एक सातामै १० हजारले गरे कोरोना बीमा
विभिन्न २० वटा निर्जीवन बीमा कम्पनीमार्फत एक सातामै १० हजार ७२९ जनाले कोरोना बीमा गराइसकेका छन् ।
गत आइबारबाट जारी गरिएको कोरोना भाइरस बीमा सुरु भएको एक सातामा जारी भएको ७१९ वटा बीमालेखमार्फत कोरोना बीमा गर्ने नेपालीको संख्या १० हजार नाघेको निर्जीवन बिमक संघको उपाध्यक्ष एनपी प्रधानले बताए ।
एक सातामा भएको यो बीमाबाट रु ५७ लाख २१ हजार ५२० को कोरोना बीमा भइसकेको छ । विदेशी कम्पनी र पुनरबीमा कम्पनीले यो बीमा नगर्ने भएकोले नेपालले आफ्नै क्षमताले कोरोना बीमा रु.५० हजार र रु.१ लाखसम्मको बीमा गराएको बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले बताए ।
चापागाईले भने विद्युतीयसेवा मार्फत कारोबार भइरहेको र सबै प्रकासकार डिजिटल वालेटबाट बीमा गर्न मिल्ने र शुल्क तिर्न सकिने भएकोले पनि एक सातामै उल्लेख्य संख्या देखिएको हो ।
अहिले बन्दाबन्दी भएको अबस्थामा भएकोयो नेपालकै नयाँ बीमालेखलाई भने उत्साहप्रद रुपमा नै हेर्नुपर्ने पनि चापागाईको भनाइ छ । उनका अनुसार न्युन आय भएका, विपन्न वर्ग र फ्रन्ट लाइनमा बसेर काम गर्नुपर्नेलाई दृष्टिगत गरेर यो बीमा ल्याएको हो ।
एक सातामा भएको यो बीमाको संख्या सबै लक्षित वर्गमा पुग्न नसकेको नभएपछि छिट्टै लक्षित वर्गका सबै क्षेत्रमा पुर्याउने दाबी पनि बीमा संघका अध्यक्ष चापागाईले बताए ।
विश्वभरी महामारीको रुपमा कोराना फैलिएको छ । महामारीको दायित्व भुक्तानी बीमा कम्पनीको नीति विपरित हुने भए पनि नेपालको हकमा नयाँ प्रयोग गरिएको र सहजताको लागि यो बीमा ल्याएको प्रधानले बताए ।
बीमा संघका अध्यक्ष चापागाईका अनुसार विश्वभरी महामारीको बीमा नहुने र बीमाको अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार, नहुने भए पनि नेपालले भने नयाँ प्रयोग गरेको र घातक रोग अन्तर्गत राखेर बीमा गराउन थालिएको हो ।
कोरोना बीमा गर्दा रु.५० हजारको लागि प्रतिव्यक्ति रु.५ सय र रु. १ लाखको लागि रु.१ हजार प्रिमियम तिर्नुपर्छ । परिवारको सदस्यले गर्दा भने ५० हजारको लागि प्रति व्यक्ति रु.३ सय र रु.१ लाखको लागि भने प्रतिव्यक्ति रु.६ सय प्रीमियर लाग्ने छ ।
डिजिटल वालेटबाट तिर्दा भने कुल बीमाशुल्कको अतिरिक्त रु.२० थप शुल्क लिने गरेका छन् । सरकारले कोरोनाको उपचार निःशुल्क गरिदिने भए पनि बीमाको पैसाले भने अन्य खर्च गर्न सकिने उल्लेख छ । यस्तो पैसाबाट कुरुवा, अस्पताल आवतजावत, पोषकतत्व खरिदसहितमा खर्च गर्न सकिने चापागाईको भनाइ छ ।