सिरि एः इटालीमा महामारीको प्रकोप घटेपछि प्रशिक्षणको अनुमति
विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ को प्रकोप इटालीमा केही कमी देखिए पछि सिरि ए पुनः सञ्चालन गर्न खेलाडीहरुलाई प्रशिक्षणको अनुमति दिइएको छ ।
इटाली सरकारले बन्दाबन्दी समेत खुकुलो पार्ने र सिरि ए पुनःसञ्चालन गर्न प्रशिक्षणको अनुमति दिने निर्णय गरेको हो । त्यहाँको सरकारले ४ मे बाट व्यक्तिगत र १८ मे बाट टीम प्रशिक्षण गर्ने अनुमति दिएको हो ।
खेल तालिका भने २७ मे देखि २ जुन बीच सार्वजनिक गरिनेछ । महामारीका कारण सिरि ए रोकिएको थियो । इटालीमा महामारीबाट २६ हजार बढीको मृत्यु भएको छ । आइतबार मात्रै इटालीमा २६० जनाको मृत्यु भएको छ ।
तर, १४ मार्च पछाडि प्रति दिन मृत्यु भएको यो सवै भन्दा कम संख्या हो । इटालीमा एक लाख ९७ हजार संक्रमित भएका छन् । पछिल्लो समय केही नियन्त्रणमा आएसँगै, सार्वजनिक स्थलहरु सञ्चालन गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।