कोरोना संक्रमितको संख्या ३० लाख नजिक, अमेरिकामा मात्र करीब १० लाख संक्रमित
विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या ३० लाख नजिक पुगेको छ। अहिलेसम्म करीब २९ लाख ९५ हजार संक्रमित फेला परेका छन्। तीमध्ये झन्डै एकतिहाइ अमेरिकामा छन्।
कोरोनाभाइरस संक्रमणबाट मुक्त हुनेको संख्या पनि बढिरहेको छ। अहिलेसम्म करीब आठ लाख ७९ हजार जना संक्रमणमुक्त भएका छन्।
धेरै संक्रमण भएका देशमध्ये संक्रमित निको हुने दर चीनमा उच्च छ। त्यहाँ ८२ हजार ८३० संक्रमितमध्ये ७७ हजार ४७४ जना निको भएका छन्। त्यस्तै चार हजार ६३३ जनाको मृत्यु भएको छ।
अब चीनमा जम्मा ७२३ संक्रमित छन्। पछिल्लो २४ घन्टामा त्यहाँ तीन जना नयाँ संक्रमित भेटिएका छन्।
उता अमेरिकामा भने संक्रमितको संख्या करीब नौ लाख ८८ हजार पुगिसकेको छ। त्यहाँ करीब एक लाख १९ हजार निको भएका छन् भने मृतकको संख्या करीब ५५ हजार ५०० पुगेको छ। अमेरिकामा अझै करीब आठ लाख १३ हजार संक्रमित छन्।
अहिलेसम्म पाँच देशमा २० हजारभन्दा बढीको मृत्यु भएको छ। अमेरिका, इटाली, स्पेन, फ्रान्स र बेलायतमा गरी अहिलेसम्म करीब एक लाख ४७ हजारको मृत्यु भएको छ।
पछिल्लो समय युरोपमा बेल्जियम कोरोनाभाइरस संक्रमणको ‘हटस्पट’ बन्दैछ। त्यहाँ अहिलेसम्म सात हजारभन्दा बढीको मृत्यु भइसकेको छ। ४६ हजारभन्दा बढी संक्रमित छन्।