सीमा जोडिएका भारतका चार राज्यका १५ जिल्ला कोरोनाभाइरस संक्रमणको रेड जोनमा, नेपाललाई कति जोखिम ?
भारतबाट नेपाल आएका तीन जनालाई कोरोनाभाइरस संक्रमण भएको २९ चैतमा पुष्टि भयो। तीमध्ये एक जना दिल्ली र दुई जना उत्तर प्रदेशबाट आएका थिए। एकैपटक नेपाल प्रवेश गरेका २४ जनामध्ये तीन भारतीयमा संक्रमण फेला परेको हो।
भारतको उत्तर प्रदेशबाटै नेपाल फर्किएका एक युवक र उनको परिवारका अरु चार जनालाई ९ वैशाखमा कोरानाभाइरस संक्रमण भएको पुष्टि भयो। ती युवक बन्दाबन्दी भन्दा सात दिनअघि ४ चैतमा नेपाल फर्किएका थिए।
भारतसँगको खुला सीमालाई अहिले बन्द गरिए पनि सीमावर्ती क्षेत्र र उताबाट आउनहरुका कारण जोखिम यथावत् छ। भारतले नेपालसँग सीमा जोडिएका पाँचमध्ये चार राज्यका १५ जिल्लालाई कोरोनाभाइरस संक्रमणको रेड जोनमा राखेको छ। उत्तर प्रदेशका सबैभन्दा बढी नौ जिल्ला रेड जोनमा छन्।
उत्तर प्रदेशमा अहिलेसम्म १८ सय ४३ संक्रमित भेटिएका छन् भने २९ जनाको मृत्यु भएको छ। यो भारतको बढी संक्रमित हुने छैटौँ राज्य हो। सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा छ। त्यहाँ सात हजार ६२८ संक्रमित भेटिएका छन्।
भारतले जम्मा १७० जिल्लालाई रेड जोनमा राखेको छ। तीमध्ये नौ जिल्ला उत्तर प्रदेशमा पर्छन्। पश्चिम बंगालका चार तथा बिहार र उत्तराखन्डका एक एक जिल्ला रेड जोनमा छन्।
तर, १५ जिल्ला कुनैको पनि सीमाना नेपालसँग जोडिएको छैन। उत्तराखन्डको राजधानी देहरादून नेपालबाट सबैभन्दा नजिकको जिल्ला हो। देहरादूनमा सबैभन्दा बढी नेपाली रहेको जिल्ला पनि हो। खासगरी सुदूरपश्चिमबाट काम र अध्ययनका लागि देहरादून जाने चलन छ।
देहरादूनको सीमा उत्तरप्रदेशको साहारानपुरसँग जोडिएको छ। साहारानपुर पनि रेड जोनमै छ । सुदूरपश्चिमसँग सीमा जोडिएका उत्तराखण्डका तीन जिल्ला पिथोरागढ, चम्पावत र उधम सिंह नगर भने रेड जोनमा छैनन् ।
उत्तराखन्डमा अहिलेसम्म ५० जना संक्रमित भेटिएका छन्। त्यहाँ कसैको पनि मृत्यु भएको छैन।
उत्तर प्रदेशका रेड जोनमा रहेका नौमध्ये अधिकांश जिल्ला दक्षिणतर्फका छन् । खासगरी दिल्लीसँग सीमा जोडिएका र नजिकका गाजियाबाद, गौतम बुद्ध नगर, मिरुत, शाम्ली, साहारानपुर जिल्ला रेड जोनमा छन् । उत्तर प्रदेशको राजधानी लखनाउ, गाजियाबाद, आग्रा, फिरोजाबाद र मोरादाबाद पनि रेड जोनमै छन् ।
रेडजोनमा परेको बिहारको एक मात्र जिल्ला सिवान उत्तरप्रदेशसँग जोडिएको छ । पश्चिम बंगालका चार जिल्ला राजधानी कोलकाता, होवराह, पूर्वी मेदिनीपुर र २४ पारागानास उत्तर रेड जोनमा छन्। यी कुनै पनि जिल्लाको सिमाना नेपालसँग जोडिएको छैन। पश्चिम बंगलामा अहिलेसम्म ६११ संक्रमित भेटिएका छन् भने १८ जनाको मृत्यु भएको छ।
विहारको एक मात्र जिल्ला सिवान रेड जोनमा छ। यो जिल्लाको सीमाना उत्तर प्रदेशसँग जोडिएको छ। उत्तर प्रदेशबाटै बिहारमा संक्रमण फैलिएको त्यहाँका अधिकारीले जनाएका छन्। बिहारमा अहिलेसम्म २५१ संक्रमित भेटिएका छन् भने दुई जनाको मृत्यु भएको छ।
नेपालसँग सीमा जोडिएको सिक्किमको भने कुनै पनि जिल्ला रेड जोनमा छैन। कोरोनाभाइरस संक्रमित फेला नपरेको सिक्किम भारतको एक मात्र राज्य हो। पर्यटकीय राज्य सिक्किमले अक्टोबरसम्मका लागि पर्यटकलाई प्रवेश निशेध गरेको छ।