'कोरोनाले हैन भोकले चाहिं मर्ने डर भयो'
“मेरो नाम कृष्णमाया ब्लोन हो । मैले काठमाडौंका सडकमा विगत १७ वर्षदेखि टेम्पो चलाइरहेकी छु । लकडाउन हुनुभन्दा अगाडिसम्म म सुन्धारा, अनामनगर, बानेश्वरको रुटमा टेम्पो चलाउने गर्थें । मेरा श्रीमान् पनि टेम्पो चलाउनुहुन्छ । लकडाउनपछि हामी दुवै जना घरमै छौं । मेरो माइती हेटौँडा हो भने श्रीमानको घर बाग्लुङ । यो लकडाउन नभएको भए हामी बाग्लुङ जाने कुरा थियो । तर जान पाएनौँ ।
अहिले घरमा बसेकी छु । यो कोरोनाले हामी जस्ता धेरै गरीब मजदूरहरुलाई मारमा पारेको छ । म त झन मजदूरहरुको नेता पनि हो । त्यही भएर मलाई सफा टेम्पो चलाउने म जस्तै साथीहरुको फोन आइरहन्छ ।
केही दिन अगाडि राहतको लागि भनेर हामी यहाँ गोल्फुटारको ८ नम्बर वडा कार्यालय गएका थियौँ । कर्मचारीले कार्यालयको माथिल्लो तलाबाटै टेम्पो चालकका लागि सरकारले राहत बाँडेको छैन भनेर फर्काई दिए । अरु पनि चालक लिएर गएकी थिएँ । रित्तै हात फर्कियौं । राहतका लागि भन्दै ३०-३५ जना साथीहरुले मलाई नाम टिपाउनुभएको छ । तर मैले त्यो नाम कहाँ लगेर दिने ? केही पत्तै पाएको छैन ।
मजदूर सँगसँगै आन्दोलन गरेर नेतृत्वमा पुगेको सरकारले यस्तो संकटका बेला हामी मजदूरलाई हेर्नुपर्ने हो । तर खै सरकारले हामी मजदूरका कुरा बुझेन । भोको पेट बस्न नसकिने रहेछ । हामी जस्ता मजदूरहरुलाई रासनपानीको व्यवस्था नगर्ने हो भने हामी कोरोनाले हैन भोकले मर्ने डर भयो ।
साथीहरुका आँखामा म एउटा नेता हुँ । सरकारले गरेको बेवास्ताले मेरो पनि मन दुखेको छ भनेर साथीहरुलाई कसरी भनुँ ? हामी मजदूरलाई फर्केर पनि नहेर्ने त्यस्तो बाध्यता के पर्यो सरकार ? लौन भनिदिनुस् ।”
कथा किन ?
अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।
विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिला, विपन्न वर्ग, सिमान्तिकृत, अपांगता भएका व्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।
मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छाैं ।
संयोजक, कथा कोरोना टीम
@KathaCorona
सम्पादक
himalkhabar.com
@HImal_khabar