यले गम्भीर ढंले लिनुपर्ने र महिला हिंसा विरूद्व विशेष पहल चाल्नुपर्ने घिमिरे बताउँछिन्।
राष्ट्रिय मानवअधिकार आयोगका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख झंकर रावलले महिलाहरुको आत्महत्याको प्रमुख कारणमा घरेलु हिंसा, चारित्रिक आक्षेपका कारण सिर्जित तनाव प्रमुख देखिने बताउँछन्। उनी भन्छन्, “गरीबी पनि आत्महत्याको कारणमध्ये एक हो, तर महिलाको सन्दर्भमा घरेलु हिंसा र चरित्रहत्या प्रमुख कारण रहेको आयोगले गर्ने अनुगमनहरुले देखाएको छ।”
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक तथा मुद्दा फाँटका इन्चार्ज प्रकाशसिंह कार्कीका अनुसार, आत्महत्या गर्ने महिलाहरुको घटना विवरण हेर्दा प्रायः पारिवारिक झैझगडा र चरित्रमाथि लगाइने आरोप नै कारण कारण देखिन्छ। केही घटनामा भने दीर्घरोगी तथा डिप्रेसन भएकाहरुले पनि आत्महत्या गर्ने गरेको कार्कीको भनाइ छ।
आत्महत्या दुरुत्साहनको सजाय
मुलुकी अपराध (संहिता) ऐन २०७४ ले पहिलो पटक आत्महत्या गर्न बाध्य पार्नेलाई ‘आत्महत्या दुरुत्साहन’ मा सजाय हुने व्यवस्था गरेको छ। संहिताको दफा १८५ को उपदफा (१) मा ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन’ भनिएको छ। र, उपदफा (२) मा उपदफा (१) बमोजिमको कसूर गरेमा पाँच वर्षसम्मको सजाय र रु.५० हजारसम्मको जरिवाना हुने व्यवस्था छ।