बन्दाबन्दीमा रमजान: घरभित्रै नमाज पाठ (तस्वीरहरु)
मोहम्मद जमशेद अन्सारी (४२) लाई विगत वर्षको रमजान पर्वमा बिहान घरको नियमित काम सकेर दिउँसो नमाज पढ्न मस्जिद जाने हतारो हुन्थ्यो। यस पटक भने शनिबार रमजानको पहिलो दिन उनी ललितपुरको कुमारीपाटीस्थित निवासमै नमाज पढ्ने तयारीमा थिए।
मोहम्मद जमशेद (बायाँ) र उनका छोरा नुरानी (१९) फरक-फरक कोठामा नमाज पाठ गर्दै ।
रमजानको एक महीनासम्म मुस्लिम धर्मावलम्बीहरु दैनिक रुपमा दिउँसो मस्जिदमा गएर नमाज पढ्ने प्रचलन छ।
तर, यस वर्ष कोरोनाभाइरसको संक्रमण रोकथामका लागि लगाइएको लकडाउन (बन्दाबन्दी) ले मानिसहरुलाई घरमै सीमित गरिदिएको छ। यसैले मुस्लिमहरुले घरघरमै नमाज पढिरहेका छन्। मुस्लिम आयोगले पनि संक्रमणको जोखिमका कारण घरमै बसेर नमाज पढ्न आह्वान गरेको छ।
जमशेदको परिवारका अन्य सदस्यले पनि घरमै फरक-फरक कोठामा बसेर नमाज पढे।

शनिबारदेखि शुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महीनासम्म दिनभर पानी समेत नपिई रोजा (व्रत) बस्छन्। सूर्य उदाउनु अगावै खानेकुरा खाएर दिनभर बसिने रोजा सूर्यास्तपछि भुजा, पकौडा, तरकारी लगायत खाएर तोड्ने गरिन्छ।
रोजा तोड्न खानेकुरा तयार पार्दै जमशेदकी बेगम सकिना खातुन (३८)

मोहम्मद जमशेद साँझमा रोजा तोड्ने क्रममा ।