माधव नेपाल समूहको निष्कर्ष– ‘स्थायी कमिटी बोलाउनुको विकल्प छैन’
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटवार्तालाई तीव्र बनाएका छन् । शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका बरिष्ठ नेता माधवकुमार नेपालले आइतबार दिउँसो आफू निकट स्थायी कमिटीका सदस्यहरुसँग छलफल गरेका छन् ।
दुई घण्टा बढी चलेको छलफलमा स्थायी कमिटीका नेताहरुले प्रधानमन्त्री ओली पार्टी बैठक टार्ने खेलतिर लागेको बताएका छन् । छलफलमा सहभागी स्थायी कमिटी सदस्य वेदूराम भुसालका अनुसार, सवैजसो स्थायी कमिटी सदस्यको समान तर्क थियो । “तत्काल सचिवालय बैठक बसेर स्थायी कमिटी बोलाउनुपर्छ भन्ने निष्कर्षका साथ उठ्यौ”, उनले भने ।
१० वैशाखमा मात्रै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपाल निकटका २० स्थायी कमिटी सदस्यहरुले बैठक माग गरेका थिए । “तर, अहिले हाम्रो माग वेवास्ता गर्ने मनसाय देखिन्छ, बैठक नबसी अहिले देखिएका समस्या हल हुन्न”, भुसालले भने ।
४४ सदस्यीय स्थायी कमिटीमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भूसाल, गोकर्णराज बिष्ट, वेदुराम भुसाल, भीम आचार्य, योगेश भट्टराई, रघुजी पन्त र सरेन्द्र पाण्डे नेता नेपाल निकट हुन् । अध्यादेश फिर्ता भए पनि स्थायी कमिटी राखेर यसबारे छलफल हुनुपर्ने नेताहरुले बताएका थिए ।
भेलाको शुरुमै नेता नेपालले पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका थिए । यसपछि धारणा राखेका नेताहरुले स्थायी कमिटीको विकल्प नरहेको साझा निष्कर्ष सुनाए । सवैको कुरा सुनेपछि अन्तिममा फेरि संक्षिप्तमा नेता नेपालले बैठक बोलाउन आफू लागीपर्ने बताए ।
अध्यादेश, महामारी रोकथाममा सरकारले गरिरहेको काम सँगै आगामी बजेटबारे छलफल गर्न समेत स्थायी कमिटी बैठक बोलाउनुपर्ने सुझाव नेता नेपाललाई दिइएका छन् । दिउँसो एक बजेतिरबाट भेला शुरु भएको थियो ।
आइतबार नै दाहालको निवास खुमलटारमा पनि उनी निकटका नेताहरु पुगेका थिए । अध्यक्ष दाहाललाई पनि नेता नेपाललाई जस्तै स्थायी कमिटी बोलाउन दबाव दिइएको थियो । अध्यक्ष दाहालले पनि शनिबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए ।
अध्यादेश प्रकरण पछि प्रधानमन्त्री ओली निकटका नेताहरु पनि सक्रिय देखिएका छन् । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल काठमाडौं आएर सक्रिय भएका छन् भने ओली निकट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङले पनि भेटवार्ता बढाएका छन् । आइतबार नै नेता नेपालसँग भेट्न प्रदीप ज्ञवाली कोटेश्वर पुगेका थिए ।