कांग्रेस केन्द्रीय समिति बैठक: अध्यादेश फिर्तापछिको अन्योल
आगामी बुधबार बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठकबारे कतिपय केन्द्रीय सदस्यले हालसम्म औपचारिक जानकारी नपाएको बताएका छन्। सरकारले विवादास्पद अध्यादेश फिर्ता लिएपछि बैठकको अजेण्डा के हुने भन्नेमा कतिपयको अलमल छ।
नेपाली कांग्रेसले गएको सोमबार १७ वैशाखका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। सरकारले राजनीतिक दल विभाजन गर्न खुकुलो प्रावधान राख्ने र संवैधानिक परिषदको बैठकले विपक्षी दलको नेता नभए पनि निर्णय लिन सक्ने सम्बन्धी दुई अध्यादेश ल्याउने निर्णय गरेकै दिन कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो।
बैठक बोलाइएको भनेर पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्ति साँझ ६ बजेतिर सञ्चारमाध्यमहरुमा आयो। प्रदेश-१ मा भएका एक केन्द्रीय सदस्यले बैठक बोलाएकोबारे सञ्चारमाध्यमबाट थाहा पाए पनि अहिलेसम्म आफूलाई पार्टीबाट कुनै जानकारी नआएको बताइन्। उनले भनिन्, "यसअघि बैठकबारे मेसेज आउँथ्यो, तर अहिले पाएको छैन।"
बैठकको जानकारी पाएकाहरुले पनि अजेण्डा के हो भन्ने थाहा पाएका छैनन्। समसामयिक विषयको छलफल होला भन्ने बुझेर त्यस्तै तयारी गरिरहेको केन्द्रीय सदस्यहरुले बताए।
पार्टीले सरकारले दुई अध्यादेश ल्याएको सन्दर्भ पारेर तत्काल बैठक आह्वान गरेको हो। अध्यादेश जारी हुने बित्तिकै बैठक बोलाइएकाले कतिपय नेताहरु अध्यादेश फिर्ता भएकाले बैठक बस्छ कि बस्दैन भन्ने अन्योलमा छन्। बन्दाबन्दीको अवस्थामा देशभरिबाट केन्द्रीय सदस्यहरु काठमाडौं आएर बैठक बस्न कति संभव छ भन्नेहरु पनि छन्।
"सरकारलाई मात्र नभई आफ्नै पार्टी नेतृत्वलाई घच्घच्याउनुपर्ने भएकाले बैठक जरुरी छ। अध्यादेश फिर्ता गरेको भनेर हाम्रो सभापतिज्यूले प्रधानमन्त्रीलाई धन्यवाद दिएर फर्किनुभएछ, यस्तै कमजोरीको फाइदा सरकारले उठाइरहेको कुरा नेतृत्वलाई बुझाउनु छ ।"
गगन थापा, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
एक केन्द्रीय सदस्यले भने, "सरकारले अध्यादेश जारी गरेपछि बैठकको मुख्य अजेण्डा त्यसैलाई बनाइएको थियो, तर अध्यादेश फिर्ता भइसकेपछि बैठक नबस्नेबारे खबर आउला कि भनेर पर्खिरहेको छु।"
कांग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले पनि अध्यादेश फिर्ता भइसकेको अवस्थामा बैठक के गर्ने भन्नेबारेमा सभापति शेरबहादुर देउवासँग छलफल गरेर निर्णय हुने बताए। उनले भने, “छलफल गर्नुपर्ने विषय त छ, तर अध्यादेश फिर्ता भइसकेको अवस्था र लकडाउन निरन्तर रह्यो भने बैठक केही पछि सार्नु उपयुक्त हुने हो कि भन्नेबारेमा सभापतिज्यूसँग आज साँझसम्म भेटेर छलफल गर्छु।"
उपसभापति विमलेन्द्र निधि भने अध्यादेश बाहेकका विषय पनि छलफलको अजेण्डा भएकाले बैठक बस्ने बताउँछन्। उनी भन्छन्, "सबै उपस्थित हुनैपर्छ भन्ने भएन, जति हुन्छौं सामाजिक दूरी कायम गरेर बैठक बस्छ। संसद आह्वान, कोरोनाभाइरस जोखिम नियन्त्रण लगायत मुख्य अजेण्डा छन्।”
धरानमा रहेका केन्द्रीय सदस्य मीन विश्वकर्माले धेरैजसो केन्द्रीय सदस्य काठमाडौं बाहिर रहेको र संक्रमणको जोखिमका बीच एकै हलमा सयभन्दा बढी भेला हुनुपर्ने भएकाले बन्दाबन्दी जारी रहे बैठक गर्न अप्ठेरो हुने बताए। "तर यसो भनेर छोड्दै गर्दा सरकारले जे गरे पनि हुने जस्तो पनि देखिएको छ, त्यसैले अनुकूलता मिलाएर के गर्ने भन्नेबारे पार्टी नेतृत्वले चाँडै निर्णय गर्दा राम्रो हुन्छ।”
