क्वारेन्टिनमा जन्मिंदै नयाँ गीतहरू
कोरोनाभाइरस महामारीको असरले यतिवेला संगीतको सरगम पनि थलिए झैं भएको छ। बन्दाबन्दीका कारण संगीतकर्मीहरूले नयाँ गीत–संगीत ल्याउन सकेका छैनन्। विभिन्न कार्यक्रम, महोत्सव, गीत रेकर्डिङ र प्रचारप्रसारमा व्यस्त रहने संगीतकर्मीहरू घरैमा खुम्चिएका छन्।
कतिपय गायक–गायिका सामाजिक सञ्जालमा झुल्किंदै पुरानै धुन सुनाएर श्रोता–दर्शकसँगको सम्बन्ध माझिरहेका छन्। कतिपय भने घरैमा साधना गरिरहेको, नयाँ सिर्जनाको खाका बनाइरहेको बताउँछन्।
‘गलबन्दी’ र ‘बोल माया’ जस्ता चर्चित गीतका गायक प्रकाश सपुत एक महीनादेखि आफ्नो जन्मथलो बाग्लुङमा छन्। गीत लेख्ने र धुन पनि सिर्जना गर्ने उनी बन्दाबन्दीले काठमाडौंबाट गाउँ पुगेर बाल्यकालदेखिका सम्झनासँग लुटपुटिने मौका जुरेको अनुभव सुनाउँछन्। यसबीचमा पारिवारिक माहौलमा वेलावेला गीत गाएर रमाइलो पनि गरिरहेका छन्। गाउँको जीवन भोगाइका भिडियो समेटेर हालै उनले 'क्वारेन्टिन भ्लग' मा 'आउँछ दिन फर्केर' बोलको गीत यूट्युबमा राखेका छन्।
संक्रमणबाट जोगिन घरमै क्वारेन्टिनमा बस्दा पारिवारिक माहौलमा रमाइरहेको बताउने उनी मूड चलेको वेला गीत पनि लेखिरहेका छन्। “यो समयमा पुरानै गीतहरूको पुनर्लेखन गरिरहेको छु, अब स्टुडियो खुलेपछि मात्र नयाँ गीतहरू आउँछन्”, उनले भने।
नेपथ्य ब्यान्डलाई पनि बन्दाबन्दीको प्रभावले नयाँ गीत रेकर्ड गर्न दिएको छैन। नयाँ गीतको कम्पोज भने ब्यान्डका गायक तथा कम्पोजर अमृत गुरुङले पुर्ख्यौली थलो कास्कीको पुम्दीभुम्दीमा बसेर गरिरहेका छन्। नेपथ्यका गीतको रेकर्ड नेपालयको स्टुडियोमा हुन्छ। अहिले स्टुडियो बन्द छ र ब्यान्डका सदस्यहरू बिदामा छन्। यद्यपि नेपथ्यका प्रशंसकसहितका संगीतप्रेमीहरूलाई खल्लो हुन नदिएको नेपालयका व्यवस्थापक अर्पण शर्मा बताउँछन्। “नेपथ्य ब्यान्डको र पलेंटी शृंखलाको विगतमा रेकर्ड गरिएका भिडियोहरू यूट्युबको अफिसियल च्यानलमा सार्वजनिक गरिरहेका छौं”, उनी भन्छन्।
“अल्बम निकाल्न गीतहरुको एरेन्ज सकिएर भोकल मात्र बाँकी थियो, दुइटा गीत त रेकर्ड नै भइसकेको थियो। सबै सामान्य भयो भने यही वर्ष अल्बम ल्याउने सोचेकी छु ।”
- मीना पोखरेल निरौला, गायिका
‘ठमेल बजार’ बाट ख्याति कमाएकी गायिका मीना पोखरेल निरौला बन्दाबन्दीको वेला पनि आफूलाई संगीतमै व्यस्त राखिरहे पनि तत्काल नयाँ गीत दिन सक्ने अवस्था देख्दिनन्। “घरमै सीमित भएको यो समयमा राम्रा गीत सुन्ने र गीत कम्पोज गर्ने पनि प्रयास गरिरहेकी छु”, उनी भन्छिन्।
यो महामारीले उनको सांगीतिक योजनालाई पनि असर गरेको छ। उनी पछिल्लो समय अल्बम ल्याउने तयारीमा जुटेकी थिइन्।
चलचित्रका ‘ठमेल बजार’, ‘काले दाइ’ जस्ता गीतबाट पाश्र्व गायिकाको परिचयमा उभिए पनि मीनाको खास दखल शास्त्रीय संगीतमा हो। बजारमा गीत चल्नु र ‘भर्सटायल’ कलाकार बन्नु एउटा कुरा, तर त्यसैबाट आफ्नो मूल विधा छोपिएला भन्ने पीर पनि उनमा छ। त्यसैले उनले पछिल्लो समय सेमी–क्लासिकल, सुफी लगायत गीतहरू समेटेर यसै वर्ष अल्बम निकाल्ने तयारी गरिरहेकी थिइन्, जुन कोरोना महामारीबाट अनिश्चित बनेको छ।
