बन्दाबन्दीमा भारतको राजस्थान सडकमा अलपत्र भेटिइन् नेपाली किशोरी
२४ मार्चमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ महामारीविरुद्ध देशभर तीन सातालामो बन्दाबन्दीको घोषणा गरे ।
त्यही दिन राजस्थान राज्यको राजधानी जयपुरको सडकमा आफूलाई अनामिका मगर (नाम परिवर्तन) बताउने अन्दाजी १६–१७ वर्षकी किशोरी सडकमा अलपत्र भेटिइन् । ।
राजस्थान प्रहरीले ती किशोरीलाई अस्पतालमा भर्ना गर्यो । उनीसँगै अस्पतालमा फ्रान्ससहितका अन्य देशका नागरिक पनि थिए । प्रहरीले १४ दिन क्वारेन्टिनमा राखेपछि सबैलाई सोधपुछ सुरु गर्यो ।
यही अवधिमा राजधानी नयाँदिल्लीस्थित नेपाली दूतावासमा एक फ्रेन्च महिलाले फोन गरेर अनामिकाका विषयमा जानकारी गराइन् । नेपाली दूतावासको हटलाईनमा आएको यो सूचना तत्काल कन्सुलर प्रकाश अधिकारीलाई दिइयो । अधिकारीले किशोरीसँग टेलिफोन सम्पर्क गरे ।
“किशोरीले आफ्नो घर नेपालको पोखरा भएको र आफू २४ मार्चकै दिन राजस्थान आइपुगेको बताइन,” अधिकारीले हिमालखबरसँग भने, “तर, कसरी राजस्थान आइपुगे भन्ने बारे केही थाहा नभएको बताएपछिे यसबारे काठमाडौंस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गरायौं ।”
परराष्ट्रले थप अनुसन्धान थाल्यो । प्रहरी प्रधान कार्यालयलाई पत्रमार्फत निर्देशन दियो । पत्र जिल्ला प्रहरी कार्यालय, कास्की पुग्यो । कन्सुलर अधिकारीका अनुसार कास्की प्रहरीको प्रारम्भिक अनुसन्धानमा किशोरीले आफ्नो नाम, थर सहित अन्य विवरण गलत बताएको रहस्य खुल्यो ।
कास्की प्रहरीले किशोरीले पहिले बताएको नाम र ठेगानामा खोजबिन गर्दा उनले भनेका धेरै तथ्य गलत भेटियो । उनले बताए भन्दा फरक ठेगानाकी एक किशोरीले करिब चार महीना अघि एक राजस्थानी युवासँग विवाह गरेको पत्ता लाग्यो । प्रहरीले विवाह गरेर गएकी यी किशोरी र राजस्थानमा भेटिएकी किशोरी एकै भएको प्रमाणित गरेर यो विवरण दिल्ली दूतावासलाई जानकारी गरायो ।
प्रहरीको अहिलेसम्मको अनुसन्धानले घटनाको कारक ‘भर्चुअल अफेयर’ रहेको तर्फ संकेत गर्छ ।
अनुसन्धानका अनुसार, फेसबूकमार्फत यी किशोरीको चिनजान केही महीनाअघि राजस्थानका एक युवासँग भयो । फेसबुकबाटै उनीहरु नजिक बने । घनिष्ठता बढदै गए पछि ति युवा पोखरा आए । किशोरीले नै उनलाई पोखरा घुमाइन् । अनि, दुवै विवाहले गरे । आर्थिक अवस्था कमजोर भएकी किशोरी विवाहलगत्तै राजस्थान पुगिन् ।
राजस्थानमा यी जोडी केही समय साथै बसे । तर, फेसबूकले बनाएको यो सम्बन्धमा खटपट आउन शुरु भयो ।
किशोरी नेपाल फर्कने तयारी गरिरहेकी थिइन् । यही बेला कोरोनाभाइरसको महामारी शुरु भयो । र, भारतमा बन्दाबन्दी घोषणा गरियो ।
नेपाल फर्कने भनेर हिडेकी किशोरी सडकमा अलपत्र भेटिइन् ।
“अहिले किशोरीलाई हामीले सुरक्षाका साथ बालगृहमा राखेका छौं,’ कन्सुलर अधिकारीले भने, “थप अनुसन्धान भइरहेको छ ।” उनी कीन नेपालकाे सहयाेगमा जयपुर गान्धिनगरस्थित बालगृहमा राखिएकी हुन्।
कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले दिल्लीको सूचना र यहाँको सूचना फरक परेको विषयलगायत सम्पूर्ण जानकारी प्रहरी प्रधान कार्यालयलाई गराएको बताए ।
“किशोरीको आफ्नै परिवारका नभई उनी आश्रित परिवारसँग कुराकानी भएको छ, यसैका आधारमा यी तथ्य सामुन्ने आएका हुन,’ एसपी कार्कीले भने ।
मणिपुर आश्रममा २६ नेपाली महिला
नेपालबाट वैदेशिक रोजगारीका लागि तेस्रो देश जान भनि हिँडेका २६ महिला यतिबेला भारतको मणिपुरका विभिन्न जिल्लामा रहेका उजाला हाउस (महिला तथा बालबालिका आश्रम) मा शरण लिइरहेका छन् । उनीहरुलाई नेपाल फिर्ता ल्याउने प्रक्रिया भइरहेकै बेला बन्दाबन्दी भएपछि अहिले यो प्रक्रिया रोकिएको छ ।
नेपालका विभिन्न जिल्लाका उनीहरुलाई तेस्रो देश उडनेक्रममा मणिपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । मणिपुर प्रहरीले परराष्ट्र मन्त्रालयमार्फत दिल्लीस्थित नेपाली दूतावासमा यस बारे जानकारी गराएको थियो ।
घरेलु कामदारका रुपमा महिलालाई खाडी मुलुक जान नेपाल सरकारले प्रतिबन्ध लगाएका कारण दलालको सहायताबाट उनीहरु भारतको बाटो हुँदै मणिपुर पुगेको दूतावासको आशंका छ ।