कांग्रेसले बैठक बोलाउनुभन्दा ५ दिनअघि नै केन्द्रीय सदस्यहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ लगायत ११ जनाले बैठक बोलाउन नेतृत्वसँग माग गरेका थिए। उनीहरुले प्रमुख प्रतिपक्षी दलकाे नेतृत्व कमजोर भएको फाइदा सरकारले उठाइरहेको भन्दै कुनै हालतमा बैठक सार्न नहुनेमा जोड दिएका छन्।
“मुख्यतः सरकारले बजेट अधिवेशन बोलाउने तयारी गरेको देखिंदैन। पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम र कोरोनाका कारण अबको बजेटका प्राथमिकता झन् फरक हुने भएकाले यी विषयमा पार्टीको धारणा बनाउनु राम्रो हुन्छ।”
पुष्पा भुसाल, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
केन्द्रीय सदस्य थापा सरकारलाई मात्र नभई आफ्नै पार्टी नेतृत्वलाई घच्घच्याउनुपर्ने भएकाले बैठक जरुरी भएको बताउँछन्। "अध्यादेश फिर्ता गरेको भनेर हाम्रो सभापतिज्यूले प्रधानमन्त्रीलाई धन्यवाद दिएर फर्किनुभएछ, यस्तै कमजोरीको फाइदा सरकारले उठाइरहेको कुरा नेतृत्वलाई बुझाउनु छ", उनी भन्छन्।
प्रमुख प्रतिपक्षको कमजोरीको फाइदा उठाउँदै अब बजेट पनि अध्यादेशबाट आउन सक्ने भएकाले खबरदारी आवश्यक रहेको उनको भनाइ छ। कोरोनाभाइरस नियन्त्रण र उपचारमा सरकारको फितलो तयारी र भ्रष्टाचार लगायत विषयमा पनि पार्टीले आधिकारिक धारणा बनाउनुपर्ने भएकाले बैठक तोकिएकै समयमा बस्नुपर्ने उनको धारणा छ।
बैठक माग गर्नेमध्येका अर्का नेता चन्द्र भण्डारी लकडाउनले देशमा पर्ने असर, विदेशमा भएका नेपालीहरुको अवस्था लगायत धेरै विषयमा छलफल गर्न बैठक बस्नैपर्ने बताउँछन्। "तीनै तहका सरकारले गरिरहेका कामबारे मूल्यांकन र यस्तो अवस्थामा पार्टीको भूमिकाबारे निर्णय गर्न आवश्यक भएकाले हामीले बैठक माग गरेका हौं", उनी भन्छन्।
केन्द्रीय सदस्य पुष्पा भुसालले समसामयिक विषयका साथै बजेट अधिवेशनका साथै आन्तरिक विषयमा छलफल गर्न पनि बैठक आवश्यक रहेको बताउँछिन्। प्रतिनिधिसभामा कांग्रेस संसदीय दलको सचेतक समेत रहेकी भुसाल भन्छिन्, “मुख्यतः सरकारले बजेट अधिवेशन बोलाउने तयारी गरेको देखिंदैन। पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम र कोरोनाका कारण अबको बजेटका प्राथमिकता झन् फरक हुने भएकाले यी विषयमा पार्टीको धारणा बनाउनु राम्रो हुन्छ।”
अहिलेको विशेष अवस्थामा संसद चलाउने मोडेलमा सरकारले दलहरुसँग छलफल गर्नुपर्ने उनी बताउँछिन्।
तयारी के छ ?
सरकारले कोरोनाभाइरसको जोखिम नियन्त्रणको लागि बन्दाबन्दी शुरु गर्नुअघि नै २५ जनाभन्दा बढी भेला नहुन भनेको छ।
सरकारकै आह्वानमा फागुन अन्तिम सातादेखि सार्वजनिक कार्यक्रम रोकिइरहँदा कांग्रेसले भने बन्दाबन्दीकै वेला निर्णय गरेर बैठक बस्ने तयारी गरेको छ।
आउँदो बुधबार दिउँसो १ बजे बोलाइएको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरुलाई आमन्त्रण गरिएको छ। यी सबैको कूल संख्या १ सय १७ हुने कांग्रेस पार्टी कार्यालयका सचिव केशव रिजालले बताए। "व्यक्तिगत दूरी कायम गरेर सीट मिलाउँदा पुग्ने ठूलो हल छ, त्यहीं बस्ने कुरा भएको छ", उनले भने।