“गीतहरुको एरेन्ज सकिएर भोकल मात्र बाँकी थियो, दुइटा गीत त रेकर्ड नै भइसकेको थियो”, मीना भन्छिन्, “सबै सामान्य भयो भने यही वर्ष अल्बम ल्याउने सोचेकी छु।”
नेपाली संगीत क्षेत्रमा लोक फ्युजनका गीत ल्याएर चर्चा कमाएका गायक, संगीतकार तथा गीतकार राजनराज शिवाकोटी वैशाख र जेठमा गरी करीब १० वटा गीत ल्याउने तयारी गरिरहेका थिए। यस्तै, कम्पोज गरेका तीन वटा चलचित्रको गीत वैशाखमा सार्वजनिक गर्न अन्तिम तयारीमा पुगेर रोकिएको उनले सुनाए।
बन्दाबन्दीको यो वेला उनी गीत लेख्न र कम्पोज गर्न व्यस्त छन्। संगीतमा ठेट भाका र शब्द प्रयोग गर्ने उनी प्रशंसकलाई लोभ्याउँछन्, “मेरो शैली मन पराउने श्रोता–दर्शकले नयाँ सिर्जना सुन्न केही समय कुर्नैपर्ने हुन्छ।”
फुर्सदमा स्टुडियो
दैनिक कम्तिमा एउटा गीत तयार पार्दै आएको काठमाडौं अनामनगरस्थित सेवा रकर्डिङ स्टुडियो बन्दाबन्दीपछि बन्द छ। कम्पोज भइसकेर केही बाजा हाल्न, स्वर भर्न र मिक्सिङ गर्न बाँकी रहेका करीब डेढ सय गीत अपूरो अवस्थामा रहेका स्टुडियो संचालक भीषण मुकारुङले बताए। “अहिले मेरोसहित सबै स्टुडियो बन्द छन्, त्यसैले श्रोताहरूले नयाँ गीत सुन्न अहिले सम्भव छैन”, उनी भन्छन्।
संगीतकार तथा गायक बीबी अनुरागी अहिले घरमा बसेर कोरोना सम्बन्धी चार वटा धुन यूट्युबमा सार्वजनिक गरेका छन्। प्रिज्म रकर्डिङ स्टुडियो पुतलीसडकका संचालक समेत रहेका उनी बन्दाबन्दी हुनुअघि स्टुडियोमा करीब २५ वटा गीत कम्पोज भएर अगाडिको प्रक्रियामा लैजान तयार भएको बताउँछन्। “मेरो प्रोजेक्टको मात्र सात वटा गीत तयारी अवस्थामा थिए”, उनी भन्छन्।
संगीतकार अनुरागी नयाँ गीत सुन्न बन्दाबन्दी खुलेर मात्रै नहुने, अवस्था सामान्य बन्नुपर्ने बताउँछन्।
गायक यश कुमारले आफ्ना सात वटा गीत स्टुडियोमा पुगेर अड्किएको बताए। कतिपय गीतहरू यही वैशाखमा सार्वजनिक गर्ने उनको योजना थियो, तर बन्दाबन्दीले त्यसलाई बिथोल्यो। गीतकार र संगीतकार समेत रहेका उनी अधुरा रहेका गीत पूरा गर्ने, कम्पोज गर्ने र नयाँ सिर्जना गर्ने काम गरिरहेको बताउँछन्। “महामारीले सबै योजना भताभुंग भयो, अवस्था सामान्य भएपछि पनि केही महीनापछि मात्रै नयाँ गीत ल्याउन सक्छुहोला”, उनले भने।
भर्जिन रेकर्डिङ स्टुडियो नक्सालका संचालक तथा गायक/संगीतकार कन्काइस्ट राईको योजना थियो, यो वैशाखमा केही नयाँ गीत सार्वजनिक गर्ने। तर त्यो योजना चौपट भएपछि उनी अहिलेको विपत्ति टरेर जाने दिनको पर्खाइमा छन्।
पुतलीसडकस्थित ए–वान स्टुडियोले मासिक २० देखि २५ वटा गीत सार्वजनिक गर्दै आएको थियो। तर, महामारीको जोखिमका कारण ८ चैतदेखि नै स्टुडियो बन्द गरेको संचालक किशोर थापा बताउँछन्। “बन्दाबन्दी हुनुअघि नै सरकारले भीडभाड नगर्न आह्वान गरे अनुसार हामीले स्टुडियो बन्द गरेका हौं, सामान्य दैनिकीमा फर्केर नयाँ गीत ल्याउने र सुनाउने समय चाँडै आओस्”, उनी कामना गर्छन्।