सँगै मृत्यु हुने विश्वास लिएका जुम्ल्याहा दिदीबहीनीको कोरोनाभाइरस संक्रमणबाट निधन
आफूहरुको मृत्यु सँगै हुने विश्वास लिएका बेलायतका जुम्ल्याहा दिदी–बहिनीको कोरोनाभाइरस सङ्क्रमणबाट तीन दिनको अन्तरालमा मृत्यु भएको छ । ३७ वर्षीया काटी डेभिसको साउथाम्टन जेनेरल हस्पिटलमा गएको मंगलबार र एम्माको सोही अस्पतालमा अघिल्लो शुक्रबार मृत्यु भएको हो ।
उनीहरुकी बहिनी जोए डेभिसका अनुसार दुवै जनालाई सँगै मृत्यु हुने पूर्ण विश्वास थियो । उनी भन्छिन्, “उनीहरु जहिले पनि भन्थे कि दुवै सँगै यो संसारमा आएका हुनाले संसारबाट पनि सँगै जाने छन् ।”
काटी बच्चाको नर्स थिइन् । एम्मा पनि पूर्व नर्स नै थिइन् । दुवै दिदीबहिनी सँगै बस्थे । उनीहरु ‘अनौठा जोडी’ भएको जोए बताउँछिन् ।
‘साउथाम्टन चिल्ड्रेन हस्पिटल’ मा काम गर्ने काटी पहिला संक्रमित भएकी थिइन् । युनिभर्सिटी हस्पिटल साउथाम्टनको एनएचएस फाउन्डेसन ट्रस्टका कार्यकारी प्रमुख पाउला हेडले केटी अस्पताललाई आफ्नो जागीरभन्दा बढी मान्थिन् । द रोयल कलेज अफ नर्सिङले पनि उनलाई ‘स्वार्थरहित नर्स’ भन्दै श्रद्धान्जली दिएको छ।
उनकी बहिनी एम्माले पनि सन् २०१३ सम्म सोही अस्पतालमा नर्सको रुपमा काम गरेकी थिइन् । उनी पनि दक्ष र शान्त नर्स भएको अस्पतालका नर्सिङ अफिसर चिफ गेइल बिर्नेले बताएका छन् ।