स्वयंसेवी युवाको सक्रियता: नाकाहरुमा नापिंदै ज्वरो
कोरोनाभाइरसको संक्रमण फैलिन नदिन मानिसहरुको आवागमन बन्देज लगाउने गरी सरकारले लकडाउन (बन्दाबन्दी) घोषणा गरेको एक महीना नाघिसकेको छ। तर पनि यस अवधिमा मानिसहरु एक ठाउँबाट अन्यत्र यात्रा गर्ने क्रम चलिरहेकै छ।
कामधन्दा ठप्प भएर गुजारा चलाउन समस्या पर्नेहरु काठमाडौं उपत्यकाबाट पैदलै सयौं किलोमिटर हिंड्नेहरु बन्दाबन्दीको शुरुआती सातामा देखिएका थिए। बन्दाबन्दी लम्बिंदै जाँदा गाउँ फर्किनेहरुको लर्को अझै थामिएको छैन। यस्तै, पछिल्लो समय कोरोनाभाइरसको संक्रमण देखिएका विभिन्न प्रदेशबाट उपत्यकामा भित्रिनेहरुको हूल बढ्न थालेको छ।
उपत्यकाबाट बाहिरिने र भित्रिने दुवैबाट संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै युवाहरुको एक समूहले विभिन्न नाकाहरुमा सर्वसाधारणको ज्वरो नाप्न थालेको छ।
चिकित्सक संघ, इञ्जिनियरिङ संघ लगायतका एक दर्जन संस्थाहरुका युवा मिलेर 'यूथ फर नेशन' अभियानबाट काठमाडौंको थानकोट, बौद्ध जोरपाटी र जडीबुटीमा स्वयंसेवी रुपमा ज्वरो नापिरहेका छन्। कोरोनाभाइरसको प्रमुख लक्षणमा पर्ने ज्वरो नापेर उनीहरुले सर्वसाधारणलाई सुरक्षित यात्रामा ढुक्क पार्ने गरेका छन्।
थानकोटमा ८ वैशाखदेखि ज्वरो परीक्षण शुरु गरेका उनीहरुले त्यसपछि जोरपाटी र पछिल्लो तीन दिनदेखि कोटेश्वर हुँदै उपत्यकाबाट बाहिरिने जडीबुटीमा स्वयंसेवा गरिरहेका छन्। यी तीन ठाउँमा चिकित्सकसहित सबै गरेर दैनिक २० जनाले पालो मिलाएर खटिइरहेको आयोजकमध्ये लेनिन विष्ट बताउँछन्। "सबै ठाउँमा ५/६ जनाको दरले जान्छौं, धेरै हूल भयो भने थप स्वयंसेवक बोलाउने गरेका छौं", उनले भने। नाकाहरुमा सामान्यतया साँझपख मानिसहरुको बढी चाप हुने गरेको उनले बताए।
काठमाडौं उपत्यका छाड्ने र भित्रिने मानिसहरुलाई नाकामा सरकारले स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छैन। जसले गर्दा बिरामी मान्छे गाउँ पुग्ने र बाहिरबाट पनि भित्रिन सक्ने जोखिम उत्तिकै छ। यो स्थितिमा ज्वरो नापेर शंकास्पद बिरामीलाई अस्पताल पठाउन सकिने सोचले यूथ फर नेशन अभियानले सुरक्षाको विधि अपनाउँदै काम गरेको विष्टले बताए। यो अभियानमा डा. निकोसल भुसालले संयोजन गरिरहेका छन्।
व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएका स्वयंसेवकहरु मास्क, स्यानिटाइजर र ज्वरो नाप्ने थर्मल गनसहित नाकामा खट्ने गर्छन्। आवश्यक स्वास्थ्य सामग्री र सुरक्षाका वस्तु उनीहरुले आपसमै रकम उठाएर खरीद गरेका हुन्। विदेशबाट पनि साथीहरुले सामान किन्न सहयोग गरेको पूर्व बाल लडाकु एवम् आयोजकमध्येका विष्टले बताए। "पीपीई त हाम्रै साथीहरुले बनाउनुभएको हो, त्यही लगाएर चिकित्सक साथीहरुले ज्वरो नाप्ने गर्नुहुन्छ", उनले भने।