अमेरिकामा कोरोनाभाइरस जाँच किटको अभाव, राष्ट्रपति ट्रम्पको आलोचना
अमेरिकाका कतिपय राज्यमा कोरोनाभाइरस जाँच गर्ने किट सकिएपछि संक्रमणको सामान्य लक्षण देखिएको धेरैको जाँच हुन ढिला भएको छ। कान्सास, न्यूयोर्क, न्यूजर्सी लगायत राज्यमा जाँच गर्ने किट सकिएको हो।
कान्सासका गबर्नर लारा कैलीले अप्रिलको शुरुबाटै संघीय सरकारसँग जाँच किट र अन्य सामग्री मागे पनि उपलब्ध नगराएको बताएका छन्। करीब एक महीनामा नौ पटक जाँच किट र स्वास्थ्य सामग्री पठाउन आग्रह गरेको उनले जानकारी दिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी कम्पनीलाई कोरानाभाइरस जाँच किट र अन्य स्वास्थ्य उपकरण उत्पादन र निर्यातको जिम्मा दिएका कारण संकट उत्पन्न भएको ती राज्यले जनाएका छन्।
खासगरी कोरोनाभाइरस जाँचका लागि आवश्यक रसायनको संकट भएको छ। अन्य बेला यस्तो रसायन कम उत्पादन हुने भए पनि संक्रमणको समयमा पनि संघीय राज्यले उत्पादन बढाउन ध्यान नदिएको अधिकारीहरुको दाबी छ।
नाकको स्वाब जाँच गर्ने लगायत केही किट अमेरिकामा विदेशबाट आयात हुन्छ। ती किटको अभाव अहिले विश्वभर नै छ। त्यसैले अमेरिकामा पर्याप्त आपुर्ति हुन सकेको छैन।
स्वाबको नमूना परीक्षण गर्ने स्वास्थ्यकर्मीलाई सुरक्षाको उपकरण पनि अभाव भएको छ। त्यहीकारण पनि नमूना जाँच ढिलो गतिमा भइरहेको भन्दै राज्य सरकारहरुले असन्तुष्टि जनाएका छन्। संक्रामक बिमारीका विशेषज्ञ डा. एन्थोनी फाँसीले हुनुपर्ने जति स्वास्थ्य सामग्री नहुँदा प्रयोगशालामा पर्याप्त जाँच हुन नसकेको बताएका छन्।
अमेरिकामा कोरोनाभाइरस नियन्त्रण हुन नसक्दा राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता पनि घटेको जनाइएको छ। यो अवस्थामा सुधार नभए आगामी नोभेम्बरमा हुने निर्वाचन हार्न सक्ने भन्दै रिपब्लिकन पार्टीका नेताले चिन्ता व्यक्त गरेका छन्।
रिपब्लिकन पार्टीले हालै गरेको सर्वेक्षणमा ट्रम्प मिचिगन, पेनसिल्वानिया, फ्लोरिडा र मिनेसेटा जस्ता महत्वपूर्ण राज्यमा पछि रहेको देखिएको छ। एरिजोना, कोलोराडो, नर्थ केरोलिनाजस्ता बर्जश्व रहेका राज्यमा पनि रिपब्लिकनले हार व्योहोर्न सक्ने बताइएको छ।