माधव नेपाल फकाउने प्रयास विफल
अध्यादेश प्रकरण पछाडि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवाद हल गर्न नेताहरुको भेटवार्ता बाक्लिएको छ । दिनहुँजसो विभिन्न साइडलाइन सम्वाद भइरहेको छ ।
सोमबार पनि विभिन्न पक्षबीच भेटवार्ता भएको छ । पार्टीमा कुनै छलफल नगरी अध्यादेश ल्याइएको भन्दै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सचिवालयका बहुमत सदस्यहरु एकातिर उभिए पछि भेटवार्ता बाक्लिएको हो । विशेषगरी प्रधानमन्त्री ओली नै सम्वादलाई जोड दिइरहेका छन् ।
सोमबार प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपालसँग भेटवार्ता गरी समाधानका लागि दुई पक्षीय वार्ताका लागि आग्रह गरेका थिए । त्यसैअनुसार, नेता नेपाल समूहसँग प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई कोटेश्वरमा वार्ताका लागि पठाए । तर, निकै लामो समय चलेको वार्तामा कुनै ठोस् सहमति भने हुन सकेन ।
बैठक स्रोतका अनुसार, प्रधानमन्त्रीको पक्षबाट आएका नेताहरुले स्थायी कमिटी बैठक अगाडि एउटा सहमति आवश्यक रहेको बताएका थिए । त्यसका लागि मन्त्रिपरिषद हेरफेर देखि मुख्यमन्त्रीहरु परिवर्तन गर्नसम्म प्रधानमन्त्री ओली तयार रहेको र यसबारे सहमति जुटाउन प्रस्ताव गरिएकाे थियो । तर, नेपाल पक्षबाट वार्तामा बसेका नेताहरुले मन्त्रिपरिषद र मुख्यमन्त्री परिवर्तन मात्रै अहिलेको समस्या नरहेको भनी उक्त प्रस्ताव अस्वीकार गरे ।
पार्टी र सरकार बीच देखिएको समस्या स्थायी कमिटीबाटै हल गर्नुपर्नेमा जोड दिइएको नेपाल नेपाल पक्षबाट वार्तामा बसेका नेता रघुजी पन्तले बताए ।
उनले भने, “अहिले सरकार र पार्टीमा विधि र प्रक्रियाको अभाव देखिएको छ । समस्या मुख्यमन्त्री र मन्त्रीहरु परिवर्तनको होइन ।” तर, यो वार्ताले सचिवालय बैठक बसेर स्थायी कमिटी बोलाउनेबारे पनि सहमति गरेको छ ।
मंगलबार नै सचिवालय बोलाउन वार्ता टोली सहमत भएको सुरेन्द्र पाण्डेले बताए । “मंगलबार नै सचिवालय बस्ने भएको छ, त्यहीबाट स्थायी कमिटीको निर्णय हुनेछ”, पाण्डेले भने । वार्तामा प्रधानमन्त्रीका तर्फबाट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र शंकर पोखरेल बसेका थिए भने नेता नेपालको तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त बसेका थिए ।
मन्त्रिपरिषद हेरफेर देखि मुख्यमन्त्रीहरु परिवर्तन गर्नसम्म प्रधानमन्त्री ओली तयार रहेको र यसबारे सहमति जुटाउन प्रस्ताव गरिएका थियो । तर, नेपाल पक्षबाट वार्तामा बसेका नेताहरुले मन्त्रिपरिषद र मुख्यमन्त्री परिवर्तन मात्रै अहिलेको समस्या नरहेको भनी उक्त प्रस्ताव अस्वीकार गरे ।
अध्यादेश प्रकरण पछाडि नेकपाको ९ मध्ये ६ सचिवालय सदस्य प्रधानमन्त्री ओलीको विपक्षमा उभिएका छन् । यी नेताहरुले तत्काल सचिवालय र स्थायी कमिटीमा पार्टीको पछिल्लो अवस्थाबारे छलफल हुनुपर्ने बताउँदै आएका छन् । सोमबार मात्रै पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
दाहाललाई भेट्न खनाल र गौतम खुमलटार नै पुगेका थिए । भेटवार्तामा तीनै जना तत्काल स्थायी कमिटी बोलाउने निष्कर्षमा पुगेका छन् । स्थायी कमिटी बोलाउने र त्यहीबाट निर्णय लिनुपर्नेमा गौतमले प्रधानमन्त्री ओलीलाई समेत सुझाव दिइसकेका छन् ।
सचिवालय नेताहरु दाहाल, खनाल, नेपाल, गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णुप्रसाद पौडेल समेत स्थायी कमिटी बैठक बोलाउनुपर्ने पक्षमा उभिए पछि प्रधानमन्त्री ओलीले आफ्ना विश्वास पात्र मार्फत् विभिन्न पक्षबाट भेटवार्ता बढाएका हुन् ।
प्रदेश–५, का मुख्यमन्त्री रहेका शंकर पोखरेल काठमाडौं आएर सक्रिय बनेका छन् । उनले नेता नेपाललाई भेटेर ओलीसँग मिलेर जान सकिने वातावरण बनाउने बताएका थिए । महाधिवेशन पछाडि नेता नेपाललाई पार्टी नेतृत्व लिनेगरी वातावरण बनाउन लागीपर्ने पोखरेलले प्रस्ताव गरेका थिए । तर, यसबारे नेता नेपालको कुनै जवाफ नपाए पछि उनले दाहालसँग पनि भेटवार्ता गरे ।
प्रधानमन्त्री ओलीले विश्वास पात्र मार्फत् नेता नेपालसँग सहकार्यका लागि सोमबार मन्त्रिपरिषद र मुख्यमन्त्री परिवर्तनको प्रस्ताव गरेका थिए । तर, यो प्रस्तावमा पनि प्रधानमन्त्री ओली विफल भए ।