भारतमा मृत्युदर बढ्यो, एकैदिन ५९ जनाको मृत्यु
भारतमा कोरोनाभाइरसबाट शुक्रबार एकैदिन ५९ जनाको मृत्यु भएको छ। नयाँ संक्रमित भेटिने दर भने करीब स्थीर छ।
त्यहाँ शुक्रबार मात्र ५९ जनाको मृत्यु भएको छ। भारतमा एकैदिन मृत्यु हुनेको यो अहिलेसम्मकै ठूलो संख्या हो। योसँगै कूल मृत्यु हुनेको संख्या ७८० पुगेको छ। पछिल्लो एक सातामा ३०३ जनाको मृत्यु भएको छ।
भारतमा अहिलेसम्म करीब २५ हजार नयाँ संक्रमित भेटिएका छन्। तीमध्ये करीब पाँच हजार ५०० जना निको भएका छन्।
शुक्रबार त्यहाँ १४ सय आठ नयाँ संक्रमित भेटिएका छन्। बिहिबार १६ सय ६९ नयाँ संक्रमित भेटिएका थिए। अप्रिल १८ मा सबैभन्दा बढी दुई हजार १३ जना नयाँ संक्रमित भेटिएका थिए।
महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हो। त्यहाँ करीब सात हजार संक्रमित भेटिएका छन्। त्यसपछि गुजरात र दिल्लीमा बढी संक्रमित भेटिएका छन्। राजस्थान, मध्यप्रदेश, तामिलनाडु र उत्तरप्रदेशमा पनि संक्रमितको संख्या दुई हजार आसपास पुगिसकेको छ।