बिक्री भएन नेपालको यार्सागुम्बा, झण्डै दुई क्विन्टल दार्चुलामै थन्कियाे
दार्चुलामा संकलन भएको यार्सागुम्बा बिक्री नहुँँदा व्यापारी र सङ्कलक समस्यामा परेका छन् ।
गत असारदेखि भदौसम्म खरीद गरिएको मध्ये झण्डै दुई क्विन्टल बढी यार्सागुम्बा अझै बिक्री नभएको व्यापारीहरुले बताएका छन् ।
पछिल्लो समय नेपालमा चीनका व्यापारीले निर्यात गर्ने यार्सागुम्बा सस्तो मूल्यमा पाउन थालेपछि नेपालका व्यापारीको बिक्री रोकिएको छ ।
अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत राजु घिमिरेका अनुसार हालसम्म जिल्लाबाट ५५५ किलो यार्सागुम्बा निकासी गरिएको छ ।
त्यसमध्ये काठमाडौंमा विक्रिका लागि पुगेका अधिकांश व्यापारी यार्सागुम्बाको मूल्य नमिलेको भन्दै निराश भएर फर्किएका छन् । व्यापारी सोभानसिंह ठगुन्नाले भने “एक महीना काठमाडौँ बस्दा पनि बिक्रि नभएपछि बैंकको ऋण, आफन्तको ऋण तथा सङ्कलकलाई तिर्नुपर्ने रकम कसरी दिने भन्ने समस्या छ ।”
कतिपय व्यापारीले यार्सागुम्बा काठमाडौं पुर्याए पनि झण्डै दुई क्विन्टल यार्सागुम्बा जिल्लामै छ । मूल्य नपाएको भन्दै अझै कतिपय व्यापारीले यार्सागुम्बा बाहिर लगेका छैनन् ।
झण्डै ९० किलो यार्सागुम्बा खरीद गरेका व्यापारी तेजबहादुर बमको मात्रै ५५ किलो विक्रि हुन नसकेको बताए । “यार्सागुम्बाको गुणस्तर हेरी प्रतिकिलो रु १७ लाखदेखि २४ लाखसम्मका दरले खरीद गरेका र्हौँ” उनले भने “काठमाडौंमा प्रतिकिलो रु १० लाखमा बिक्री हुन मुस्किल भइरहेको छ ।”
बमका अनुसार अहिलेकै अनुपातमा यार्सागुम्बा बिक्री गर्ने हो भने रु एक करोड घाटा हुने अवस्था छ । “मैले यार्सागुम्बाको कारोवार गर्दा अहिलेको जस्तो अवस्था कहिल्यै भएको थिएन” बमले भने ।
साउन, भदौमा जिल्लाका सबै यार्सागुम्बा व्यापारीले खरीद गरेका थिए । यार्सागुम्बा बिक्री गर्न नसके सडेर जाने तथा किरा लाग्ने चिन्ता थपिएको अर्का व्यापारी धनसिंह जागरीले बताए ।
स्थानीयवासीको मुख्य आयस्रोतको रुपमा रहेको यार्सागुम्बा बिक्री नभएपछि व्यापारीले यार्सागुम्बा सङ्कलकलाई पैसा दिन सकेका छैनन । व्यापारीले स्थानीय सङ्कलकबाट उधारोमै यार्सागुम्बा खरीद गरी आफूले विक्री गरेपछि मात्रै तिर्ने गर्छन् । व्यापारीले पैसा नदिँदा हातमुख जोर्न धौधौ भएको स्थानीयबासीको गुनासो छ ।
दुहुँका यार्सागुम्बा सङ्कलक करवीरसिंह कुँवर व्यापारीले लिएको यार्सागुम्बाको रकम हालसम्म नदिएको बताउँछन् । “कतिपयले त नगद दिएर खरीद गरेका थिए, कतिले काठमाडौँमा बिक्री भएपछि दिन्छु भनेर लगेका अझै पैसा पाइएको छैन । व्यापारीले रकम नदिँदा उधारो खाएको सामानको ऋण तिर्न सकिएको छैन ।” कुँवरले भने ।
दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतको रुपमा यार्सागुम्बा र जडीबुडी हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ ।
दार्चुलाबाट हरेक वर्ष जिल्लाबाट छदेखि आठ क्विन्टल बढी यार्सागुम्बा निकासी हुने गरेको छ । कार्यालयले यो वर्ष यार्सागुम्बाको निकासीवापत रु एक करोड ६३ लाख ५० हजार राजश्व सङ्कलन गरेको छ । –नरेन्द्रसिंह कार्की/रासस