मनसुनमा सुधार आउन अझै चार दिन लाग्ने, काठमाडौंमा अप्रिल महिनामा अहिलेसम्मकै धेरै वर्षा
गर्मी महसुश हुने तराईमा पनि यसवर्ष मध्य वैशाखसम्म विगत वर्षमा जस्तो गर्मी छैन । काठमाडौं उपत्यकामा त थन्काएका जाडोका कपडा पनि निकाल्नु परेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका बीच यसवर्ष किन गर्मी भएन ? मानिसका आ-आफ्ना अड्कल छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद बरुण पौडेलका भनाईमा यस वर्ष मार्च र अप्रिल महिनामा प्रि मनसुन बढी सक्रिय भएका कारण बद्ली भएर दिनहुँ जसो बर्षा भइरहेको र त्यसले गर्मी कम भएको बताउँछन् ।
“यस वर्ष प्रि मनसुन अलि बढी नै सक्रिय भयो, त्यसैले तापक्रम वृद्धि हुन पाएको छैन, थन्काएर राखेका जाडोको कपडा पनि निकाल्नु परेको छ,” पौडेल भन्छन् । मौसममा सुधार हुन अझै ४ दिन लाग्ने उनको भनाई छ ।
प्रि मनसुनमा स्थानीय वायु सक्रिय हुन्छ । जसले गर्दा स्थान अनुसार वर्षा हुने गर्दछ । तर यसवर्ष स्थानीय वायुसंगै पश्चिमि वायु, वंगालको खाडी तथा अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको छ । जसका कारण दिनहुँ जसो मौसममा बद्ली भई विभिन्न ठाउँमा चट्याग र पानी पर्ने गरेको पौडेल बताउँछन् । जल तथा मौसम विज्ञान विभागका अनुसार मार्च महिनामा काठमाडौं उपत्यकामा २५.६ मिलिमिटर बर्षा भएको छ । उपत्यकामा मार्च महिनामा सरदर ३४.२ मिलिमिटर सम्म बर्षा हुनुलाई सामान्य मानिन्छ ।
अहिलेसम्मको रेकर्ड अनुसार सन १९७८ को मार्च १२ को दिन २४ घण्टामा ३९.३ मिलिमिटर बर्षा मापन गरिएको थियो ।
काठमाडौं उपत्यकामा यस वर्ष अप्रिल महिनाको २५ तारिखसम्म ७८.९ मिलिमिटर बर्षा भएको छ । यो सन १९७८ देखि यताको पहिलो रेकर्ड हो । सन १९९१ को अप्रिल १ को दिन पछिल्लो २४ घण्टामा ७४.२ मिलिमिटर बर्षा मापन गरिएको थियो । अप्रिल महिनामा काठमाडौं उपत्यकाको सरदर बर्षा ६१ मिलिमिटर हो ।