फूल नबिकेपछि गाईबस्तुको आहारा (तस्वीरहरु)
विवाहको लगन र प्रशस्त फूल उत्पादन हुने भएकाले वैशाख महीना पुष्प व्यवसायीका लागि धेरै फाइदा हुने समय हो। तर, यस पटक कोरोनाभाइरस (कोभिड-१९) महामारीको प्रभावले फूल बिक्री ठप्प भएको व्यवसायीहरुको गुनासो छ।
महामारी रोकथामका लागि गरिएको लकडाउन (बन्दाबन्दी) का कारण बजार र सार्वजनिक जीवन ठप्प हुँदा फूलको माग शून्य छ।
वर्षभरिमा हुने बिक्रीको २० प्रतिशत व्यापार हुने वैशाख महीनामा अहिलेसम्म फूल फिटिक्कै बिक्री नभएको काठमाडौंको नागार्जुन नगरपालिका-७ रामकोटका पुष्प व्यवसायी उद्धवराज गिरी र हरिशरण गिरीले बताए।
बजारमा माग नभएपछि फूलहरु काटेर फाल्ने र गाईबस्तुलाई दिने गरेको उनीहरुको भनाइ छ।
पछिल्लो एक महीनामा रु.२० लाख बराबरको फूल नष्ट भएको उद्धवराज बताउँछन्। झण्डै दुई दशकदेखि पुष्प व्यवसायमा रहेका उनले नेपाली बजारमा खपत हुने सबै फूल उत्पादन गरिरहेका छन्। "व्यवसायमा संलग्न भएको १८ वर्षको अवधिमा यो क्षेत्रमा यति ठूलो संकट देखेको थिइनँ", उनले भने।